कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले बालमैत्री निती अबलम्बन गरेको छ । नेपाल सरकारले बालमैत्री स्थानिय शासन २०६८ को रणनीति अनुसार प्रत्येक वडाहरुलाई बालमैत्री वडाहरु बनाउने उद्देश्यले निती अबलम्बन गरेको हो । आइतबारबाट सुरु भएको नगर स्तरीय बाल संरक्षण निती निर्माण कार्यक्रमबाट बालमैत्री निती अबलम्बन गर्ने निर्णय गरिएको छ । कोहलपुरलाई बालमैत्री नगरपालिका बनाउनको लागि निती अबलम्बन गरेको बताइन्छ । नगर उपप्रमुख तथा बाल संरक्षण समितिकी संयोजक सन्जु कुमारी चौधरीले सामुदायिक तथा संस्थागत विद्यालयमा किशोरी क्लब, बाल क्लब गठन भइसकेको बताइन् । ‘बालबालिकाको क्षमता अभिवृद्धिको लागि तालिमहरु सञ्चालन गर्नेछौं’ उनले भनिन्, ‘बालबालिकाको हकहित र अधिकारको सुनिश्चितका लागि अभियानको रुपमा नै अगाडी बढ्ने छौं ।’
आजका बालबालिका भोलीका कर्णधार हुन्, त्यसकारण बालबालिकाहरुमा लगानी गरेमात्र देशको विकास उन्नती हुने उनको भनाई थियो । यस्तै विद्येयक समितिका संयोजक भिम नेपालीले बालबालिकाहरु बेचबिखन कोहलपुर नगरपालिकाभित्र अन्त्य हुने बताए । ‘बालबालिकाहरुलाई विभिन्न प्रलोभनमा पारेर वाह्य देशमा ओसारपसार गर्ने कार्य बन्द हुनेछ’ उनले भने, ‘हामीले बालबालिका संरक्षण सम्बन्धी बलियो निती निर्माण गरेका छौं ।’ अब कोहलपुर नगरपालिकाबाट कुनै पनि बालबालिकाहरु ओसारपसार तथा बेचविखनमा नपर्ने समेत उनले दाबी गरे । कोहलपुर नगरपालिका वडा नम्बर ११ अध्यक्ष कर्ण बहादुर थापाले बालबालिकाहरु आफ्नै घरमा असुरक्षित भएको बताए ।
‘आफ्नो घरमा साना बालबालिकाहरुलाई सानो गल्ती गरेपनि कुट्ने गरेका छन्’ उनले भने, ‘सबैले आफ्नै घरबाट बालबालिकाको अधिकार सुनिश्चित गरौ अनी मात्र बालबालिकाहरुले स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार प्राप्त गर्न सक्छन् ।’ बालबालिकाको चाहना, विचार र मनोभावनाको चासो दिएर सोहीअनुसार व्यवहार गर्ने प्रवृत्तिको अहिले पनि अभाव रहेको उनको भनाई थियो । अध्यक्ष थापाका अनुसार बालबालिकाको लागि आवश्यक पर्ने आधारभुत आवश्यकताहरु पुरा गर्न नगरपालिका, विद्यालय लगायत विभिन्न निकायहरुले पहल गर्ने मात्रै नभए राम्रो वातारण सृजना गरिदिनु पर्ने जोड दिए ।









प्रतिक्रिया दिनुहोस्