डिल्ली शाही, कोहलपुर ।
कोहलपुर नगरपालिकाले दिवसको अवसर पारेर शिक्षा क्षेत्रको विकासमा योगदान पु¥याउने विद्यालय र व्यक्तिहरुलाई सम्मान गरेको छ । सामुदायिकतर्फ एसइई उत्कृष्ट जिपीए ल्याएको भन्दै त्रिभुवन नमूना माध्यामिक विद्यालय र संस्थागत गोर्खा यूनाइटेड स्कुल सम्मानित भए । दिवसको अवसरमा आधारभूत तहमा कक्षा आठको परीक्षाको नतिजालाई मूल्याङ्कन गरेर सामूदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय आधारभूत लखनवार र संस्थागततर्फ रुपाँचा विलिभर्स स्कुल सम्मानित भएका थिए । महिला शिक्षकहरुतर्फ ज्ञानज्योति निम्न माध्यामिक विद्यालयका कमला शाह, लक्ष्मी माध्यामिक विद्यालयका गिता ढकाल, मुक्ति प्राथामिक विद्यालयकी सुस्मा थापा सम्मानित भए ।
यस्तै लामो समयसम्म शिक्षा क्षेत्रका योगदान गरी अवकास प्राप्त भएका राम माध्यामिक विद्यालयका पुरुष शिक्षक टेकेन्द्र ठकुरी र ज्ञानज्योति निम्न माध्यामिकका महिला शिक्षक हरी आचार्य सम्मानित भएका हुन् । दिवसको अवसरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाकाले साक्षर घोषणा गर्ने क्रममा सहयोग गरेका १० जना व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा वडा नं. १ का एकदेव पन्थी, वडा नं. २ का बद्रिनाथ सापकोटा, वडा नं. का ४ छविलाल खत्री, वडा नं. ६ का खडानन्द पौडेल, वडा नं. ८ भरत बहादुर रावत, वडा नं. ९ का गोविन्द मिश्र, वडा नं. १० का देवका थापा, वडा नं. १३ का आनन्द प्रसाद भट्राई, वडा नं. १४ का जयद अहमत खाँ र वडा नं. १५ का जयकिसन यादव रहेका छन् । उनीहरु सबै जनालाई नगर प्रमुख रावतले खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उनले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । ‘शिक्षा विकासको पूर्वाधार हो । शिक्षा विना विकास असम्भव छ ।’ उनले भने, ‘आजका बालबालिका भोलीका कर्णधार हुन् बालबालिकाको राम्रो शिक्षा नै हाम्रो विकास हो ।’ कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले शिक्षा क्षेत्रलाई राजनितिकीकरण र व्यवसायी नभई गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलले विभिन्न प्रविधिको प्रयोगबाट शिक्षा दिइएको बताए । ‘नयाँ प्रविधि प्रयोग गरेर गुणस्तरीय शिक्षा बालबालिकाहरुलाई दिएका छौं’ उनले भने, ‘गाउँ समाजमा सामुदायिक विद्यालयमा राम्रो पढाई हुँदैन भन्ने मनोभावनाका साथ नकारात्मक टिप्पणी आएका छन् त्यसलाइ अब चिर्न आवश्यक छ ।’ नगर सामाजिक विकास संयोजक नारायणी वलीले कोहलपुरलाई शैक्षिक हव बनाउन सकिने बताइन् । ‘सबैका चूनौतीहरु हुन्छन् तर चुनौतीको बाबजुत पनि गुणस्तरीय शिक्षा दिन नसकिने किन ?’ उनले भनिन्, ‘संस्थागत विद्यालयलका बालबालिकाहरु राम्रो शिक्षा पाउने र सामुदायिक विद्यालयका बालबालिकाहरुले नराम्रो शिक्षा पाउने भन्ने हुँदैन ।’
यसैबिच दिवसको अवसरमा नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बाँकेलाई साक्षर जिल्ला घोषणाका लागि सबैको ध्यानाकर्षण गराए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाले विभिन्न प्रयास गर्दै आईरहेको भन्दै शिक्षाको विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्