प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग



काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क (ह्विलिङ चार्ज) तुलनात्मक रूपमा महँगो भएको भन्दै पुनर्विचार गर्न माग गरेको छ। विद्युत् नियमन आयोगले २०८३ असोज १५ गते जारी गरेको ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०८३’ को इप्पानले स्वागत गरेको छ। तर, निर्धारण गरिएको शुल्क आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रतिस्पर्धात्मक नभएको भन्दै त्यसमा पुनर्विचार गर्न पहल गर्ने निर्णय गरेको छ।

इप्पानको २०८३ असोज २० गते सम्पन्न २०७औँ बैठकले राष्ट्रिय प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण हुनु निजी क्षेत्रको ऊर्जा विकासका लागि सैद्धान्तिक रूपमा महत्त्वपूर्ण कदम भएको ठहर गरेको हो। आयोगले निर्धारण गरेको मापदण्डअनुसार प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि प्रतिमेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट ५७ पैसा प्रसारण शुल्क लाग्ने व्यवस्था छ। इप्पानले उक्त शुल्क तुलनात्मक रूपमा महँगो भएको उल्लेख गर्दै पुनर्विचारका लागि पहल गर्ने जनाएको छ।

इप्पानका अनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क निर्धारण हुनुले निजी ऊर्जा उत्पादकलाई सरकार तथा नेपाल विद्युत् प्राधिकरणले निर्माण र सञ्चालन गरेका प्रसारण संरचना उपयोग गर्ने बाटो खुलेको छ।ह्विलिङ चार्ज निर्धारणसँगै राष्ट्रिय प्रसारण ग्रिडमा खुला पहुँचको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक नियामकीय आधार तयार भएको इप्पानको भनाइ छ। लामो समयदेखि निजी क्षेत्रले उठाउँदै आएको राष्ट्रिय प्रसारण ग्रिडमा खुला पहुँचको माग कार्यान्वयनको दिशामा अघि बढेको पनि संस्थाले जनाएको छ।

यस व्यवस्थाले निजी ऊर्जा उत्पादकलाई आफ्नै प्रसारण पूर्वाधार निर्माण नगरी विद्यमान राष्ट्रिय प्रसारण ग्रिडको उपयोगमार्फत विद्युत् खरिद–बिक्री तथा व्यापार गर्न सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, प्रसारण शुल्क प्रतिस्पर्धात्मक बजारका लागि उपयुक्त हुनुपर्नेमा जोड दिँदै इप्पानले शुल्क पुनरावलोकनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।

प्रेस विज्ञप्ति लिङ्क

final IPPAN Point of view on Wheeling Charge of Transmission Grid System 2083-06-18

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रबार