गगन र खड्गीबीच सभापतिमा प्रतिस्पर्धा



काठमाडौँ ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पारित भएका छन् भने नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । यसैबीच सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि सभापति पदमा अब गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति पदमा सुरुमा दर्ता भएका उम्मेदवारमध्ये राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब थापा र खड्गी मात्रै प्रतिस्पर्धामा छन् ।

राठौरको उम्मेदवारी फिर्ताले सभापतिको निर्वाचनलाई दुई उम्मेदवारबीचको प्रत्यक्ष प्रतिस्पर्धामा सीमित गरेको छ । यससँगै काँग्रेसको आगामी नेतृत्व कसको हातमा जाने भन्ने विषयमा महाधिवेशन प्रतिनिधिको मत निर्णायक बन्ने भएको छ । त्यस्तै, खुला उपसभापति पदका उम्मेदवार देवराज चालिसेले पनि उम्मेदवारी फिर्ता लिएका छन् । चालिसेको उम्मेदवारी फिर्तापछि खुला उपसभापति पदमा नौ जना उम्मेदवार कायम भएका छन् ।

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान हुनेछ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरु गर्न लागिएको जानकारी दिए ।

महाधिवेशनबाट सभापतिसहित विभिन्न पदमा नयाँ नेतृत्व चयन हुनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार १५औँ महाधिवेशनमा सात हजार २५५ जना महाधिवेशन प्रतिनिधि मतदाता कायम भएका छन् । यसअघि निर्वाचन आयोगले बिहान सार्वजनिक गरेको प्रारम्भिक सूचीमा सात हजार ११४ जना मतदाता थिए । पछि थप १४१ जनाको नाम समावेश गर्दै मतदाताको सङ्ख्या सात हजार २५५ पु¥याइएको हो । काँग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ जना मतदाता रहेका थिए । यसपटक मतदाताको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

महाधिवेशनबाट काँग्रेसले एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी चयन गर्नेछ । तर विधानअनुसार चार सहमहामन्त्री र कोषाध्यक्षमध्ये एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था रहेकाले प्रत्यक्ष निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन् । वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी कायम रहेको छ ।

खुला चार उपसभापति पदका लागि भने नौ जना उम्मेदवार मैदानमा छन् । उम्मेदवारहरूमा गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा. डा. चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, ई. मधु आचार्य, डा. मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डे रहेका छन् । देवराज चालिसेले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएको छ । समावेशी समूहअन्तर्गत एक उपसभापति पदका लागि जीवन परियार, मंसुर फरमुल्लाह, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन् ।

बन्दसत्रबाट चार प्रतिवेदन पारित

महाधिवेशनको बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन पारित भएसँगै महाधिवेशनको सांगठनिक तथा राजनीतिक प्रक्रिया निर्वाचनतर्फ केन्द्रित भएको हो । मंगलबार सहमहामन्त्रीसहित विभिन्न पदमा मनोनयन दर्ता भएको थियो । त्यसपछि दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएपछि निर्वाचन समितिले अन्तिम उम्मेदवार सूची सार्वजनिक गरेको हो ।

काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गरेका छन् । उनले विशेष महाधिवेशनमार्फत पार्टी नयाँ गतिमा अघि बढेको विचार व्यक्त गरेका हुन् । भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नयाँ नेतृत्वका साथ अघि बढेको मन्सुरले बताए । यता काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशील सदस्यहरूले नै प्रत्यक्ष रूपमा पार्टी सभापति छान्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गरी वडादेखि केन्द्रसम्मै क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति चयन गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखे । नेपाली काँग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टीको रूपान्तरणका लागि संगठनमा लामो समयदेखि क्रियाशील भुईँ तहका कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्ने बताएकी छन् । उनले तल्लो तहमा काम गर्ने कार्यकर्ताको योगदानको कदर नभएसम्म काँग्रेसको वास्तविक रूपान्तरण सम्भव नहुने विचार व्यक्त गरेकी हुन् ।

काँग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि अपेक्षाअनुसारको रूपान्तरण हुन नसकेको टिप्पणी गरेका छन् । उनले काँग्रेसमा अब ‘रूपान्तरणको पनि रूपान्तरण’ आवश्यक भइसकेको विचार व्यक्त गरे । अब काँग्रेसको १५औँ महाधिवेशनको मुख्य ध्यान मतदान र मतपरिणामतर्फ केन्द्रित भएको छ । ७ हजार २५५ महाधिवेशन प्रतिनिधिको मतबाट काँग्रेसको आगामी नेतृत्व चयन हुनेछ । सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच हुने प्रतिस्पर्धाले महाधिवेशनको समग्र परिणामलाई समेत प्रभावित गर्ने देखिएको छ ।

महामन्त्री र सहमहामन्त्रीमा कडा प्रतिस्पर्धा 

महामन्त्रीको दौडमा रहेका ११ जनामध्ये तीन खुला महामन्त्री पदका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । खुलातर्फ अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा. सन्तोष पाध्याय, डा. सुनिलकुमार शर्मा र शंकर तिवारी उम्मेदवार छन् । महिला महामन्त्रीको एक पदका लागि डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालबीच प्रतिस्पर्धा हुँदैछ । यसरी महामन्त्रीका चार पदका लागि कूल ११ जना उम्मेदवार मैदानमा छन् ।

सहमहामन्त्रीका विभिन्न समावेशी क्लस्टरमा पनि उल्लेख्य सङ्ख्यामा उम्मेदवारी परेको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार महिला, खस–आर्य, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रतर्फ उम्मेदवारी परेको हो । यस्तै, महिला सहमहामन्त्रीमा नानुमैया बास्तोला र प्रतिभा गौतम प्रतिस्पर्धामा छन् । खस–आर्यतर्फ जगदीशनरसिंह केसी, केशवमणिका आचार्य र शुभराम बस्नेत उम्मेदवार छन् । आदिवासी जनजातितर्फ ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् ।

दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार प्रतिस्पर्धामा छन् । मधेसी क्लस्टरमा अजयकुमार चौरसिया, अभिषेक प्रताप शाह, किरण यादव, नसिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन साह उम्मेदवार छन् । थारू क्लस्टरमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी मैदानमा छन् । मुस्लिम क्लस्टरमा अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदोष आलम उम्मेदवार बनेका छन् । त्यस्तै पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर विष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवरबीच प्रतिस्पर्धा हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार