मनाइयो मानव बेचबिखन विरुद्धको दिवस



कोहलपुर ।

बाँकेमा विभिन्न कार्यक्रम गरी मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १३ औ राष्ट्रिय दिवस मनाइएको छ । जिल्लाका नेपालगञ्ज, कोहलपुर लगायतका स्थानीय तहहरुमा दिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको थियो । ‘सरकारको प्रतिबद्धता, मानव बेचविखन तथा ओसारपसारको नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका दिवस मनाइएको हो । कोहलपुरमा दिवसको अवसरमा प्रभातफेरी निकालिएको थियो ।

चौराहबाट सुरु भएको प्रभातफेरी साँझाचोक हुँदै पूनः चौराहामा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले किशोरीहरू वैदेशिक रोजगारीको प्रलोभनमा परेर बेचिने गरेको बताए । ‘आर्थिक रूपमा विपन्न वर्गका परिवारलाई विभिन्न लालच देखाएर बेचबिखन गर्ने गरेको देखिन्छ’ उनले भने, ‘नेपाल भारतको खुल्ला सिमानाका कारणले गर्दा मानव तस्कर बढेको हो ।’ ग्रामीण भेगका महिला प्रविधिको सहज पहुँचमा भएकाले मानव तस्करलाई अझ सजिलो भएको नगर प्रमुख रावतले बताए । मानव तस्कर रोक्नका लागि महिला, बालबालिका, अभिभावक, विद्यार्थीहरुलाई परामर्श अति आवश्यक रहेको उनको भनाई थियो । कोहलपुर नगरपालिकाकी सामाजिक विकास संयोजक नारायणी वलीले महिलालाई विभिन्न देश पु¥याउन मानव बेचबिखन गर्ने गिरोहले नेपालगन्ज–रुपैडिहा नाका बढी प्रयोग गर्ने गरेको बताइन् ।

‘खुल्ला सिमानाका कारण मानव ओसारपसार तिव्र रुपमा बृद्धि भइरहेको छ’ उनले भनिन्,‘ पछिल्लो समयमा सामाजिक सञ्जालबाट अझै बढि मानव ओसारपसार गर्न सजिलो भएको छ ।’ माइती नेपाल नेपालगञ्जका प्रमुुख केशव कोइरालाले गत आर्थिक वर्ष २०७५÷०७६ मा नेपालगञ्ज नाकाबाट जोखिम यात्रामा रहेका १८९ जना महिलालाई उद्धार गरिएको जानकारी दिए । ‘नेपालका २३ वटा जिल्लालाई मानव ओसारपसारको सूचिमा राखेको छ’ उनले भने, ‘दाङ र बाँकेको तथ्यांक हेर्दा दाङ कहिले मानव बेचबिखनमा पहिलो हुन्छ भने कहिले बाँके पहिलो हुन्छ ।’ उनका अनुसार खाडी मुलुकहरुमा झन् ७ वर्ष देखि ५१ वर्ष उमेर समूहको पनि मानव बेचविखनमा परेको तथ्यांक भेटाएको छ । यसैबिच दिवसको अवसरमा नेपालगञ्जमा समेत ¥याली निकालिएको थियो ।

नेपालगञ्जको विपी चोकबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रहरी कार्यालय बाँके महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो । नेपालगञ्ज उप–महानगरपालिकाकी महिला विकाश अधिकृत शोभा शाहको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वली, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरी बहादुर बस्नेत लगायतको उपस्थिती थियो । प्रभातफेरीमा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नागरिक समाज, सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बिभिन्न बिद्यालय तथा कलेजका शिक्षक तथा विद्यार्थी लगायतको सहभागिता रहेको बताइएको छ ।

त्यसैगरी दिवसको अवसरमा कोहलपुर नगरपालिका भित्रका तिन वटा विद्यालयमा मानव बेचखन विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । कौशिलानगर १ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय, पिपरी ८ मा रहेको सरस्वती माध्यामिक विद्यालय, खड्कवार १३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा मानव बेचखन विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो । सोही विद्यालयका कक्षा ८ देखि १० कक्षाका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २१ गते शनिबार