सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई पटकपटक आह्वान गरे पनि गत आर्थिक वर्षमा मझौला तथा ठूला उद्योग दर्ता शून्य देखिएको छ । गत आर्थिक बर्ष २०७५÷७६ मा प्रदेशमा एउटा पनि मझौला र ठूला उद्योग दर्ता नभएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभिन्न सार्वजनिक कार्यक्रममा कर्णालीमा लगानीकर्तालाई नाफा नउठेसम्म कर नलगाउने बताउँदै लगानीको लागि आह्वान गर्दै आएका थिए ।
लगानीको पूर्ण सुरक्षा हुने बताउँदै उनले जलविद्युत् र जडीबुटीजस्ता क्षेत्रमा लगानी गर्न उद्यमीलाई आग्रह गरेका थिए । तर, पूर्वाधारको कमी र भौगोलिक समस्याले गर्दा लगानीकर्ता कर्णालीमा लगानी गर्न आकर्षित नभएको विज्ञहरूको भनाइ छ । यसअघि हुम्ला, डोल्पा र मुगु जिल्लामा भएका केही जडीबुटी सम्बन्धीका उद्योगहरू बन्द रहेकाले ती उद्योगलाई ध्यानमा राखी सुर्खेतमा प्रादेशिक जडीबुटी संकलन केन्द्र खोल्ने तयारी भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताए । उनले भने, ‘त्यसका लागि सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुको एक सामुदायिक वनमा ६ हेक्टर बराबरको जग्गा भोगाधिकार गर्ने भनेर संघीय सरकारसँग माग गरिसकिएको छ ।’
चालू आर्थिक बर्षमा वीरेन्द्रनगरस्थित लाटीकोइलीमा जडीबुटी प्रशोधन तथा भण्डारण सेन्टरलाई क्रमागत रूपमा अघि बढाइने र एउटा वन पैदावारसम्बन्धी उद्योगलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारको तयारी छ । यी बाहेकका ठूला तथा मझौला उद्योगहरूलाई समेट्ने कार्यक्रमहरू राखिए पनि हालसम्म के–कस्ता उद्योग समेट्ने र कुन शीर्षकमा कति बजेट विनियोजन गर्ने भन्नेबारे जानकारी प्राप्त नभएको मन्त्रालयका शाखा अधिकृत तुलसीप्रसाद आचार्यले बताए । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशमा ५ हजार ७८८ साना उद्योग दर्ता भएका छन् । यीमध्ये ३ हजार ३९७ घरेलु तथा साना उद्योग, ४२६ लघु उद्योग र वाणिज्यतर्फ १ हजार ९६५ रहेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेशमा दर्ता भएका उद्योगमध्ये घरेलु तथा सानाको संख्या धेरै र लघु उद्योगको न्यून देखिन्छ ।
सुर्खेतमा सबैभन्दा धेरै र मुगुमा सबैभन्दा कम लघु उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी रोकायले जानकारी दिए । वाणिज्यतर्फ सबैभन्दा धेरै दैलेख र सल्यानमा उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम सुर्खेत, मुगु र हुम्लामा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्