घडेरीमा अवैध रुपमा बनेका संरचना हटाइने



  • केही दिनअघि बसेको कोहलपुर नगर विकास समितिको बोर्ड बैठकले अवैध रुपमा बनेका संरचना खाली गर्ने लगायतका निर्णय गरेको हो । यसअघि पनी समितिले बिक्री भइसकेका घडेरीमा अवैध रुपमा बनेका संरचना हटाउने निर्णय गरेपनी कार्यान्वयन गर्न सकेको थिएन ।

कृष्ण ओली, कोहलपुर । बाँकेको कोहलपुर नगर विकास समितिले बिक्री भएका घडेरीमा बनेका अवैध संरचना हटाउने भएको छ । केही दिनअघि बसेको कोहलपुर नगर विकास समितिको बोर्ड बैठकले अवैध रुपमा बनेका संरचना खाली गर्ने लगायतका निर्णय गरेको हो । यसअघि पनी समितिले बिक्री भइसकेका घडेरीमा अवैध रुपमा बनेका संरचना हटाउने निर्णय गरेपनी कार्यान्वयन गर्न सकेको थिएन । बैठकको निर्णय अनुसार नै नगर विकास समितिले केही दिनअघि घडेरीमा बनेका अवैध संरचना हटाउन १५ दिने सुचना जारी गरिसकेको छ । कोहलपुर नगर विकास समितिका अध्यक्ष लुट बहादुर रावतले अवैध रुपमा समितिले बिक्रि गरेका घडेरीमा बनाएका संरचना हटाउने लगाएका निर्णय गरेको जानकारी दिए । ‘घडेरीमा बनेका अवैध घर टहरा हटाउन १५ दिने सार्वजनिक सुचना जारी गर्ने बैठकले निर्णय गरेको छ’ उनले भने, ‘सुचना जारी गर्दा पनी बिक्रि भएका घडेरी खाली नगरे सर्वदलिय बैठक बस्ने निर्णय गरेका छौं ।’

बोर्ड बैठकले निर्णय नम्बर १० मा घडेरी बिक्रीको बोलपत्र अनुसार विभिन्न व्यक्ति तथा संघसंस्थाले खरिद गरेका घडेरीहरु खाली गर्न सुचना निकाल्ने निर्णय गरेको छ । २०७४ असोज २३ गते घडेरी बिक्रीको बोलपत्र अनुसार कोहलपुर नगर विकास समितीबाट टेण्डर मार्फत विभिन्न व्यक्ति तथा संघसंस्थाले घडेरी खरिद गरेका थिए ।  समितिलाई पैसा बुझाएको दुईबर्षसम्म पनी घडेरी खाली नभएपछि साउन १६ गते कित्ता नम्बर २४३, २४४, २६१, २६८, २७९, ३५१, ३५२, ३५३, ३५४ र ३५५ का घडेरीहरु खाली गरी ४ किल्ला छुट्याई पाउ भनी समितिमा निवेदन दिएका थिए । सोही निवेदन अनुसार नै समितिको बोर्ड बैठकले घडेरीहरु खाली गराउनको लागि १५ दिने सुचना प्रकाशित गर्ने र उक्त अवधीभर जग्गा खाली नभएमा सो सम्बन्धी सर्वदलिय बैठक बस्ने निर्णय गरेको  छ ।

विगतमा पनी धेरैपटक सर्वदलिय, सर्वपक्षिय एंव सरोकारवाला निकायहरुको बैठकले अवैध संरचना हटाउने निर्णय गरेको थियो । ती निर्णयहरु कागजमा मात्रै सिमित हुन पुगेका थिए । नगर विकास समितिले पैसा बुझीसकेपनी आफुले बिक्रि गरेका घडेरीहरु खाली गराउन अग्रसरता नगर्दा घडेरी धनीहरुले आफ्ना घडेरीहरु प्रयोग गर्न पाएका छैनन् । मिसन टुडेलाई प्राप्त कागजात अनुसार बोर्ड बैठकले समिति मातहतमा बनेका केही अस्थायी सटरहरुको सम्झौता खारेज गर्ने निर्णय समेत गरेको छ । टेण्डर प्रक्रियाबाट भाडामा दिइएको तर भाडामा लिने केही व्यक्तिहरुको मासिक भाडा वापतको असार मसान्त सम्मको बाँकी रहेको रकम बुझाउनुहुन भनी पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएको भन्दै सम्झौता रद्द गर्ने निर्णय गरिएको हो ।

‘सटर नम्बर २३, ३६, ३७, ३८ र ३९ सटर भाडामा लिई पसल सञ्चालन गरेका व्यक्तिहरु कार्यालयमा सम्पर्क राख्न नआएकाले निजहरुको धरौटी रकमबाट भाडा रकम कट्टी गरी नपुग हुने बाँकी रकम असुल उपरका लागि सुरक्षा निकायको सहयोग लिई उक्त सटरहरु तालबन्दी गरी रकम असुल उपर गरिनेछ’ निर्णयमा भनिएको छ । निर्णय अनुसार निजहरुसँग सम्झौता खारेज गरी माथिका सटरहरु र सटर नम्बर ४०, ४१, ४२ र ४४ टेण्डर पारेका व्यक्तिले २०७६ साउन १ गतेदेखि सटरको  सम्झौता खारेज गर्ने भनी निवेदन पेश गरेकोले उक्त सटरहरु बढाबढ पक्रियाद्वारा भाडामा दिनको लागि सुचना प्रकाशन गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २ गते सोमबार