कोहलपुर ।
साउदी अरबको मक्का मदिनामा हज गर्न जाने कोटा साउदी सरकारले ३ सय वटा थप गरेको छ । साउदी सरकारले नेपाली हाजीहरुका लागि ३ सय कोटा थप गरेको नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँले जानकारी दिए । यसअघि साउदी सरकारले नेपालको लागि १ हजार २ सय कोटा नेपालको लागी निर्धारण गरेको थियो । कोटा थप गरिएपछि मक्का मदिना हज गर्न जाने संख्या एक हजार ५ सय जना पुगेको छ । नेपाल हज समितिले यस वर्ष फाराम भरेका, तर हालसम्म छनौटमा नपरेका हाजीहरुले यही असार २५ गते भित्र को सचिवालयमा सम्पर्क गर्न आग्रह गरेको छ । नेपालको लागी १२ जना कोटा निर्धातण गरेको बेला बाँके जिल्लाबाट एक सय २३ जनाको नाम छनौटमा परेको थियो ।
फेरी ३ सय वटा कोटा देशभरको लागी थपिएपछि केही संख्या बढ्न सक्ने देखिएको छ । नेपाल हज समितिका मियाँले थप गरिएको कोटामा कुनै प्रकारको राजनिति नहुने बताउँदै समयमा फिंगर प्रिन्ट र अपुग दस्तुर बुझाउनेहरुलाई प्राथमिकता दिईने जानकारी दिए । हज समितिले हज यात्राका लागि साउदी अरेबिया जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ ।
प्रतिहजयात्री करीब दुई लाख ३० हजार खर्च लाग्ने बताइन्छ । यो रकम हाजीहरुले नै ब्यहोर्नुपर्छ । समितिले १० देखि १५ हजार रुपैयाँ हरेक हाजीलाई फिर्ता गर्ने गरेको थियो यो बर्ष भने रकम बढेकाले फर्काउन समस्या हुने समितिले बताएको छ । समितिका अनुसार यस बर्ष साउदी रियल बढेकाले प्रतिहाजीको कुल खर्चमा झण्डै पाँच हजारले वृद्वि भएको छ । साउदी सरकारलाई प्रतिहाजी बुझाउनुपर्ने स्थानीय यातायात खर्च यसपटक १५ हजार १८० ले बुझाउनुपर्ने बाध्यता रहेको छ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु स्वदेश फर्किने बताइएको छ ।
मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवा बताउँछन् । इस्लाम धर्मावलम्बीको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ । मुस्लिममा हज गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ । हज गर्नाले स्वर्ग जानेसरह पुण्यफल प्राप्ति गर्ने र अञ्जानमा भएका गल्तीबाट मुक्ति पाउनाका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निश्छल र पवित्र हुने धार्मिक विश्वास छ । मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथालो मानिन्छ ।
हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सातपटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज प्राप्त हुन्छ । हजयात्रीले बकरईदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढी जनावरको बलि (कुर्बानी) दिने गर्छन । हज यात्रा गरी आउनेलाई हाजी भन्ने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्