कोहलपुर ।
बाँकेको कोहलपुर चौराहामा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले झण्डै ५० लाख रुपैयाँको लागतमा तयार गरेको पार्कको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच पार्कको सहरी विकास मन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका थिए ।
सिद्धार्थले कोहलपुर नगरपालिकासँग सहकार्य गरेर कोहलपुर चौराहामा लाइटिङ र पानीको फोहरा सहितको पार्क निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज सुर्खेत राजमार्ग क्रसिङ हुने चौराहामा निर्माण भएको सम्भवत नेपालकै ठुलो, भव्य र उत्कृष्ट रहेको सिद्धार्थ विजनेश गु्रपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिए ।
नियमित मर्मत सम्भारको अभावमा जीर्ण र अलपत्र अबस्थामा रहेको पार्कलाई सिद्धार्थ गु्रपले कोहलपुर नगरपालिकासँग सहकार्य गरेर करिब ५० लाखको लागतमा पुन निर्माण गरी संचालनमा ल्याएको हो । करिब १७ हजार ५ सय बर्ग फिटमा फैलिएको चौराहा पार्कको बिचमा रहेको स्तम्भमा बाघको प्रतिमा रहेको छ भने स्तम्भको तल्लो भागमा लाइटिङ सहितको पानीको फोहरा निर्माण गरिएको छ । पार्क क्षेत्रमा दुबो र फुलहरु रोपेर हरियाली र आकर्षक बनाइएको छ ।
साँझपख बत्ती बाल्दा चौराहा पार्क निक्कै आकर्षित देखिन थालेको छ । चौराहा पार्कलाई आगामी १५ बर्ष सम्म सिद्दार्थ गु्रपले नै मालीको ब्यबस्था गरेर नियमित रुपमा रेखदेख मर्मत गर्ने गरी कोहलपुर नगरपालिका र सिद्दार्थ गु्रप बिच लिखित सम्झौता भइसकेको नगर प्रमुख लुट बहादुर रावतले बताए ।
पर्यटन क्षेत्रको प्रबद्र्धन र बिकासमा सरकार र निजी क्षेत्र बिच सहकार्य र साझेदारी गरेर अगाडि बढ्ने उद्देश्यले ग्रुपले नगरपालिकासँग सहकार्य गरेर पार्क निर्माण गरेको बताएको
छ । हस्पिटालिटी अफ हार्ट भन्ने भाबनाका साथ सिद्दार्थ गु्रपले होटेल, रेष्टुरेन्ट, रिसोट, बेकरी र क्याफे, होटेल म्यानेजमेन्ट इष्ट्रिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरु संचालन गर्दै आएको छ ।
सिद्धार्थ गु्रपको कैलालीको टीकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार,काठमान्डौको बानेश्वर, धोबीघाट, तिनकुने, सुन्धारा, लगायतका स्थानहरुमा शाखा छन् । सिद्धार्थ ग्रुपले कोहलपुर मेडिकल कलेजको शिक्षण अस्पताल अगाडि क्याफे संचालनको तयारी गरिरहेको छ । पार्क उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधी, उद्योगी व्यवसायी, स्थानीयबासी लगाएको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्