कोहलपुरले चिन्न नसकेको एउटा खेल



    Devendra AcharyaDevendra Acharya

Devendra Acharya

मलाई मेरो मानसपटालमा अझै पनि इतिहासका ती यावत सम्झनाहरुको भेलले बेला बखतमा मेरो बाल्यकाल र त्यही परिधिमा जोडिएका र पनि हामीले उत्प्ररेणा दिन नसकेका कोहलपुर र त्यससँग जोडिने केहि यर्थातताहरुले विगत याद गराइरहन्छ । त्यस्तै वि.स.२०५६–५७ साल बाट हो म साइकल आफै कुदाउन सक्ने भए त्यसपछि के चाहियो र ! बालज्योति मा.वि मा पढ्ने एउटा फुच्चे केटो म स्कूल पढ्नै भए पनि घरबाट कोहलपुर बजार आउनै पदथ्यो मेरो दैनिकी नै कोहलपुर हुन्थ्यो ।

सानै देखि रेडियो र गाँउमा विद्युत नभएपनि ब्याट्रीबाट चल्ने टेलिभिजनको मोहले मलाई हरेक पल राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधिहरु सँग नजिक भने बनाइरह्यो त्यसमाथि स्थानिय घटनाक्रमहरुलाई त नपछ्याउने कुरै भएन । गाँउ घरतिर त्यति बेला अहिलेको जस्तो विज्ञान र प्रविधिले फट्को मारिसकेको थिएन । यूवाहरुमा एउटा फेशन नै थियो कि भविष्य के त ब्रिटिस आर्मी, इन्डियन आर्मी अनि अन्तिममा भएन भने नेपाल आर्मी । हामी त सा–साना भुराहरु अग्रज दाजुहरुको कुरा सन्यो र त्यहि लहलहिमा हिड्यो ।

त्यति बेला त्यो उमेरमा म र हामी पनि तीनै अग्रज दाजुहरुका लहलहिमा कति पटक लाहूरेको परिकल्पनामा सकि नसकि बिहान ४–५ बजे उठेर सडकमा दर्गुन जाने गरिन्थ्यो । तर, त्यतिबेलाको यूवा पुस्ता र अन्य मानिसहरुले आफ्नो त्यो लक्ष्य पुरा गर्न भए पनि खेलकुदलाई आफ्नो दैनिकि सँग जोडेर खेल खेल्नु पर्दछ भन्ने एउटा व्यवस्थाको स्थापना चाहि गरेका हुन ।

देशमा संकटकाल लागेको थियो राज्यको उपस्थिति प्राय देखिदैन थियो र पनि त्यति बेला कोहलपुर र आसपासका तत्कालिनका गा.वि.स हरु रझेना, नौवस्ता र चिसापानीमा प्राय जसो खेलकुद प्रतियोगिता हरु भईरहन्थे जस्तो कि फुटबल, निजि क्लब र अन्य स्रोत बाट हुने रनिङ्ग सिल्ड प्रतियोगिता र मार्सल आर्टको तेक्वान्दो प्रतियोगिताहरु । मलाई यस्तै भइरहने खेलकुद प्रतियोगिताहरुले खेल खेल्न अझ बढी उत्प्ररेणा प्रदान गरिरहन्थ्यो । त्यसमाथि वर्षमा एक पटक हुने तेक्वान्दोको क्षेत्रिया होस या फिर अंचल स्तरिय प्रतियोगिता जसले मलाई खेलकुदसँग जोड्यो ।

सरकार र सरकारी स्वामित्वमा नभएपनि त्यति बेलाको माहोल नै खेलमय थियो र मानिसहरुलाई अहिले जस्तो मर्निङ्ग वाक गर्न बाध्यत्मककारी स्थिति नै पर्दैन थियो फरक यति छ त्यति बेला रहरले मर्निङ्ग वाक गरिन्थ्यो । र पो इतिहास, इतिहास झै सम्झन लायक छ । प्रायः जसो सामुहिक रुपमा खेलिने खेल फुटबल प्रतियोगिताहरु क्लब स्तरिय र गा.वि.स हरुमा वडा स्तरिय भइरहन्थे । तर, पनि कोहलपुर आसपासका क्षेत्रमा प्राय खेलिने खेल भएता पनि फुटबलले कोहलपुरमा खासै प्रभाव पार्न सकेन ।

न त कुनै राष्ट्रिय स्तरका खेलाडी नै उत्पादन भए न त कुनै व्यवसायीक तबरले यसको दिर्घकालिन विकास नै भयो । तर, कोहलपुरको माटोमा र कोहलपुरको धुलोमै श्वास फेर्दै हात र खुट्टाले खेलिने एउटा खेल जसको नामले देशले गर्व गर्दछ “तेक्वान्दो” जसले कयौन पटक कोहलपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनायो जसको न त कोहलपुरले महत्व बुझ्यो न त बुझ्ने जम्रको नै ग¥यो । नेपालगंजको चैत बैशाखको तातो गर्मी र पुसमाघको कठ्याङ्गरिने जाडो यसरी मौसमलाई आफ्नो दैनिकीको एक हिस्सा बनाएर नेपालगंज रंङ्गशालामा दैनिक प्रशिक्षण लिएर कोहलपुरमा तेक्वान्दो खेल लाई स्थापित गर्ने एउटा नाम हो श्रीमान् थापा मगर ।

जो आफैमा पनि हाल नेपाल सरकार अन्तगर्त राष्ट्रिय खेलकुद परिषद अन्तगर्त नेपाल तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक तथा एशियाली तेक्वान्दो प्रशिक्षक यूनियनका सदस्य पनि हुनुहुन्छ । उहाँ लगायत तेक्वान्दो खेलमा कोहलपुरकै माटोमा प्रशिक्षण लिएर हाल नेपाल सरकार रा.खे.प अन्तगर्त करिब ६ जना जति तेक्वान्दो सहायक प्रशिक्षकको रुपमा विभिन्न जिल्लामा कार्यरत हुनुहुन्छ । यो हामी सबै कोहलपुर बासीका निम्ति गर्वको कुरा हो । त्यसै गरि हाल सम्मको खेलकुदको हेर्ने हो भने महिला क्रिकेट बाहेक सामुहिक रुपमा खेलिने कुनै पनि प्रतियोगितमा कोहलपुरको प्रतिनिधित्व हुने गरि सफलता हात पारेको हामी भेटाउदैनौ तर, राज्य र संचार माध्यमहरुले ल्याउन नसकेको इतिहास बनेको छ तेक्वान्दो खेल हामी कोहलपुर बसिन्दाका निम्ति ।

मोफसलबाटै पछिल्लो समय यस कोहलपुर नगरपालिका भित्रैका तेक्वान्दो प्रशिक्षण हुने दोजाङ्गबाट राष्ट्रिय स्तरमै थुप्रै पदक विजेता खेलाडीहरु उत्पादन भइरहेका छन् । कोहलपुर तेक्वान्दो दोजाङ्ग, सुपरस्टार तेक्वान्दो दोजाङ्ग कौशिलानगर लगायत अन्य दोजाङ्गबाट त्यस्ता खेलाडीहरु दिनहूँ उत्पादन भइरहेका छन् यसबारे न त यस क्षेत्रमा सामाजिक कार्य ग¥यौ भन्ने संघसंस्थालाई चासो छ या फिर स्थानिय सरकार लाई नै कुनै चासो भएको देखिन्छ ।

पदकहरुकै कुरा गर्ने हो भने तेक्वान्दोमा कोहलपुरको प्रतिनिधित्व गर्दै रा.खे.प द्धारा आयोजित राष्ट्रिय प्रतियोगितामा श्रीमान् थापा रजत पदक, नेत्र ब. थापा रजत, उत्तम रिमाल काँस्य, बिक्की गुभाजु काँस्य पदक जितिसकेका छन् त्यसैगरि पछिल्लो पुस्तामा देबकृष्ण पाण्डे भारतको लखनऊ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तृतिय, तुल्सी धिताल र यमुना थापा इटहरी आमन्त्रण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तृतिय, सुरेन्द्र बि.क कोटेश्वर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक र लक्ष्मी थापा काँस्य पदक जितेको पाइन्छ,

त्यस्तै सुष्मा पौडेल पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा काँस्य पदक, चन्दा थापा धादिङ्ग आमन्त्रण खुला तेक्वान्दो प्रतियोगितमा रजत पदक, अस्मिता चन्द प्रथम राष्ट्रिय खुल्ला महिला तेक्वान्दो प्रतियोगिता र चौथो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काँस्य, निलिमा मल्ल राष्ट्रिय आमन्त्रण संकटा रनिङ्ग शिल्ड तेक्वान्दो प्रतियोगितामा काँस्य पदक जितेको पाइन्छ । यी त केवल एक उदाहरण मात्रै भए र अग्रज खेलाडीहरुको लेखाजोखा नै गर्न सकिदैन । हरेक पटक हुने राष्ट्रिय प्रतियोगितामा क्षेत्रबाट छनौट भएर कोहलपुरको प्रतिनिधित्व गर्ने त छदैछ ।

यति मात्रै होइन नेपाल सरकार अन्तगर्त यस तेक्वान्दो खेलमा कोहलपुरबाटै राष्ट्रिय रेफ्रि पनि बनिसकेर विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरेर नेत्र ब. थापा, उत्तम रिमाल, महेश थापा, उत्तम रिमाल, भूपेन्द्र पुन, मान ब.लामिछाने, प्रकाश लामिछाने, मोहन वली, रामचन्द्र चौधरी, श्याम भट्टराई लगायतहरुको पनि कोहलपुरको प्रतिनिधित्व राष्ट्रिय स्तरमा गरिसक्नु भएको छ ।

त्यसैगरि कोहलपुरबाट नेपालको प्रतिनिधित्व गर्दै तेक्वान्दो सहायक प्रशिक्षक नेत्र ब. थापा दक्षिण कोरियाली सरकारको पहलमा ६ महिना कुकियन विश्वविद्यालयमा तेक्वान्दोको विशेष प्रशिक्षण हासिल गरि दिक्षान्त समेत भइसक्नु भएको छ । यसरी इतिहास देखि लिए हालसम्मको अवधिसम्म आइपुग्दा तेक्वान्दो खेलले कोहलपुरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जोडिरहेको हामी माझ यस्ता उदाहरणहरुले अवगत गराउदछ । यस मार्शल आर्ट खेल तेक्वान्दोले विशेष गरेर महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम दिएर समाजमा हुने बलात्कारको घटनाक्रमलाई पनि रोक्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यसरी सरसर्ति कोहलपुरमा खेलकुद इतिहासका पानाहरु पल्टाउदै जाने हो भने तेक्वान्दो खेलको कोहलपुरसँग थुप्रै परिचयहरु गाँसिएको पाइन्छ । कोहलपुरमा वि.स. २०४४ बाट औपचारिक रुपमा कोहलपुर तेक्वान्दो दोजाङ्गका नामले दर्ता भएर प्रशिक्षण हुदै आएको हो । कोहलपुरमा कुनै पनि खेलको क्षेत्रिय वा अंचल स्तरिय प्रतियोगिता नभएको बेलामा तेक्वान्दो खेलको पहिलो पटक वि.स २०५४ सलमा क्षेत्रिय प्रतियोगिता भएको थियो । त्यस्तै यस क्षेत्रमा कुनै पनि खेलको नेपाल सरकारका प्रशिक्षक नभएको बेला तेक्वान्दोकै प्रशिक्षकहरु नै पहिलो प्रशिक्षक नियुक्त भएको हामीमाझ यर्थातता जिवितै छ ।

कोहलपुरमा पहिलो पटक यसै तेक्वान्दो खेलको २०७२ सालमा कोरियाली सरकारको विशेष पहलमा ५ जना कोरियन प्रशिक्षकहरुद्धारा अन्तराष्ट्रिय स्तरको “वल्र्ड तेक्वान्दो पिस कप्स टे«निङ्ग” समेत भएको थियो । अहिलेसम्म करिब ५ हजार बढी तेक्वान्दो खेलाडी उत्पादन भएको कोहलपुरमा करिब २ हजार हराहारीमा कालो पेटी ब्लायक बेल्ट लिइसकेको अवस्था छ । कोहलपुर नगरपालिका भित्र करिब १० वटा भन्दा बढी दोजाङ्गमा अहिले पनि चालु अवस्थामा दैनिक रुपमा खेलाडीहरुको नियमित प्रशिक्षण भइरहेको छ ।

पोखरामा सम्पन्न “एशियन हामदाङ्ग तेक्वान्दो प्रतियोगिता” मा कोहलपुरबाट नेत्र ब. थापा, उत्तम रिमाल, भुपेन्द्र पुन, प्रकाश लामिछाने, खड्क रोकाया लगायतको सहभागिता समेत भएको थियो । तर, पनि खेल खेलेरै जिविका पार्जन गर्न नसकिने राज्यको खेलकुद नितिले हामीमाझ यस्ता खेलकुद गतिविधिको खासै महत्व नराखेको हामी पाउछौ र पछिल्लो समय अभिभावक बाट नै खेलकुद गतिविधिमा आफ्ना बालबालिकालाई निरुत्साहित पारेको देखिन्छ ।

जसले गर्दा अहिलेका बालबालिकामा इन्टरनेटको बढ्दो मोह छ र यसले बालबालिकाको मनोविज्ञान र मस्तिष्कमा एकदमै नकारात्मक असर गरेको देखिन्छ । एकातिर बालबालिकाको स्वास्थमा पनि असर पुग्ने गर्दछ । यस्ता कुराहरु राज्य र निजि लगानी कर्ताहरुले बुझ्नु पर्ने देखिन्छ ।

हामी यस क्षेत्रमा कार्यरत बुद्धिजिवि, व्यापारी, राजनितिकर्मी, समाजसेवी, लेखक तथा पत्रकारहरु यस्ता राष्ट्रको गौरव गर्न लायक खेल जसबाट ओलम्पियन तथा साफ गेममा चार पटक स्वर्ण पदक विजेता दिपक बिष्ट, ओलम्पियन संगिना वैद्य जस्ता खेलाडीहरु उत्पादन भए त्यस्तो खेललाई हामीले स्थानिय स्तरबाटै त्यसको प्रर्वद्धन र स्तर उन्नतिका लागि सोच्नु पर्ने बेला आएको छ । कोहलपुर नगरपालिकाले यस कोहलपुरमा कोहलपुरको स्थापनाबाट खेलिने र यस क्षेत्रको चिनारी बोक्ने संभावना भएको तेक्वान्दो खेलको विकास र प्रतियोगिताहरु बारे सोच्नु पर्ने बेला आएको छ ।

यकातिर कोहलपुरकै माटोमा खेलेर राष्ट्रिय स्तरमा तेक्वान्दोबाट जितिएका पदकहरु बाकसमै थन्किरहेका छन् भने अर्को तर्फ खेलकुदमा नगरपालिकाको कुनै लगानी र निति नै देखिदैन । त्यसै गरि यस क्षेत्रका व्यापारी व्यावसायीहरु कोहलपुर व्यापार संघले पनि आफ्नो सामाजिक दायित्व जनाउदै यस्तै खेल र खेलाडीको प्रतिभा पहिचान गरि खेलकुदमा लगानी गर्न आवश्यक देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २७ गते सोमबार