कोहलपुर गोल्डकपको खेलतालिका सार्वजनिक



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन हुने कोहलपुर गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा वैशाख १९ गतेदेखि सञ्चालन हुने गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कूल आठ टिम सहभागी हुने जनाएको छ ।

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, साविक विजेता राईजिङ स्टार क्लब सुनवल नवलपरासी, पञ्चकोशी युथ क्लब सुदूरपश्चिम र लालीगुुराँस एसोसियसन क्लब पोखरा सहभागी हुने कोहलपुर गोल्डकपका म्याच कमिस्नार दयाराम सापकोटाले बताए ।

उनका अनुसार गोल्डकपमा सातदोबाटो युथ क्लब ललितपुर, रोयल फुटबल क्लब कर्णाली प्रदेश, विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौँ र विदेशी क्लब जस्ट जोन एफसी नाइजेरिया सहभागी हुनेछन् । समूह चरणमा आठ टिमबीच कूल चार खेल हुने उनको भनाइ छ । वैशाख १९ गते उद्घाटन खेल आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर र पञ्चकोशी युथ क्लब सुदूरपश्चिमबीच हुनेछ ।

२० गते विदेशी क्लब जस्ट जोन एफसी नाइजेरिया र रोयल फुटबल क्लब कर्णाली प्रदेशबीच खेल हुने उनले बताए । २१ गते लालीगुुराँस एसोसियसन क्लब पोखरा र सातदोबाटो युथ क्लब ललितपुर भिड्नेछन् । २२ गते विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौँ र साविक विजेता राईजिङ स्टार क्लब सुनवल नवलपरासीबीच हुने उनले बताए ।

कूल आठ टिममध्ये जित्ने चार टिम सेमिफाइनल प्रवेश गर्ने र पराजित हुने टिम गोल्डकपबाट बाहिरिनेछ । पहिलो सेमिफाइन २३ र दोस्रो सेमिफाइनल खेल २४ गते हुनेछ । पहिलो र दोस्रो सेमिफाइनलमा जित्ने टिम कोहलपुर गोल्डकपको फाइनल प्रवेश गर्नेछन् भने हार्ने टिमको चौथो संस्करणको कोहलपुर गोल्डकप यात्रा टुंगिनेछ ।

फाइनल पुग्ने टिमबीच २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिने म्याच कमिस्नार सापकोटाले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।२६ गते गोल्डकपको फाइनल खेल हुनेछ । प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन)ले जितेको थियो । दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’को उपाधि राइजिङ स्टार फुटबल क्लबले उपाधि जितेका थिए ।

गोल्डकपको तयारी अन्तिम चरणमा 

वैशाख १९ गतेदेखि सञ्चालन हुने कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर बाँकेले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर गोल्डकपका संयोजक कर्णबहादुर बस्नेतले गोल्डकपको नामाकरण, खेलतालिका र मुख्य प्रायोजक, प्रयोजकको नाम सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको बताए । उनका अनुसार कोहलपुर गोल्डकपको आधिकारिक नाम ‘चौथो कोहलपुर गोल्डकप–२०८३’ रहनेछ । गोल्डकपको मुख्य प्रायोजक ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ रहेको छ ।

प्रमुख संरक्षक तथा प्रयोजक कोहलपुर नगरपालिका रहने उनले बताए । यसैगरी, प्रायोजकका रूपमा डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका रहेका छन् । खेलकुद साझेदारका रूपमा नेपालगन्ज–११ स्पोर्टिङ क्लब, मेडिकल पार्टनर नेपालगन्ज न्यूरो अस्पताल रहनेछन् ।

उनका अनुसार कोहलपुर गोल्डकपको मुख्य नारा ‘खेलसँग पर्यटन, खेलसँग मनोरञ्जन’ रहेको छ । तेस्रो संस्करणको ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’को नारा घुम्न ‘जाऔँ बर्दिया’ थियो । उनले चौथो संस्करण विगतका भन्दा पृथक ढंगले सञ्चालन हुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर बाँकेका अध्यक्ष चक्र चिमला क्षेत्रीले कोहलपुर गोल्डपको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार कोहलपुरको गौरवको प्रतियोगिताको रूपमा रहेको गोल्डकप हेर्न आउनको लागि सम्पूर्णलाई आह्वान समेत गरिएको छ । बाँकेको कोहलपुरमा २०७९ सालदेखि कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार