गणेश रावत । कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका–११ साझाचोकका स्थानीय विष्णुप्रसाद थारू लामो समयदेखि आफ्नो घरमा कुकुर पाल्दै आएका छन् । उनले २०५० सालदेखि घरमा कुकुर पाल्न थालेका हुन् । उनी अहिले घरमा कुकुर नहुँदा शून्य लाग्ने गरेको बताउँछन् । ‘घरमा कुकुर नभए घर नै शून्य लाग्छ,’ उनले भने, ‘त्यसैले घरको शोभा बढाउन कुकुर पाल्ने गरेको छु । मेरो लागि कुकुर सन्तानसरह लाग्छ ।’ कुकुर नहुँदा घरको शोभा घट्नुका साथै समय बिताउन समस्या हुने गरेको उनी बताउँछन् ।
सुरुवाती दिनमा थारूले भुस्याहा कुकुर पालेको सुनाए । सानो बच्चा हुर्काएर पालेको कुकुरको मृत्यु भएपछि उनलाई सारै पीडा भएको उनी बताउँछन् । त्यसपश्चात् उनले नयाँ भोटे कुकुरको छाउरो किनेर पाले । त्यस कुकरको नाम उनले ‘पाँग्रे’ राखिदिएका थिए । घरको हेरचाह र बिहानसाँझ मर्निङ वाक गर्न आफूसँगै साथीको रूपमा लैजााने गरेको उनले मिसन टुडेलाई बताए । ‘पाँग्रे’को मृत्यु भएपछि घरमा कुकुर नहुँदा शून्यता छाएको उनको भनाइ थियो । त्यसपश्चात् कुकुर नपाली बस्न गाह्रो भएको उनी बताउँछन् ।
विगत सम्झिँदै उनले कुकुर बितेको केही समय पीडा भएको सुनाए । पछि उनका साथीहरूमार्फत उनले तीन वर्षअघि अस्टे«लियाबाट १ लाख ५० हजार रूपैयाँँमा ‘हस्की’ प्रजातिको कुकुर किनेर ल्याएका छन् । कुकुरको करिब ८ महिनाको सानो छाउरो किनेर ल्याएको र अहिले तीन वर्षको भएको उनले बताए । उक्त कुकुरको नाम हो, ‘जिओ’ । थारूले भनेको कुरा ‘जिओ’ले टेर्ने समेत गर्छ । उनीसँगै मर्निङ वाक जाने र एउटै कोठामा सुत्ने गरेको समेत उनी बताउँछन् ।
‘सानो छँदा सँगै बिस्तारामा सुताउने गर्थेँ,’ उनले भने, ‘अहिले ठूलो भएपछि म बिस्तारामा सुत्छु र उ भुइँमा ।’ ‘हस्की’ प्रजातिको कुकुर रहेकाले बाक्लो कपाल हुँदा २४ घण्टा पंखाको आवश्यक पर्ने गरेको उनी बताउँछन् । अहिलेसम्म ‘जिओ’लाई हुर्काउन पाँच लाखसम्म खर्च भइसकेको उनले बताए । कुकुरहरू अत्यन्त बफादार, आफ्ना मालिकप्रति गहिरो प्रेम र सुरक्षा भावना बोकेका हुने भएकाले कुकुर पाल्ने गरेको उनको भनाइ छ । ‘जिओ’का लागि अहिले दैनिक चिकेन मासु र दूध उसको खाना रहेको थारूले बताए ।
‘जिओ’का लागि एक जना व्यक्ति जहिल्यै साथमा चाहिने गरेको उनी बताउँछन् । त्यसको रेखदेख गर्न एक जना नियमित खटिने गरेको उनले बताए । यस्तै कोहलपुरका लक्ष्मण थारूले पनि ‘ल्याब्रोडर’ प्रजातिको कुुकुर पालेका छन् । उनले पनि कुकुर पाल्न थालेको केही वर्ष भएको बताए । सुरुवाती दिनहरूमा घरमा भाइ र छोराछोरीले भुस्याहा कुकुरको छाउरो मायाले घरमा पालेको सुनाए । पछि पारिवारिक वातावरणसँग घुलमिल हुन थालेको र घरको शोभा बढाएको बताउँछन् । त्यसयता सोखका रूपमा कुकुर पाल्न थालेको उनी बताउँछन् ।
पहिला पालेको कुकुरको मृत्यु भएपछि अहिले अर्को १८ हजारको ‘ल्याब्रोडर’ जातको कुकुर ल्याएर पालिरहेको उनले जानकारी दिए । उक्त कुकुरको नाम ‘म्याक्स’ राखिएको उनले बताए । कुकुर पाल्नुको कुनै कारण नभइ सोख मात्रै रहेको उनी बताउँछन् । कुकुरको स्याहार र खानेकुरासम्म दिनलाई एक जना व्यक्ति खटिनुपर्ने उनले बताए । परिवारका सदस्यहरूसरह त्यसलाई पनि उत्तिकै माया गर्ने गरेको उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्