वीरेन्द्र जैसी । नेपालगन्ज ।
भेरी अस्पताल उपचारका क्रममा एक महिलाको मृत्यु भएको विषयमा आफन्तहरूले चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै उत्पन्न विवाद चिकित्सकमाथि हातपात र धम्कीसम्म पुगेको छ । बिरामीका आफन्तहरूले मंगलबार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीको कार्यकक्षमा प्रवेश गरी सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की दिनुका साथै हातपातको प्रयास तथा अभद्र व्यवहार गरेका छन् ।
उक्त घटनापछि चिकित्सकहरूले मंगलबार अस्पतालको ओपिडी सेवा बहिस्कार गरे । चिकित्सकहरू चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म बिरामीको सेवामा फर्किन नसक्ने बताइरहेका छन् । अस्पतालले पनि प्रेस नोट जारी गर्दै घटनापछि अस्पतालका केही सेवाहरू प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको जनाएको छ ।
यसैगरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि पनि सामाजिक सञ्जालका माध्यमबाट भौतिक आक्रमणको आएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ । उक्त घटनापछि मानसिक दबाब र असुरक्षाका कारण अस्पतालका केही सेवाहरू प्रभावित हुनसक्ने अवस्था सिर्जना भएको पनि अस्पतालको प्रेस नोटमा उल्लेख गरिएको छ ।
वैशाख ६ गते भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ६२ वर्षीया दिलसरा विकको अस्पतालमा उपचारका क्रममा वैशाख १३ गते मृत्यु भएको थियो । उक्त घटनापछि बिरामीका आफन्तहरूले चिकित्सकले लापरबाही गरेका कारण विकको मृत्यु हुन गएको भन्दै विरोध जनाएका थिए । सोही विषयलाई लिएर १४ गते सोमबार अस्पताल प्रमुख, अस्पताल विकास समितिका अध्यक्ष, विभिन्न विभागीय प्रमुखहरू, प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार तथा पूर्वराज्यमन्त्री दलबहादुर सुनारको उपस्थितिमा बिरामीका आफन्तहरूसँग छलफल पनि भयो ।
उक्त छलफलमा अस्पतालले चिकित्सकीय उपचारका सीमितता र नियन्त्रण बाहिरका परिस्थितिमा यस्ता घटना हुनसक्ने विषयमा बिरामी पक्षलाई स्पष्ट पार्ने प्रयास गरिएको दाबी गरेको छ । ‘यदि उपचार प्रक्रियामा कुनै नियतवश त्रुटि भएको भए त्यसको अनुसन्धान गर्ने सम्बन्धित निकायहरू विद्यमान रहेको र सो प्रक्रियामा जान बिरामी पक्ष स्वतन्त्र रहेको जानकारी गराइएको थियो । तर दबाबका आधारमा अस्पतालले लापरवाही स्वीकार नगर्ने स्पष्ट पारिएको थियो,’ अस्पतालको प्रेस नोटमा भनिएको छ ।
अस्पतालका अनुसार मृतक विक ग्यास्ट्राइटिस, हाइपोथारोइडिज्म, हाइपरनेन्टसन तथा टाइप २ डायबटिज जस्ता दीर्घरोगहरूको समेत उपचारमा थिइन् । तर बिरामीका आफन्तहरू अस्पताल आउँदा पेटसम्बन्धी समस्या मात्रै लिएर आएको बताउँछन् । मृतकका छोरा सुरेश विक चिकित्सकले पेटसम्बन्धीको बिरामीलाई मानसिक रोगको पनि औषधि चलाएको, चिकित्सकले आवश्यक निगरानी नगरेको, अध्ययनका क्रममा अभ्यास गर्ने विद्यार्थीको भरमा बिरामीको निगरानी गरिएकोले आमाको ज्यान गएको आरोप लगाउँछन् ।
उनले आमाको मृत्यु उपचारमा संलग्न चिकित्सक कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. विकास नेपालको लापरबाहीले मृत्यु भएको भन्दै बाँके प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले उक्त जाहेरी मेडिकल काउन्सिलमा पठाइने र काउन्सिलले आफैँले अनुसन्धान गर्ने प्रकृतिको भए आफैँ गर्ने नभए प्रहरीलाई नै अनुसन्धानका लागि लेखिपठाउने बताए ।
प्रहरीमा सोमबार नै जाहेरी दिएका बिरामीका आफन्तहरू १५ गते पुनः अस्पतालमा पुगेका थिए । त्यसक्रममा मेडिकल सुपरिटेन्डेन्टमाथि गालीगलौज, ज्यान मार्ने धम्की दिनुका साथै हातपातको प्रयास तथा अभद्र व्यवहार भएको अस्पतालले जनाएको छ । अस्पतालले पनि उक्त घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्न ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ ।
अस्पताल भन्छ ‘बचाउन हरसम्भव प्रयास भएको हो’
अस्पतालले मृतक विकलाई उपचारको क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएकाले कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखी इसिजी, इको तथा कार्डियाक इन्जाइम लगायतका आवश्यक परीक्षणहरू पटक–पटक गरिएको बताएको छ । बिरामीको अवस्थालाई मध्यनजर गर्दै बहुविधागत सहकार्यअन्तर्गत ग्यास्ट्रोलोजिस्ट तथा मनोरोग विशेषज्ञबाट समेत परामर्श लिइएको अस्पतालले जनाएको छ ।
यथासम्भव सबै स्थापित विधि र प्रक्रियाअनुसार उपचार गर्दा पनि रोगको स्पष्ट निदान हुन नसकेको अवस्थामा थप ‘क्रस ओपिनियन’का लागि २०८३ वैशाख ११ गते नै अन्यत्र रिफर गरिएको पनि अस्पतालको भनाइ छ । तथापि, बिरामीको अवस्था केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएको तर, उपचारकै क्रममा २०८३ वैशाख १३ गते अचानक बिरामीको अवस्था गम्भीर रूपमा बिग्रिन गई दुःखद निधन हुन गएको अस्पतालको भनाइ छ ।
अस्पताल सधैँ बिरामीको जीवनरक्षा र स्वास्थ्य सुधारका लागि समर्पित संस्था भएको र प्रत्येक चिकित्सकको उद्देश्य बिरामीलाई निको पार्नु नै हुने अस्पतालले स्पष्ट पारेको छ । नियन्त्रण बाहिरका परिस्थितिमा भएका घटनालाई अतिरञ्जित गरी चिकित्सक–बिरामी सम्बन्धमा आँच पु¥याउने तथा सामाजिक सद्भावमा खलल पार्ने अवाञ्छित गतिविधिहरू नगर्न अस्पतालले अनुरोध गरेको छ ।
अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले चिकित्सकले उपचार गर्दागर्दै अस्पतालमा आकस्मिक रूपमा घटना घटेको र त्यसलाई अतिरञ्जित गरिएको बताए । आफन्तहरूलाई चित्त नबुझे मेडिकल काउन्सिलमा उजुरी दिन सकिने हुँदाहुँदै सामाजिक सञ्जालमा घटनालाई अतिरञ्जित गरिएको उनले बताए ।
आफन्तको दाबी ‘चिकित्सक र अस्पतालको लारबाही’
मृतकका छोरा सुरेश विक चिकित्सकको लापरबाहीले नै मृत्यु भएको दाबी गर्छन् । उनले अस्पताल आउँदा सामान्य समस्या मात्रै रहेकी आमाको मृत्यु एक्कासि कसरी हुन गयो भन्ने कारण अस्पतालले दिन नसकेको बताए । दिलसराको नर्सिङ दैनिक रेकर्डमा भर्ना भएदेखि १३ गते मध्यान्हसम्म रक्तचाप, अक्सिजन र तापक्रम सामान्य अवस्थामै रहेको देखिन्छ ।
सुरेशले चिकित्सकले आमाको उपचारमा ध्यान नदिएको र बिरामीको निगरानीमा खटिने नर्स तथा स्वास्थ्यकर्मीहरू पनि विभिन्न स्कुलबाट ओजेटी गर्न आएका विद्यार्थीहरू रहेकोले पर्याप्त निगरानी हुन नसक्दा आमाको ज्यान गएको आरोप लगाइरहेका छन् । उपचारमा संलग्न डा. विकास नेपाल आमाको उपचार हुँदाहुँदै बिदामा गएको बेला सही तरिकाले उपचार हुन नसकेको र १३ गते समस्या आएपछि गलत औषधिको प्रयोग भएको आरोप लगाइरहेका छन् । सुरेशले लापरबाही गर्ने सबैलाई कानुनी कारबाहीका लागि लडाइँ लड्ने बताएका छन् । शव भने बुझेर लगेका छन् ।









प्रतिक्रिया दिनुहोस्