१७ किलो चरेस सहित एक जना पक्राउ



रुकुम पश्चिम : जिल्लामै पहिलो पटक ठुलो परिमाणमा चरेश बरामद गरिएको छ । १७ किलो ५ सय ग्राम चरेश सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लामो समय देखि लागु औषधको ओसार–पसार र बिक्रीको कारोबार भईरहेको सूचनाको आधारमा प्रहरी परिचालन गरी चरेशसँगै ओसार–पसारमा संलग्न एक जयराम खत्रीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १७ किलो ५ सय ग्राम चरेश सहित पक्राउ गरेका बाँफिकोट गाउँपालिका वडा नम्बर–८, दुली घर भएका ४८ वर्षीय जयराम खत्रीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, गोप्य सूचनाको आधारमा चेक प्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा बाँफिकोट गाउँपालिका वडा नम्बर–६, तल्लो बजारबाट बुधबार राती खत्रीलाई पक्राउ गरिएको हो ।
डिएसपी खड्काले खत्रीले बोकेको सेतो बोराबाट १७ किलो ५ सय ग्राम चरेश, ओसारपसारमा प्रयोग गरिएको एक मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

उनले मोटरसाईकल चालक भागेको र चरेश बोकेर मोटरसाईकलको पछाडि बसेका खत्रीलाई पक्राउ गरिएको बताए । भे ३ प २८८० नम्बरको पल्सर मोटरसाईकल पक्राउ गरिएको बताईएको छ । फरार व्यक्तिको खोजतलास भईरहको र पक्राउ परेका व्यक्तिलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाइएको छ । प्रहरीका अनुसार, यति ठुलो परिमाणमा पहिलो पटक चरेश बरामद गरिएको हो ।

राजु लामिछाने

  • No tags available
प्रकाशित मिति : २०७५ माघ २४ गते बिहीबार