छोटो दुरीको बसपार्क निर्माण कार्य अन्तिम चरणमा



 कोहलपुर/  कोहलपुरमा निर्माण भइरहेको छोटो दुरीको बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेकोसँगै उक्त बसपार्क सञ्चालनका लागि केही दिनमै टेण्डर प्रक्रिया आह्वान गर्ने निर्णय गरिएको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले बताएका छन् ।

उक्त बसपार्क यसअघि बागेश्वरी यातायात समितिले टेण्डर प्रक्रिया मार्फत सञ्चालन गर्दै आएकोमा अब भने नयाँ टेण्डर प्रक्रियामा लैजाने निर्णय गरिएको हो । नगर विकास समितिको मंगलबार बसेको वोर्ड बैठकले सो निर्णय गरेको अध्यक्ष खड्काले जानकारी दिए । यस्तै समितिको बैठकबाट उक्त निर्णयसहित विभिन्न ६ वटा निर्णय समेत गरेको छ ।

जसअन्तर्गत साविकको इलाका वन कार्यालय तथा हालको सव–वन डिभिजन कार्यालय कोहलपुरलाई स्थान्तरण गर्ने निर्णय पनि गरिएको छ । सो वन कार्यालयलाई दशविगाहको पछाडिपट्टी रहेको पर्यटन कार्यालय रहेको भवनमा स्थान्तरण गर्ने निर्णय गरिएको हो । उक्त भवन पर्यटन कार्यालयले वन कार्यालयलाई दिने यस अघि नै सम्झौता गरिसकेकोले त्यहाँ स्थान्तरण गर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताए ।

कोहलपुर नगर विकास समितिको कार्यालय भएको क्षेत्र समतिको मास्टर प्लानमा संस्थागत क्षेत्र तोकिएकोले त्यसभित्र रहेको दुई विगाह अठार कठ्ठा जग्गालाई प्लटिङ गरी कोहलपुरमा रहेका सबै सरकारी संस्थाहरु ल्याउने निर्णय गरिएको र त्यसमा इलाका प्रशासन कार्यालयले पनि सहमति जनाएको खड्काले जानकारी दिए ।

यस्तै बैठकले कोहलपुरको सिमा क्षेत्रमा रहेका विवादित जग्गाहरुको विवाद समाधानका लागि वडा नं.११ का वडा अध्यक्ष कर्ण बहादुर थापाको संयोजकत्वमा तुलराज विष्ट, चिन्तामणी धिताल, गौरीकान्त आचार्य, यज्ञ रेग्मी र समितिका कानूनी सल्लाकार राधेश्याम थारु रहेको उपसमिति समेत गठन गरेको छ ।

उक्त समितिले कोहलपुर नगरपालिकाभित्र रहेका जग्गा विवाद समाधान गर्ने बताइएको छ । यस्तै कोहलपुर एनटिभी चोकदेखि चौराहसम्मको सडक बत्तिको विस्तारको लागि नेपाल विद्युत वितरण केन्द्र कोहलपुरलाई दिने र कोहलपुरमा आगामी महिना हुन लागेको आठाँै राष्ट्रिय खेलकुदका लागि निर्माण भइरहेको अन्र्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आवश्यक वजेटको व्यवस्था नगर विकासले गर्ने निर्णय गरिएको पनि अध्यक्ष खड्काले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ पुस ११ गते बुधबार