पर्यटकीय गन्तव्य अगैया



कोहलपुर/  राप्तीसोनारी–२, अगैया अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । हरियाली वातावरण र यात्रुको विश्राम स्थल भएकाले पनि अगैया क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको हो ।

माछाका पारखीका लागि अगैया एकदमै राम्रो ठाउँका रुपमा परिणत भएको छ । स्थानीय माछाको स्वाद लिनकै लागि पनि नेपालगन्ज, कोहलपुरबाट स्थानीय पर्यटक अगैया सम्म पुग्ने गर्छन् ।

काठमाडौं, दाङ, नारायणगढ, चितवनलगायत क्षेत्रमा यात्रा गर्ने यात्रु पनि अगैयामा माछाको स्वाद नलिइकन हिँड्दैनन् । अहिले अगैयाले आफ्नो स्वरुप बदल्दैछ ।

हिजोको अगैया र आजको अगैयामा थुप्रै सकारात्मक भिन्नता छ । प्राकृतिक स्रोतको धनी राप्तीसोनारी गाउँपालिकाको पर्यटकीय क्षेत्रमध्येको एउटा क्षेत्र हो, अगैया ।

अगैयाको स्थानीय माछा सबैभन्दा लोकप्रिय हो । सोही माछाको स्वाद चाख्नकै लागि विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन् । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको अगैया क्षेत्रलाई पर्यापर्यटनको हिसाबले अगाडि बढाउने सम्भावना निकै छन् ।

यहाँ ¥याप्टिङको सम्भावना, घडियाल गोहीको सम्भावना छ । राप्ती नदीमा ¥याप्टिङ र घडियाल गोहीको सम्भावनाको अध्ययनसमेत भइसकेको छ । यद्यपि अहिलेसम्म यो कार्य अगाडि बढेको छैन । त्यो प्रक्रियामा रहेको जानकारीमा आएको छ ।

त्यस्तै देशकै गौरवको सिक्टा सिँचाइ आयोजना भएकाले पनि यहाँ घुम्न आउने, फोटो खिच्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । अहिले यहाँको आकर्षण थारु संग्राहलय, पिकनिक स्पट पनि यहाँको आकर्षण बन्दै गएको छ ।

यस क्षेत्रको विकासका लागि गाउँपालिका पर्यटन क्षेत्रमा ८ लाख रुपैयाँ विनियोजन गरेको छ । पर्यटन कार्यालय कोहलपुरले सो क्षेत्रलाई बोटिङको सम्भावना रहेको क्षेत्रमा राखेर पर्यटन विकासको गुरुयोजनामा राखेको कार्यालयले जनाएको छ ।

अगैया बजारलाई पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुलाई विश्राम गर्ने थलोका रुपमा पनि लिने गर्छन् । अगैया क्षेत्रसहित ऐतिहासिक महत्व बोकेको भुँवरभवानी मन्दिर, रामकुटीलगायतका क्षेत्र पनि राप्तीसोनारीका पर्यटकीय गन्तव्यका केन्द्र हुन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत डिल बहादुर पुर्जा पुनले गत वर्ष गोहीको वासस्थान र ¥याप्टिङको सम्भावित अध्ययन गरिएको बताए । उनले सो क्षेत्रमा पर्यटकहरुका लागि ¥याप्टिङ सञ्चालन गर्न सकिने बताए ।

पहिले गौचरणको रुपमा रहेको सो बजारमा २०४३ मा करिब १२ घरधुरी रहेकोे स्थानीय तीर्थराज डाँगीको भनाइ छ । उनले सिक्टा सिँचाइ आयोजना सुरु भइसकेपछि सो क्षेत्रले विकासको गति लिएको बताए ।

अगैया बजार माछाका लागि प्रख्यात भएको होटल सञ्चालक प्रेम डाँगी बताउँछन् । अहिले गाउँपालिका कार्यालय स्थापना भएसँगै मानिसहरुको आवतजावतमा वृद्धि भएको उनको भनाइ छ । अहिले सो क्षेत्रमा नयाँ भवनहरु बन्न थालेका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज र पर्यटन कार्यालय कोहलपुरले समेत सो क्षेत्रलाई पर्यटकीय विकासको रुपमा अघि बढाउने गुरुयोजना अघि सारेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रबार