कपडा व्यवसायी परियारमाथि निर्घात कुटपिट



कोहलपुर,२ असार/  कोहलपुरका कपडा व्यवसायी तथा चाहाना ईम्पोरियम एण्ड टेलर्सका प्रोप्राईटर रुपलाल परियारमाथि कुटपिट शुक्रबार भएको छ ।

सिलाउन दिएको कपडा छोटो सिलाई दिएको भन्दै नेपालन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमविविएस अध्यययनरत दुई जना विद्यार्थीले पसलभित्रै छिरेर अपशब्द प्रयोग तथा गालिगलौज गर्दै निर्घात रुपमा कुटपिट गरेका हुन् । कुुटपिटबाट घाइते परियारको दुवै आँखा, टाउको र घुडामा गहिरो चोट लागेको छ ।

सोही घटनाको विरोध गर्दै कोहलपुर उद्योग वाणिज्य संघले प्रेस विज्ञपती जारी गर्दै घोर भत्र्सना गरेको छ । साथै निर्दोष व्यावसायीमाथि दिन–दहाडै आक्रमण शैलीबाट संघातिक प्रहार गरिएकोले दोषीमाथि यथाशक्य पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

साथै यस्ता खालका घटना पुनःदोहोरिए आन्दोलनमा उत्रने संघका कार्यवाहक अध्यक्ष नमप्रसाद शर्मा र महासचिव तेज प्रसाद अधिकारीद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै सोही घटनाको विरोध गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो गम्भिर ध्यान आकर्षण भएको जनाएको छ ।

साथै दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन संघका कार्यवाहक अध्यक्ष शालिकराम परियार, बालकुमार विक, शेर बहादुर परियार, टोप बहादुर परियार, लक्ष्मण परियार र राजु परियारद्वारा हस्ताक्षेरित विज्ञप्तीमा माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २ गते शनिबार