खजुरा (बाँके),२४ जेठ/ सिएमजी संकटा क्लव तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । संकटाले सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । संकटा गतवर्ष पनि फाइनलमा पुगेको थियो ।
बाँकेको खजुरामा जारी खेलको शुरुवाती ६ मिनेटमै विजय सिंहको गोलले सुदूरपश्चिमले अग्रता लिएको थियो । दोस्रो हाफको तीन मिनेटमै एलोन म्याक्सवेलले गोल गरेर बराबरी गरेका थिए । ७० मिनेटमा पुनः म्याक्सवेलले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
त्यो अग्रता भने तीन मिनेटमै सुदूरपश्चिमले बराबरी गरेको थियो । सुदूरपश्चिमका चेतन कठायतले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुई÷दुई गोल भएपछि खेलको निर्णय ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा संकटाका सरोज ढकाल, रोमन लिम्बु र भुवन सुब्बाले गोल गरेका थिए । सुदूरपश्चिमका चेतन थारुले मात्रै गोल गरेका थिए । शुरुवातमै नरेन्द्र चौधरीले बाहिर हानेका थिए । विजय सिंह र योगेन्द्र चौधरीको प्रहार संकटाका किपर दिनेश थापाले रोकेका थिए ।
खेलको म्यान अफ म्याच शान्त गुरुंङ भए ।संकटाले अब उपाधिका लागि लाली रुपन्देही–११ सँग शनिबार प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । पाँच लाख पुरस्कारको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँनेछन् ।









प्रतिक्रिया दिनुहोस्