नयाँ ढंगले पार्टीलाई आमूल परिवर्तन गर्नुपर्नु पर्छ : प्रवक्ता



कोहलपुर,१९ जेठ/  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले कोहलपुरमा आयोजना गरेको नेपाली काँग्रेस कार्यकर्ता प्रशिक्षणको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रवक्ता शर्माले काँग्रेसको अहिलेसम्मको परिपाटीलाई परिवर्तन गरी अब नयाँ ढंगले पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने बताए ।

उनले त्यस्तो परिवर्तन अब तल जरैबाट सुरु हुने दाबी गरे । शर्माले अबको पाँच वर्ष काँग्रेस सभ्य प्रतिपक्षको भूमिकामा रहेर आफ्नो संगठन निर्माणमा लाग्ने बताए । उनले भने, ‘काँग्रेसलाई पुनर्जीवन दिनका लागि अब सबै कार्यकर्ताले नयाँ सोच र नयाँ ढंगबाट काम गर्नुपर्ने खाँचो छ ।’

काँग्रेसको नेतृत्वमा मुलुकका हरेक परिवर्तन सम्भव भएको उल्लेख गर्दै प्रवक्ता शर्माले भने, ‘मुलुकको अहिलेको आर्थिक र सामाजिक परिवर्तन पनि कांग्रेसकै कारण सम्भव भएको छ ।’ काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएकै समयमा कांग्रेसले समावेशिताको अभियान शुरु गरेकोमा जोड दिँदै प्रवक्ता शर्माले पछिल्लो समय संविधान जारी भएपछि पनि मधेशमा लागेको आगो पनि काँग्रेसले नै शान्त पारेको स्पष्ट पारे ।

साथै उनले नेपाली काँग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । काँग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नु परेको उल्लेख गरे ।

पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई उनले औँल्याए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य मनमोहन भट्टराईले बहुदलिय व्यवस्थाले लोकतन्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने बताए । लोकतन्त्रिक आन्दोलनको नेतृत्व काँग्रेसले नै गरेकोले अब देशको समृद्धि पनि काँग्रेसकै नेतृत्वमा हुने बताए ।

पार्टीका क्षेत्रीय सभापति माधवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १९ गते शनिबार