नेपालगन्ज,१ जेठ/ जनज्योति मावि कोहलपुर र अमर मावि सी गाँउ नेपालगन्जमा जारी मेयरकप अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान सम्पन्न १४ वर्ष उमेर मूनिको पहिलो खेलमा मुनतारा हाईस्कुल राँझालाई शून्यको विरुद्ध १ गोल अन्तरले पराजित गर्दै अमर मावि सेमीफाईनलमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा सगरमाथा हाईस्कूल कारकाँदोले जनज्योति मावि कोहलपुरलाई १–० ले पराजित गरेपनि नियम विपरित खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि जनज्योति मावि विजयी घोषित हुदैं सेमीफाईनलमा प्रवेश ग¥यो ।
त्यसैगरि, मंगलबार दिउँसो सम्पन्न भएको सिनियरतर्फ जिभीएन कलेज र जनज्योति मावि कोहलपुर विजयी भएका छन् । जिभिएनले नेपालगन्ज मोडेललाई १ को विरुद्ध २ गोलले पराजित ग¥यो ।
अर्को खेलमा जनज्योति माविले होप ईन्टरनेशनललाई टाईब्रेकरमा ५–३ ले पराजित ग¥यो । निर्धारित समय भित्र दुबै टोली बीच कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुग्यो ।
टाईब्रेकरमा जनज्योति माविका सबै प्रहारलाई खेलाडीहरुले गोलमा परिणत गरे भने होपका खेलाडीहरुले ३ गोल मात्र गर्न सके र नतिजा जनज्योतिको पक्षमा गयो ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाद्वारा संयूक्त रुपमा आयोजित खेलमा १४ वर्ष मुनि र १६ वर्ष मुनि छात्र तथा १६ वर्ष मुनिको छात्रा गरी ३ वटा विधामा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा बाँके जिल्लाका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।
यु–१४ छात्रमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ छात्र टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।
त्यसैगरि, यु–१६ छात्रामा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । बुधबारदेखि छात्राहरुको खेल शुरु हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्