योजना कार्यान्वयनमा गैससको भूमिका खोजिँदै



सुर्खेत,२१ वैशाख/  प्रदेश सरकारले समृद्धि र विकासका लागि ल्याएको योजना सफल कार्यान्वयनका लागि गैरसरकारी संस्थाले आफ्नो भूमिका खोज्ने भएको छ । गैर सरकारी संस्थाहरु सरकारको प्रतिस्पर्धी नभएको तर सहयोगी भएको भन्दै आफुहरुको भूमिका प्रदेश विकासमा कस्तो हुने भन्ने खोजीका लागि कर्णाली प्रदेशमा छलफल हुने भएको छ ।
सोही भूमिका खोजीका लागि आवश्यक मार्गचित्र निर्माण र निचोड निकाल्नका लागि शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय नागरिक सम्मेलन सुरु हुने भएको छ ।
गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको आयोजनामा शुक्रबार र शनिबार सम्मेलन हुने भएको हो । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएको सन्दर्भमा प्रदेशको विकास र समृद्धिका लागि क्रियाशिल विकास साझेदार विज्ञ, नागरिक संघसंस्थाहरु र प्रदेश सरकार समेत एकै थलोमा बसेर नागरिक समाजको भूमिका र समृद्धिका लागि योजना निर्माण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइएको छ ।
‘हामी राज्य र सरकारका हरेक समुन्नतीका साझेदार हौं, हर कदममा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै आएका छौं’ गैसस कर्णाली प्रदेशका संयोजक डिलुप्रसाद घिमिरेले भने, ‘प्रदेश सरकारले कार्यक्रम ल्याइसकेको छ, कार्यान्वयनका लागि गैससको भूमिका के हुने हो छलफल गरी सँगसँगै विकासको साझेदार बन्नका लागि भेला गरिएको हो ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने भेलामा कर्णाली प्रदेश भरीका नागरिक अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाका एकसय ५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
यस्तै नागरिक सम्मेलनका साथै गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशन पनि शुक्रबार र शनिबार नै हुने भएको घिमिरेले जानकारी दिए । नागरिक सम्मेलनमा प्रदेश समृद्धिमा गैससहरुको भूमिकाका विषयमा गहन छलफल गरी निष्कर्ष निकालिने महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदीले बताए ।
उनले आफुहरु सरकारको नियमनमा रहन चाहेको तर पूर्वाग्रही तरिकारले प्रदेश सरकारले नियन्त्रण गर्ने कुरा बाहिरीएकाले त्यसो हुन नहुने बताए । दिगो विकास लक्ष्य पुरा गर्नका लागि गैरसरकारी संस्थाहरुको सहयोग अपरिहार्य भएकाले प्रदेश सरकारले विगतमा भन्दा सुदृढ ढंगले परिचालित हुन चाहेको उनको भनाइ छ । दुईदिनसम्म चल्ने सम्मेलनमा ६ वटा विभिन्न महत्वपूर्ण विषयमा छलफल गरी कर्णाली घोषणापत्र समेत सार्वजनिक गरिनेछ ।
कर्णाली प्रदेशमा विकासका अवसर, संभावना, र प्राथमिकता, दिगो विकासको १६ नम्बर बुँदाका सम्बन्धमा नीतिगत संवाद, विपद् व्यवस्थापनको अवस्था, चुनौती र सम्बोधन, गैससहरुको व्यवस्थापनको लागि प्रदेशतहमा कानुनी व्यवस्था, दिगो विकास लक्ष्य र बालबालिकाको सवाल, गैसस मार्गचित्र तथा भूमिकाका सम्बन्धमा नीतिगत छलफल गरिनेछ ।
सम्मेलनबाटै कर्णाली प्रदेश स्तरीय दिगो विकास मञ्चको गठन गरिनुका साथै प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति चयन गरिने आयोजकले बताएको छ ।
सम्मेलनमा गैससलाई प्रदेश सकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा कसरी सँगसँगै लैजाने भन्ने विषयमा छलफल अवधिभर प्रदेश स्तर सामाजिक विकास समितिका आठ जना सांसदहरुको समेत सहभागिता रहने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार