उपमहानगरपालिकाका विभिन्न वडामा संयुक्त अनुगमन



नेपालगन्ज,१५ वैशाख/   नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न वडाहरुमा नेपालगन्ज उपमहानगरपालिकाका उपपमुख सहितको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालित बालश्रम न्यूनीकरण तथा बालसंरक्षण कार्यक्रम अन्तर्गत सो अनुगमन गरिएको हो ।

कार्यक्रम अन्तरगत वडा नं.१०, ११, १२, १६ र १७ मा श्रमिक परिवारहरुले सञ्चालन गरिरहेको व्यवसायको संयुक्त अनुगमन गरिएको हो । न्यून आर्थिक अवस्था भएका श्रमिक बालबालिकाका परिवारहरुको आयस्तरमा बृद्धि गर्ने उद्धेश्यले उनीहरुलाई व्यवसाय सञ्चालनका लागि किराना सामग्री, बाख्रा पालन र सिलाइ कटाई मेसिन प्रदान गरिएको थियो ।

संयुक्त अनुगमनको क्रममा सहयोग प्राप्त गरेपछि आयस्तरमा बृद्धि भएको वडा नं.१२ की श्रमिक बच्चाकी अभिभावक शुकमाया चिडीमारले अनुगमनको क्रममा बताइन् । उनले सहयोग पाएपछि पसलबाट भएको आम्दानीलाई दैनिक रुपमा सहकारीमा जम्मा गरिरहेको बताइन् ।

वडा नं. १७ नादुन निसा ईद्रीसीले छोरासँग सिलाइ कटाईको सिप भएपनि मेसिनको अभावका कारण बाहिर निकै न्यून ज्यालामा काम गरिहेको भन्दै मेसीन तथा सामाग्री सहयोगले घरमै सिलाई कटाई व्यवासय सुरु गरेको बताइन् । उनले बालबालिकाहरुलाई बिद्यालय पठाइसकेको बताइन् ।

यसैगरी वडा नं. १६ का साबिर अली जसगढले किराना पसल सञ्चालन गरिरहेको बताए । अनुगमनको क्रममा वडा नं. १२ मा आमा बुवा गुमाई हजुर आमाको आश्रयमा बसिरहेको ५ जना अनाथ बालबालिकाहरुलाई आज शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

अनुगमनको क्रममा नेपालगन्ज उप–महानगरपालिकाका उप प्रमुख उमा थापा मगर र वडा नं. १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीले संयुत्त रुपमा किताब, कापी, कलम, झोला र ड्रेस वितरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १५ गते शनिबार