विद्युत चुहावटमा प्रयोग गरेका ११ थान मिटर नियन्त्रणमा



कोहहलपुर,७ चैत/  नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणका लागि कडाई गरेको छ । मंगलबार अपराह्नमात्रै वितरण केन्द्रबाट खटिएको टोलीले कोहलपुर नगरपालिका वडा नं.१२ को खड्गवारबाट ११ थान मिटर नियन्त्रणमा लिएको छ ।

मिटर बाइपास गरेर चुहावट गर्ने गरेका मिटरहरुसंगै हुकिङ्ग गर्दै गरेका अन्य घरबाट १ थान २ एचपीको पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।

कार्यवाहीबाट लगभग ४ लाख बढी राजस्व संकलन हुने अनुमान गरिएको प्रमुख लामिछानेले बताए । रातीको समयमा छ्डके निरीक्षण गर्दै आएपनि केही समययता अपराह्नको समयमा पनि चुहावट नियन्त्रण टोली सक्रिय रहेको वितरण केन्द्र प्रमुख लामिछानेले बताए ।

‘राती भन्दा दिउँसोको समयमा विद्युत चोरी गर्नेहरु भेटिन थालेपछि चुहावट टोली सक्रिय गराएका हौं’ प्रमुख लामिछानेले भने । चुहावट नियन्त्रणमा कडाइ अपनाएपछि चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा कोहलपुर वितरण केन्द्रले १६ लाख १२ हजार १ सय९७ रुपैयाँ रकम संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।

गत ज्येष्ठसम्म २३ प्रतिशतसम्म रहेको कोहलपुर वितरण केन्द्रको विद्युत घाटा अहिले १४.१८ प्रतिशतमा झरेको जनाइएको छ । मिटरमा चलखेल गरेर, मिटरसम्म आउने मुख्य सर्विस तारमै बाइपास गरेर, हुकिङ्ग गरेर लगायतका तरिका अपनाएर विद्युत चुहावट हुने गरिएको बढी भेटिने गरेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ७ गते बुधबार