डोटी,१६ फागुन/ डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरी प्रतिवद्धता जारी गरेको छ ।
राज्यद्धारा विभिन्न समयमा गराइने चुनावमा यो गाउँपालिकाका शिक्षकहरु विद्यालय नै बन्द गरेर राजनीति कार्यक्रममा सक्रिय हुने गरेकोले पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले आफ्नो रोहबरमा अबदेखि सरकारी तलब खाने शिक्षकले कुनै पनि दलको सदस्यसमेत नरहने प्रतिवद्धता जारी गराएका छन् । सरकारी विद्यालय सुधार गर्न शिक्षकहरुलाई दलको सदस्यता लिन नमिल्ने १६ बुँदे लिखित प्रतिवद्धता जारी गरेका हुन् ।
सरकारले विद्यालय र विद्यार्थीलाई शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष बितिसक्दा पनि सरकारी विद्यालयका शिक्षकहरुले विद्यालयलाई सुधार गर्न नसकेकोेले अबदेखि यो गाउँपालिका कुनै पनि सरकारी तलब खाने शिक्षकहरु दलको सदस्य नहुने निर्णय गरिएको हो ।
एमाले डोटी जिल्ला सचिवालय सदस्य देवबहादुर खड्काले सरकारी शिक्षकहरु राजनीति दलको सक्रिय सदस्यता लिएर विद्यालयमै राजनीति गर्ने र यसले विद्यालयहरुको पठनपाठनमा नकरात्मक प्रभाव परेकोले यसलाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग राख्नु भएको थियो । पूर्वीचौकी गाउँपालिका अभिभावकले समेत चुनावका समयमा विद्यालयमा पूर्ण राजनीति प्रभाव परेकोले नानीहरुको पढाई नै ठप्प हुने गरेको आक्रोश पोखेका छन् ।
-ujyaaloonline.com








प्रतिक्रिया दिनुहोस्