कोहलपुरमा आरटीआईको शाखा गठन,अध्यक्षमा केसी



कोहलपुर,४ फागुन/  सूचनाको हक सम्वन्धी ऐन २०७४ को कार्यान्वयनको अवस्था, समस्या र चुनौतीका विषयमा बिहिबार कोहलपुरमा अन्तरक्रिया गरिएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको आयोजनामा सूचनाको हक सम्वन्धी ऐनमा भएको व्यवस्था र सरोकारवाला कार्यार्यालहरुले गर्ने सूचना प्रवाहको विषयमा देखिएका समस्याहरुलाई कसरी आम नागरिकहरुको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो ।

अन्तरक्रियाको सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषी चौलागाँईले राज्यले ऐनमार्फत सूचनाको हकको २०६४ मै व्यवस्था गरेको भएपनि यसको कार्यान्वयनको अवस्था फिलतो रहेको भन्दै दुख व्यक्त गरेका थिए ।

बाँकेमा झण्डै सय बढी सरकारी कार्यालयहरु सञ्चालनमा रहेपनि ४० वटा सरकारी कार्यालयहरुले मात्र ऐनको कार्यान्वयनमा ध्यान दिएको चौलागाँईले जानकारी दिए ।

सूचनाको हकसम्वन्धी ऐनले सबै सरकारी कार्यालय, सरोकारवाला निकायहरुले प्रत्येक तीन तीन महिनामा स्वतह सूचनाहरुको अध्यावधि गरी सार्वजनिक गर्नु्पर्ने स्पष्ट व्यवस्था गरेको भएपनि सरोकावाला निकाय तथा सरकारी कार्यालयहरुले अझैसम्म त्यसको कार्यान्वयन गरेको पाइदैन ।

बाँकेमा रहेका करिव २ सय ५० सेवाप्रदायक कार्यालयहरुमध्ये ९५ प्रतिशतमा सूचना नै नपाइने गरेको चौलागाईले बताए । उनले नेपालमा सूचना दिनुपर्छ भन्ने सरकारी कार्यालयका अधिकाशं अधिकारीहरुलाई थाहा नहुने, थाहा भएकाहरुले पनि सूचना दिँदा केही बिग्रिने हो कि भन्ने त्रास प्रष्टै देखिन्छ ।

त्यस्तै अधिवक्ता विश्वजित तिवारीले सूचनालाई लोकतन्त्रको प्राणवायु भनिन्छ र यसलाई कार्यान्वयन गर्नु भनेको नै लोकतन्त्रलाई बलियो र प्रभावकारी बनाउनु रहेको बताए ।

कार्यक्रममा कोहलपुर क्षेत्रका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले सुचनाको हक सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका लागि प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रमसंगै आई.टि.आर. कोहलपुर शाखाको गठन समेत गरिएको छ ।

कोहलपुरका पत्रकार जयसिंह के.सी.को संयोजकत्वमा कोहलपुर शाखा गठन गरिएको हो । जसको सचिव निर्मल आचार्य तथा सदस्यहरुमा संगिन शर्मा, रबि रोकाकया, ध्रुब आचार्य र दिपेन्द्र के.सी. चयन भएका छन । त्यसैगरी भिम रावत, पुजन वि.क. र राजेश आचार्यलाई सल्लाहकारमा चयन गरिएको शाखा अध्यक्ष के.सी. ले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार