कण्डम दिवसमा विभिन्न कार्यक्रम गरिदै



नेपालगञ्ज,२७ माघ/  नेपालगञ्जमा विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय कण्डम दिवस भव्य रुपमा मनाउने तयारी भएको एएचएच नेपालले जनाएको छ । शनिबार नेपालगञ्जमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा सरोकारवाला निकायसंग छलफल गरी दिवस मनाउने बारे जानकारी गराएको हो ।

१३ फ्रेबुअरीमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा आयोजना गर्न लागिएको दिवसमा स्वास्थ्यकर्मी, डाक्टर, सर्भिसिङ्ग सेवा लिनेहरुसंग अन्तरक्रिया तथा पुनस्थापना केन्द्रमा रहेका व्यक्तिहरुको रगत परिक्षण तथा परामर्श सेवा प्रदान गरिने कार्यक्रम समेत तय गरिएको एएचएचका निर्देशक संजय कुमार पौडेलले बताए ।

अन्तराष्ट्रिय कण्डम दिवस विश्वभर कण्डमको प्रशोधन गराउनका लागि कण्डम दिवस मनाउन लागिएको पौडेलले जानकारी गराए । एचआएभी लगायत विभिन्न रोगसंग जोडेर जनचेतना फैलाउनुका साथै दोहोरो सुरक्षाका निम्ति कण्डम दिवस अपरिहार्य रहेको भेरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर संकेत कुमार रिसालले बताए ।

देशभर १५÷१६ हजार एचआइभी संक्रमितहरु लुकेर बसेको हुनाले समयमै पहिचान गरी समस्याको समाधान गर्न कण्डम दिवस आवश्यक रहेको डाक्टर रिसालले बताए । बाँकेको नेपालगञ्ज, खजुरा र कोहलपुर एचआइभीको उच्च जोखिम रहेको क्षेत्रको रुपमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत राम बहादुर चन्दले जानकारी गराए ।

हाल बाँकेमा लागुऔषध सुधार केन्द्रमा रहेका ३ सय ५० जनालाई रगत परिक्षण गरी प्रशिक्षण समेत गरिने एएचएच नेपालले जनाएको छ । हाल बाँकेमा ९ सय ६२ जनामा एचआइभी पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार