राजनीतिमा प्रवेश गरे पनि गायन क्षेत्र छोड्दिन : वली



नेपालगन्ज,२० माघ/   नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएकी लोकगायिका कोमल वलीले आफू राजनीतिमा प्रवेश गरे पनि गायन क्षेत्र नछोड्ने बताउनु भएको छ । वलीले राजनीतिसँगै गायन क्षेत्रलाई पनि निरन्तरता दिने बताउनुभयो ।

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आउनुभएकी वलीले गायनबिना आफू बाँच्न नसक्ने भन्दै उहाँले आफू रहेसम्म गायन पनि आफूसँगै रहने बताउनुभयो ।

नेपालगञ्जमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै वलीले आफूलाई एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा आएका कतिपय अभिव्यक्ति असामाजिक जस्तो लागेको भए पनि टिप्पणीलाई सकारात्मक रुपमा लिएको बताउनुभयो ।

‘पार्टीका सबै नेताहरुले उम्मेद्धार भएपछि बधाईज्ञापन गर्नुभएको छ’, वलीले भन्नुभयो, ‘ज–जसले चिन्ता र चासो राख्नुभएको छ, त्यसलाई मैले नयाँ यात्रामा परीक्षाको रुपमा लिएको छु ।’ असुन्तुष्टि जनाउनेलाई आफूले काम गरेर सन्तुष्ट बनाउने वलीको भनाई थियो ।

वलीले अन्य देशमा कलाकारलाई माथिल्लो सदनमा पनि अवसर दिने गरिएको र नेपालमा पनि त्यस्तो परिवर्तन हुनुपर्ने बताउनुभयो । आफू राष्ट्रियसभामा निर्वाचित भइसकेपछि पशुपति शर्मासँग मिलेर ‘शून्य भयो गाउँघर’ बोलको गीत सार्वजनिक गरेको बताउँदै उहाँले बिमल क्षेत्रको शब्द र संगतीमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो ।

वलीले राष्ट्रियसभासँगै एमालेको संगठनमा पनि छिट्टै जिम्मेवारी पाएर आफू सक्रिय हुने बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २० गते शनिबार