सुदिप अधिकारी : बर्दिया,२० माघ/ बर्दिया राष्ट्रिय निकुञ्जको दक्षिण पश्चिम मध्यवर्ती क्षेत्रमा जंगली हात्तीले वर्षेनी आतंक मच्चाउने गर्छ । जंगली हात्ती गाउँमै पसेर मानिसलाई आक्रमण गर्न थाले पछि स्थानीय निकै त्रसित भएर बस्न बाध्य छन् ।
हात्तीको डरले मध्यवर्ती क्षेत्रका स्थानीयबासी रातभर जाग्राम बस्ने गर्छन् । कुन बेला कहाँ हात्ती निस्केर उत्पात मच्चाउने हो भन्दै स्थानीयबासी सधै त्रसित रहने गर्छन् ।प्रायः एक्लै हिड्ने हात्तीले मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर उपद्रो मच्चाउने गरेको छ ।
हात्तीले स्थानीयवासीलाई निकै दुःख दिन थालेपछि निकुञ्जले गाउँ पस्ने हात्तीलाई नियन्त्रणमा लिएर स्याटलाइट कलर जडान गरेको छ । लामो समयको प्रयास पछि निकुञ्जले उपद्रो मच्चाउने हात्तीलाई निकुञ्जको मधयवर्ती क्षेत्र ढकेला गाउँबाट नियन्त्रण लिएको थियो ।
उक्त हात्तीलाई डार्ट (लठ्याउने सुई) गरेर त्यसमा स्याटेलाइट जीपीएस रेडियो कलर जडान गरिएको हो । यो प्रविधि जडान भएपछि हात्ती कता छ, के गर्दैछ भन्ने जानकारी निकुञ्जमा पुग्छ ।
रेडियो कलरले हात्ती निगरानी गर्न सजिलो हुने र वस्ती नजिक जान लागेको संकेत पाउने वित्तिकै निकुञ्जको सुरक्षा टोली पुगेर धपाउन सकिने भएकाले रेडियो कलर प्रविधि जडान गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताएका छन् ।
एक वर्षयता जंगली हात्तीकै आक्रमणमा परेर निकुञ्जसँग सिमा जोडिएको मध्यवर्ती क्षेत्रका ६ जनाले ज्यान गुमाइसकेका छ भने एक महिनायता जंगली हात्ती मध्यवर्ती क्षेत्रका विभिन्न गाउँमा पसेर दुइ दर्जन बढी घर भत्काउनुका साथै गहुँबाली पनि नष्ट गरेको छ ।
गाउँ पस्ने हात्तीमा रेडियो कलर जडान भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाले केही राहत महशुस गरेका छन् । ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ, सैनवार, बर्गदा, खैलार, कर्मला, रानीपुर, बलाती, शिवपुर, ठाकुरद्धाराका गाउँ जंगली हात्तीबाट बढी पिडित छन् ।
यसैगरी मधुवन नगरपालिकाको सुर्यपटुवा, डल्ला, पत्थरबोझी, खाता, र बारबर्दिया नगरपािलकाको रम्मापुर, औरी, ढकेलालगाएतका गाउँ हात्तीबाट प्रभावित छन् ।
जंगली हात्तीको सास्ती रोक्न निकुञ्जले यस अघि नै वार्निङ्ग सिस्टम’(पूर्व संकेत)मा आधारित प्रविधि पनि प्रयोगमा ल्याएको छ । यो प्रविधिले जंगली हात्ती गाउँ पस्न लाग्दा निकुञ्जका कर्मचारीको मोवाइलमा एसएमएस आउने गर्छ ।
यसका साथै सम्वन्धित क्षेत्रमा साइरन बज्ने गर्छ । निकुञ्जका एक कर्मचारीले भने,क ‘ यो प्रविधिमा एउटा सेन्सर जडित यन्त्र रहने छ । यसले सेन्सरले हात्ती आएको थाहा पाउना साथ सिस्टम लिंक गरिएका मोवाइलहरुमा तुरुन्त एसएमएस पठाउँछ ।
चर्को अवाज पनि निकाल्छ । जसले गर्दा स्थानीयवासीले समयमै सजकता अपनाउन पाउँनेछन् ।’ अर्ली वार्निङ्ग सिस्टमको सेन्सर निकुञ्ज प्रमख , निकुञ्जका कर्मचारी, निकुञ्जको सुरक्षाका लागि खटिएको सेना, हात्तीसारका कर्मचारी र स्थानीयवासीको मोवाइलमा लिंग गरिएको छ ।
सिस्टमले एसएमएस पठाउना साथ निकुञ्जका कर्मचारी र सेना तत्काल घटना स्थल पुगेर हात्ती धपाउने कार्यका संलग्न हुन्छन् । हात्ती गाउँ पस्ने बाटो स्थान पहिचान लागि सेन्सर जडान गरिएको छ । उक्त प्रविधिको परीक्षण पहिलो पटक खाता जैविकमार्ग अन्र्तगत सुर्यपटुवा–१ को पथ्थरबोझी गाउँमा सुरु गरीएको छ ।









प्रतिक्रिया दिनुहोस्