सिरहा ।
सीमावर्ती क्षेत्रका नागरिकहरू किनमेलका लागि भारतीय बजारमा निर्भर हुँदा नेपाली व्यवसाय धराशायी बन्दै गएको उल्लेख गर्दै सिरहाका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज लहानमा आयोजना गरेको ‘नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको स्वागत तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरूले आफ्ना समस्या राख्दै सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले रु १०० भन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने नीतिको स्वागत गर्दै व्यवसायीहरूले यसलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन् । सङ्घका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ताले विना भन्सारका सामान आयातमा पूर्ण रोक लगाउनुपर्ने र भन्सार दर घटाएर नेपाल–भारतबिचको सामानको मूल्यमा रहेको अन्तरलाई कम गर्न (मूल्य समायोजन) जोड दिए ।
सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशङ्कर यादवले सरकारले खुला र उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले भने, “आर्थिक अभाव भएका विपन्न समुदाय घरायसी प्रयोजनका लागि भारतीय बजारमा निर्भर भए पनि खुला सीमाको फाइदा उठाएर हुने अवैध निकासी र तस्करी विरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको छ ।”









प्रतिक्रिया दिनुहोस्