भेरी अञ्चल अस्पताले औषधी तथा जाँचको लागि लैजाने दलाल विरुद्ध थाल्यो अभियान



नेपालगन्ज १७ माघ,/नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउने विरामीलाई सजिलै जाँच गराईदिने भन्दै अनावश्यक सताउने तथा ‘फलानो मेडिकल’बाट औषधी लिनु भन्नेहरु माथि निगरानी गर्न सु्रु गरिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुप्ररीटेण्डेन्ट डा. कृष्ण आचार्यले अस्पताल बाहिर सञ्चालनमा आएका सबै जसो मेडिकल तथा ल्यावबाट अस्पतालको ओपिडि, लेवररुम, तथा ईमरजेन्सी मै आफ्ना एजेन्ट पठाई सस्तो र सजिलो सेवा दिने भन्दै विरामी ठग्ने प्रबृत्ति बढेकोले अस्पताल प्रशाशनले त्यसका विरुद्ध अभियान सुरु गरेको जिानकारी दिए ।
उनले भने–‘अस्पताल भित्रै फार्मेसी, ल्याब, एक्सरे, अल्ट्रसाउण्ड तथा अन्य सेवाहरु गुणस्तरीय र भर पर्दो सेवा भए पनि उपचारको लागि आउने विरामीलाई ठग्ने तथा उनीहरुलाई बढी आर्थिक भारमा पार्ने उद्देश्यले सक्रिय गिरोहको बिरुद्ध अभियान सञ्चालन गरिएको छ ।’ उनले त्यस्तो कार्यमा सक्रिय रहेका एजेन्टलाई पहिलो पटक चेतावनी दिएर छाडिएको र फेरी पनि त्यस्तो कार्य दोहरीए कानूनी कारवाही गरिने बताए ।
उनले सो कार्यमा अस्पतालका चिकित्सक तथा कर्मचारी संलग्न भएको जन गुनासो समेत आएकोले उनीहरु माथि पनि निगरानी राखिएको बताए । उनले भने–‘गुणस्तरीय सेवा दिने प्रणका साथ हामीहरु यस क्षेत्रकै सबै भन्दा पुरानो अस्पताललाई जोगाउनका लागि प्रयासरत छौ सबैको सहयोग आवश्यक विना संम्भव पनि नभएकोले सबैको साथ र सुझावले हामी अगाडि बढ्ने छौ ।’
अस्पतालमा आउने असाहे तथा अशक्त र जेष्ठ नागरिक विरामीका लागि सामाजिक सुरक्षा ईकाई मार्फत दिईने सुविधालाई समेत त्यस्ता एजेन्टले आफुले गराईदिएको भन्दै विरामी र उनका आफन्तबाट अनुचित लाभ लिने मेडिकलका एजेन्टहरु पुनः सोही कार्यमा लागेको पाए उनीहरु उपर कानूनी कारवाही अघि बढाउने अस्पताल प्रशाशनले जनाएको छ ।
यसैबीच बुधबार अस्पतालका मेसु डा. आचार्य, नर्सिङ्ग प्रशाशक दुर्गालक्ष्मी श्रेष्ठ, उर्मिला पराजुली, समाजिक सुरक्षा ईकाई प्रमुख शिला शर्मा, अस्पताल विकास कर्मचारी युनियनका अर्जुन जंग शाहलगायतको टोलीले नेपाल प्रहरीको सहयोगमा अस्पताल परिसरमा विरामीलाई हात समातेर उनीहरुको जाँच गरेको पर्चा लिएर अस्पताल बाहिरको ल्याव तथा मेडिकलमा लैजान लागेको अवस्थामा एक जना महिलालाई नियन्त्रणमा लिएर चेतावनी दिएर छाडेको छ । सदरलाइनडटकम

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार