राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै आन्दोलनको चेतावनी



काठमाडौं,१२ माघ/  नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रसम्बद्ध मुसलमान भ्रातृसंगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी ‘थ्रेसहोल्ड’ ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकारमा सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनःविचार नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

थ्रेसहोल्डका कारण गत निर्वाचनमा मुसलमान समुदायका प्रतिनिधि निर्वाचित हुन नसकेको र राष्ट्रियसभामा पनि कुनैपनि राजनीतिक दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार नउठाएका कारण उनीहरुको प्रतिनिधित्व राष्ट्रियसभामा शून्य हुने अवस्था आएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले ‘देशको कुल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वबिना राष्ट्रियसभाको कल्पना गर्न सकिँदैन’ भन्दै यसमा ठूला तीन राजनीतिक दलले पुनःविचार गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा मुस्लिम मुक्तिमोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलले कुल्चने काम गरेको आरोप लगाए ।

मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रियसभामा मुसलमानको प्रतिनिधित्व नगरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रबार