दोस्रो बाँसगढी महोत्सव आजदेखि शुरु



बाँसगढी,१२ माघ/  बाँसगढीमा आजबाट दोस्रो बाँसगढी महोत्सव शुरु हुँदै छ । सो महोत्सवको उद्घाटन सिंचाइँ मन्त्री संजय गौतमले गर्ने आयोजकले बताएका छन् ।

बाँसगढीमा सञ्चालन हुने दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया महोत्सवको तयारी पुरा भएको छ । माघ १२ गते शुक्रबार देखि शुरु हुने महोत्सवको स्टल बुकिङ, मञ्च निर्माण, मेला स्थल व्यवस्थापन, अतिथि आमन्त्रण, कलाकार बुकिङ लगायतका सबै काम पुरा भएको मेला सञ्चालन मुल समिति संयोजक कटक बिसिले बताए ।

बिहान ११ बजे सिचाई मन्त्री संजय कुमार गौतमले उद्घाटन गर्ने मेलाको उद्घाटन कार्यक्रममा बर्दिया जिल्लाका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहने अतिथि सत्कार उपसमिति संयोजक पुष्पराज बरालले बताए ।

२२ गते सम्म सञ्चालन हुने मेला अवलोकनको लागि सबै ठाँउमा प्रचार प्रसारलाई उतिकै तिव्र पारिएको प्रचार प्रसार उपसमिति संयोजक शंकर शर्माले बताए ।

मेलामा सुचना प्रविधि, कृषि उपज, जडीबुटी, शैक्षिक प्रर्दशनी, पर्यटन, हस्तकला, उद्यु उद्योग, सेवा मुलक संघ संस्था, बैंक वित्तिय तथा सहकारी संस्था, होटल रेष्टुरेन्ट, मौलिक कला संस्कृति, थारु गाँउ लगायत गरी २ सय ५० स्टल रहने मेला व्यवस्थापक निर्मल आचार्यले बताए ।

१२ गते उद्घाटनको दिन प्रवेशको लागि टिकट नलाग्ने र अन्य दिनहरुमा ५० रुपैया टिकटको व्यवस्था गरिएको र विद्यार्थी, अपांग, वृद्धवृद्धाहरुको परिचय पत्रको आधारमा १५ प्रतिशत छुटको व्यवस्था रहेको मेला व्यवस्थापक रुद्र प्रसाद खनालले जानकारी दिए ।

बर्दियाको पर्यटन, कला संस्कृतिको प्रचार प्रसार, स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रर्दशनी सँगै बाँसगढी उद्योग वाणिज्य संघको सभा हल सहितको भवन निर्माणको उदेश्य सहित महोत्सवको सञ्चालन गरिएको हो । बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालिकोको आयोजना र उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ को सहआयोजनामा सञ्चालन हुने महोत्सवको करिब २ लाखले अवलोकन गर्ने र रु ४ लाख बढी कारोबार गर्ने लक्ष्य रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १२ गते शुक्रबार