भीम रावत : कोहलपुर,९ माघ/ यही माघ १७, १८ र १९ गते चितवनमा हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा लोकतान्त्रिक समावेशी समूहको अध्यक्षसहितको नेतृत्व व्यवसायीहरुसँग भोट माग्न कोहलपुर आइपुगेको छ ।
कोहलपुरमा सोमबार सम्पन्न भएको प्रदेश नम्बर ६ र ७ का यातायात व्यवसायीहरुको भेलालाई लोकतान्त्रिक समावेशी समूहको नेतृत्वले राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी तथा महाधिवेशनमा आफ्नो समूहलाई विजयी गराउन बनाइएका योजनाहरुको बारेमा समेत छलफल गरेको सो समूहका महासचिवका उम्मेदवार पुण्य प्रसाद (सरोज) सिटौलाले बताए ।
यातायात व्यवसायीहरुको सो भेलालाई सम्वोधन गर्न प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं यातायात फ्याक्सनका संयोजक लेखराज भट्ट पुगेका थिए ।
भट्टले भेलालाई सम्वोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टिमले तत्काल आफ्ना सबै उम्मेदवारहरुको नामावली घोषणा गरी अगाडि बढ्नु पर्ने बताउँदै यातायात व्यवसायीहरुको राष्ट्रिय महाधिवेशनबाट यातायात क्षेत्रमा रहेका नीतिगत र व्यवहारिक समस्याका बारेमा स्पष्ट नीति र योजना बनाएर अघि बढ्नु पर्ने सुझाव दिए ।
भट्टले भने–‘नेपालमा अब वामपन्थीहरुको स्थिर सरकार बन्ने र यसले यातायात क्षेत्रका समस्याहरुलाई राम्रोसँग सम्वोधन गर्नेछ, उनले थपे–समस्याको पहिचान नभई त्यसको समाधान खोज्न सकिदैन, त्यसैले तपाइँहरुको महाधिवेशनबाट आफ्नो व्यवसाय समस्याको बारेमा स्पष्ट भई आउनुहोला ।’
त्यस्तै सो समूहका नेता युवा यातायात व्यवसायी, वर्तमान कार्यवाहक अध्यक्ष समेत रहेका डोलनाथ खनालले आफूले एक दशकदेखि यातायात क्षेत्रको समस्यालाई नजिकबाट पहिचान गर्ने अवसर पाएको र अब नेतृत्व गरेर ती समस्याहरुलाई नीतिगत तथा व्यवहारिक रुपमा समाधान गर्न सक्ने ठाउँसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
उनले थपे–‘त्यसको निम्ति तपाइँ व्यवसायी मित्रहरुले म लगायत मेरो नेतृत्वमा रहेको पुरै टिमलाई भोट दिएर विजयी गराउनुहोला ।’कोहलपुरको कोहलपुर पार्टी प्यालेसमा सम्पन्न भएको ६ र ७ नम्बर प्रदेशको भेलालाई डोलनाथ खनाल नेतृत्वको लोकतान्त्रिक समावेशी समूहका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारद्वय दिपक अधिकारी र भरत तिमिल्सीना, उपाध्यक्षका उम्मेदवार मिन बहादुर मानन्धर, महासचिव पदका उम्मेदवार पुण्य प्रसाद (सरोज) सिटौला, उप–महासचिव पदका उम्मेदवार डेकनाथ गौतम, लगायतले आफ्नो समूहलाई विजयी गराउन व्यवसायीहरुसँग आग्रह गरेका थिए ।
भेलामा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, एमाले बाँके अध्यक्ष अशोक कोइराला लगायतले वाम गठबन्धनसहितको लोकतान्त्रिक समावेशी समूहलाई महाधिवेशनबाट विजयीको शुभकामना समेत दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्