यातायात महासंघको दुई प्रदेशको भेला आज कोहलपुरमा हुने



भीम रावत : कोहलपुर,७ माघ/  यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको यही माघ १७, १८ र १९ गते चितवनमा हुने पाँचौं राष्ट्रिय महाधिवेशनको तयारीकै क्रममा भोलि बाँकेको कोहलपुरमा प्रदेश नम्बर ६ र ७ का यातायात व्यवसायीहरुको भेला हुने भएको छ ।

भोलि दिउँसो १ बजे कोहलपुरको कोहलपुर पार्टी प्यालेसमा हुने भेलालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं सांसद लेखराज भट्टले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकीकरणको प्रक्रिया समेत अगाडि बढिरहेको बेला यी दुबै पार्टीसँग आस्था राख्ने यातायात व्यवसायी संगठनहरु लोकतान्त्रिक यातायात व्यवसायी संघ र गणतान्त्रिक यातायात व्यवसायी संगठनबीच पनि तालमेल गरी समावेशी लोकतान्त्रिक प्यानल बनाई महाधिवेशनमा प्रतिस्पर्धा गर्ने महासंघका भेरी अञ्चल संयोजक टंक बस्यालले बताए ।

हालका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा समावेशी प्यानल महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र यो प्यानलको जित सुनिश्चित रहेको समेत बस्यालले दावी गरे ।

सो प्यानलले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, केही उपाध्यक्ष, महासचिव लगायत १३ जनाको नामावली घोषणा गरिसकेको छ भने बाँकी रहेका पदाधिकारी र सदस्यहरुको नामावली यही माघ १० गते घोषणा गर्ने समेत जानकारी दिएको छ । भोलि हुने भेलाको लागि महासंघको केन्द्रीय टिम कोहलपुर आइसकेको बस्यालले बताए ।

आइतबार नै महासंघको ५ नम्बरको भेला एमालेका स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेशका भावी मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ७ गते आइतबार