हिउँ चितुवा र नाउर संरक्षण गर्न चरन क्षेत्रको अध्ययन



मुस्ताङ ।

जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तर घट्न थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि अध्ययन थालिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का जोमसोम र लोमान्थाङ कार्यालयले चरन क्षेत्रको अवस्था अध्ययन गर्नुका साथै घाँसका नमूना संकलन गरिरहेका छन् ।

एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका चार क्षेत्रमा अध्ययन भइरहेको छ ।
तल्लो मुस्ताङमा क्यामेरा जडान गरिएका एक र उपल्लो मुस्ताङमा तीन क्षेत्रमा चरन तथा घाँसको अध्ययन भइरहेको उनले जानकारी दिए । संकलित नमूनाबाट चरन क्षेत्रको अवस्था, घाँसका प्रजाति र विविधता, जैविक पदार्थको मात्रा तथा पोषण तत्त्व मापन गरिनेछ ।

तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा १० वर्गमिटरका खण्ड बनाएर प्रत्येकभित्र एक वर्गमिटरका उपखण्ड निर्धारण गरी नमूना संकलन भइरहेको छ । वारागुङ मुक्तिक्षेत्रमा १५ र घरपझोङमा ९ गरी २४ वटा खण्ड तथा तिनका ४८ उपखण्डबाट नाउरले खाने घाँसको नमूना लिइँदै छ । वारागुङ मुक्तिक्षेत्रका साङ्ता, फल्याक, लुप्रा, मुक्तिनाथ, कागबेनी र झोङलगायत उच्चलेकका चरन क्षेत्रबाट नमूना सङ्कलन भइरहेको थकालीले बताए ।

क्यामेरा जडान गरिएका क्षेत्रमा एउटा खण्डदेखि अर्को खण्डसम्म कम्तीमा ५०० मिटर दूरी कायम गरेर नमूना लिइएको उनले जानकारी दिए । त्यसैगरी, उपल्लो मुस्ताङमा एक्याप लोमान्थाङले क्यामेरा जडान गरिएका तीन क्षेत्रमा चरन तथा घाँसको गुणस्तर मापन गरिरहेको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १५० वटा खण्डबाट नमूना सङ्कलन भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए ।

हिउँ चितुवाको अध्ययनका लागि निर्धारण गरिएका तीन क्षेत्रमा पाँच वर्गकिलोमिटरको जाली संरचनाभित्र पर्ने चरन क्षेत्र समेटेर नमूना लिइएको छ । घाँसले ओगटेको क्षेत्रका आधारमा प्रत्येक खण्डबाट ४० देखि ५० वटासम्म नमूना सङ्कलन गरिने पौडेलले जानकारी दिए । अध्ययनका क्रममा हरियो र सुकेको घाँसको तौलसमेत मापन गरिनेछ । सङ्कलित नमूना प्रयोगशालामा पठाएर पोषण तत्त्व र गुणस्तर परीक्षण गरिने उनले बताए ।

यसबाट नाउरका लागि उपलब्ध घाँसको मात्रा र गुणस्तर थाहा पाउन तथा चरन क्षेत्र सुधारका उपाय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । हिउँ चितुवाको मुख्य आहारा नाउर हो । त्यसैले नाउरका लागि उपलब्ध आहाराको गुणस्तर र परिमाणले उसको शारीरिक अवस्था, मोटोपन र प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिने पौडेलले बताए । नाउरको सङ्ख्या बढाउन चरन क्षेत्र सुधार र घाँसको गुणस्तर वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण उच्चलेकका पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र साँघुरिँदै जानु र मिचाहा प्रजातिका घाँस फैलिनुजस्ता समस्या देखिएका छन् । यसले नाउरको आहारा र बासस्थानमा असर पारेको छ । गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेका छन् । यसले स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणमा पर्ने जोखिम बढाएको छ ।

यसरी चरन क्षेत्रको अवस्थाले नाउर र हिउँ चितुवाको संरक्षणसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वमा पनि असर पार्न थालेको छ । चरन क्षेत्रमा गुणस्तरीय घाँसको उपलब्धता बढाउनुका साथै चरिचरनलाई व्यवस्थित र सन्तुलित बनाउन सके नाउरको संरक्षणमा सहयोग पुग्नेछ । यसले हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम राख्नसमेत मद्दत गर्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार