सातै प्रदेशमा खटाइए ८३८ विशेषज्ञ चिकित्सक



काठमाडौँ ।

सरकारले ८३८ विशेषज्ञ चिकित्सक सातै प्रदेशमा खटाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडीएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ । विशेषज्ञ चिकित्सकको प्रदेशगत परिचालनसँगै नागरिकले विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २०८ जना विशेषज्ञ चिकित्सक खटाइएको छ । त्यस्तै कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक परिचालन गरिएको छ । परिचालित चिकित्सकमध्ये ५११ जनालाई प्रदेश स्वास्थ्य मन्त्रालयमा पठाइएको छ । संघीय सरकारले प्रदेशमा पठाएका यी चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्ययोजनाका आधारमा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खटाउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चिकित्सक परिचालनपछि एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक उपचार, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका विशेषज्ञ सेवा विस्तार हुनेछन् । विशेषज्ञ चिकित्सकको उपलब्धताले विशेषगरी सुरक्षित प्रसूति सेवा, शल्यक्रिया र आकस्मिक उपचारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

यसबाट विशेषज्ञ स्वास्थ्य सेवाका लागि टाढाका सहर र ठूला अस्पताल पुग्नुपर्ने बाध्यता घट्ने तथा स्थानीयस्तरमै उपचारको पहुँच बढ्ने अपेक्षा गरिएको छ । सरकारले विशेषज्ञ जनशक्तिको प्रदेश तथा स्थानीय तहसम्म विस्तारले स्वास्थ्य सेवामा रहेको भौगोलिक असमानता घटाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउन मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार