रङ्गशालाभित्रै आठ बेडको अस्पताल, ४८ स्वास्थ्यकर्मी परिचालन



सुर्खेत ।

खेलकुद प्रतियोगितामा जित र हारको प्रतिस्पर्धासँगै खेलाडीको स्वास्थ्य सुरक्षा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । मैदानमा हुने सामान्य चोटपटकदेखि आकस्मिक दुर्घटना र गम्भीर स्वास्थ्य समस्याको जोखिमलाई मध्यनजर गर्दै कर्णाली रङ्गशालाभित्रै अस्पतालको व्यवस्था गरिएको हो । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशले प्रतियोगिताका क्रममा खेलाडी, प्रशिक्षक, पाहुना तथा दर्शकलाई पर्न सक्ने स्वास्थ्य समस्याको तत्काल उपचार गर्ने उद्देश्य लिएको छ । वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालाभित्र आठ बेड बराबरको उपचार कक्ष तयार पारिएको हो ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबललगायतका खेल मंगलबारदेखि सञ्चालन भएका छन् । मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका रहे पनि निर्धारित मितिभन्दा आठ दिनअगावै केही खेल सुरु गरिएको हो । त्यसका लागि विभिन्न प्रदेश तथा विभागीय टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टोली कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आइपुगेका छन् ।

आयोजकले प्रतियोगिताको समग्र तयारी पूरा गर्दै स्वास्थ्य व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको जनाएको छ । खेलका क्रममा मैदानमा खेलाडी घाइते हुने, मांसपेशीमा समस्या आउने, लडेर चोटपटक लाग्ने तथा दर्शक र अन्य सहभागीमा आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर रङ्गशालामै उपचारको प्रबन्ध गरिएको हो ।

प्रतियोगिता सञ्चालन हुने मुख्य रङ्गशालाभित्र स्थापना गरिएको आठ बेडको उपचार केन्द्रलाई खेलस्थलमै उपलब्ध हुने स्वास्थ्य सेवाको पहिलो आधार बनाइएको छ । दसौँ राष्ट्रिय खेलकुद स्वास्थ्य व्यवस्थापनका व्यवस्थापक महेन्द्रकुमार थापाका अनुसार प्रतियोगिताका लागि फिजियोथेरापिस्टसहित ४८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्यकर्मीको टोली मैदानदेखि प्रतियोगिता सञ्चालन हुने अन्य जिल्लाका खेलस्थलसम्म खटाइएको छ । ‘विशेषगरी खेलाडीहरू घाइते हुन सक्ने भएकाले मैदानस्थलमै आठ बेड बराबरको उपचार व्यवस्था गरिएको छ,’ उनले भने, ‘सामान्य चोटपटकदेखि तत्काल उपचार गर्नुपर्ने अवस्थासम्म यहीँबाट सेवा दिन्छौँ ।’

उनका अनुसार खेलस्थलमै उपचारको व्यवस्था भए पनि सबै प्रकारका स्वास्थ्य समस्या र दुर्घटनाको उपचार रङ्गशालाभित्रै सम्भव नहुन सक्छ । त्यसैले गम्भीर प्रकृतिका बिरामी तथा घाइतेलाई तत्काल प्रदेश अस्पताल पु¥याउन छुट्टै व्यवस्थापन गरिएको छ । प्रतियोगिताका क्रममा कुनै ठूलो दुर्घटना वा आकस्मिक स्वास्थ्य संकट उत्पन्न भए त्यसको व्यवस्थापन गर्न वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा करिब १०० बेड बराबरको आपत्कालीन उपचार व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

‘रङ्गशालाभित्रको उपचार केन्द्रले प्रारम्भिक उपचार र तत्काल स्वास्थ्य सेवा प्रदान गर्नेछ भने गम्भीर अवस्थाका बिरामीलाई प्रदेश अस्पतालमा पठाइनेछ,’ उनले थपे, ‘सम्भावित ठूलो दुर्घटना अर्थात् डिजास्टरको अवस्था सिर्जना भए निजी अस्पतालसँग समेत समन्वय गरेर उपचार सेवा विस्तार गर्ने योजना बनाइएको छ ।’ यस्तो व्यवस्थापन प्रभावकारी बनाउन अस्पतालसम्मको यातायात, स्वास्थ्यकर्मीको तत्काल उपलब्धता र विभिन्न निकायबीचको समन्वय प्रभावकारी बनाइएको छ । स्वास्थ्य व्यवस्थापनअन्तर्गत १० जना चिकित्सकको टोलीसमेत तयार गरिएको छ ।

मुख्य प्रादेशिक रङ्गशालामा मात्रै ६ जना फिजियोथेरापिस्टसहित स्टाफ नर्स र प्यारामेडिक्स गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । खेलकुदमा विशेषगरी फुटबल, एथलेटिक्सलगायतका प्रतिस्पर्धामा मांसपेशी तन्किने, जोर्नीमा चोट लाग्ने, लडेर घाइते हुने र शारीरिक थकानका कारण स्वास्थ्य समस्या देखिने सम्भावना रहन्छ । यस्ता अवस्थालाई ध्यानमा राखेर रङ्गशालामा फिजियोथेरापी सेवाका लागि चारवटा बेडसमेत तयारी अवस्थामा राखिएको हो । स्वास्थ्य टोलीमा कर्णाली प्रदेश अस्पतालका चिकित्सक, जिल्लाका अन्य चिकित्सक तथा स्थानीय तहका मेडिकल कर्मचारी, प्यारामेडिक्स र नर्सिङ जनशक्ति समावेश छन् ।

यसले प्रतियोगिताको अवधिभर खेलाडीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने आयोजकको विश्वास छ । थापाका अनुसार उपचारका लागि आवश्यक बेड व्यवस्थापन भइसकेको छ भने औषधि तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने क्रम जारी छ । घाइतेलाई तत्काल उपचार कक्षसम्म पु¥याउन स्ट्रेचरको व्यवस्था गरिएको छ । त्यसैगरी बिरामी तथा घाइतेलाई अस्पतालसम्म लैजान छवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेल वीरेन्द्रनगरमा मात्रै सीमित छैनन् ।

कर्णाली प्रदेशका अन्य पाँच जिल्लाका साथै बाँके र बर्दियामा समेत विभिन्न खेल सञ्चालन गर्ने तयारी छ । खेलस्थलहरू फरक–फरक जिल्लामा रहेकाले स्वास्थ्य सेवा व्यवस्थापन आयोजकका लागि थप चुनौतीपूर्ण बनेको छ । यसलाई ध्यानमा राख्दै प्रतियोगिता हुने सबै जिल्लामा स्थानीय स्वास्थ्य जनशक्तिलाई परिचालन गरिएको छ ।
सम्बन्धित जिल्लाका चिकित्सक, प्यारामेडिक्स र स्वास्थ्यकर्मीलाई त्यहीँका खेलस्थलमा खटाइएको स्वास्थ्य व्यवस्थापन पक्षले जनाएको छ । सबै खेलस्थलमा गरी चिकित्सकसहित ४८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार