पुस २१ देखि सुदूरपश्चिम खप्तड गोल्डकप



सुदूरपश्चिम ।

सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘सुदूरपश्चिम खप्तड गोल्डकप–२०८३’को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । सुदूरपश्चिम–११ स्पोट्र्स क्लब धनगढीले धनगढी रंगशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागेको हो ।
क्लबका महासचिव प्रकाश शाहीले फुटबल खेलको विकास र विस्तारसँगै सुदूरपश्चिम प्रदेशको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनका अनुसार सुदूरपश्चिममा फुटबलको विकासमा निरन्तर योगदान पु¥याउँदै आएको क्लबले २०७३ सालदेखि खप्तड गोल्डकप आयोजना गर्दै आएको छ ।

यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य राखिएको छ । प्रतियोगितामार्फत सुदूरपश्चिमका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने, युवामा फुटबलप्रतिको आकर्षण बढाउने, खेल पर्यटनको विकास गर्ने तथा सुदूरपश्चिमको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्य रहेको महासचिव शाहीले बताए । प्रतियोगिताको विजेताले २१ लाख रूपैयाँँ र उपविजेताले ११ लाख रूपैयाँँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रूपैयाँँ तथा ‘म्यान अफ द म्याच’लाई १० हजार रूपैयाँँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तियोगितामा खेलाडी तथा पदाधिकारीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ । प्रतियोगिता सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, खेलप्रेमी, खेलकुदसम्बन्धी संघसंस्था तथा आम नागरिकको सहयोग आवश्यक रहेको क्लबका अध्यक्ष योगेन्द्र चन्दले बताए । प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीसहित १० वटासम्म टोली सहभागी हुने जनाइएको छ । धनगढी रंगशालामा आयोजना हुने प्रतियोगिताले सुदूरपश्चिममा फुटबलको माहोल थप तताउने आयोजकको विश्वास छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ८ गते सोमबार