
बाजुरा ।
बाजुराका भेडापालकलाई चरिचरनका लागि समस्या हुने गरेको छ । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दालगायतका अधिकांश किसानले लामो समयदेखि भेडापालन गर्दै आएका छन् । पछिल्लो समय यहाँका अधिकांश वन सामुदायिक वनमा परिणत हुन थालेपछि उनीहरूलाई भेडाबाख्रा चराउन समस्या हुने गरेको हो ।
यसअघि स्थानीयले चरनका लागि त्रिवेणी, खप्तड छेडेदह, बुढीगङ्गाको बदेडा, तिमाडा र अछामको साँफे बगर, बाब्ला, तुका बलेल्त र डोटीको चौखुट्टेलगायतका स्थानमा लाने गर्थे । कतीपय भेडाबाख्रापालकले सामुदायिक वनलाई तिरो तिरेर मात्र भेडा वनमा चराउने गरेका छन् । पहिले गाउँ गाउँमा नुन चामल लिएर बिक्री गर्ने र त्यसैबाट कमाइ भएको पैसा वनलाई दिने गर्थे । अहिले गाउँमा सडक पुगेसँगै गाडीले नुन, तेल र चामल बोक्ने काम गर्छ र कमाइ बन्द भएको स्थानीयको गुनासो छ ।
बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा छन् । जसमा हिमाली १३८ भेडीगोठका छ हजार, स्वामीकार्तिकमा ११५ भेडीगोठका आठ हजार, जगन्नाथको १२० भेडीगोठका सात हजार २९ र बुढीनन्दाका तीन सय भेडीगोठमा झन्डै २० हजारभन्दा बढी भेडाबाख्रा रहेको बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताए ।
उनका अनुसार अहिले उनीहरूले राष्ट्रिय वनमा सहज रूपमा चराउन पाएका छन् तर सामुदायिक वनमा भने तिरो तिरेर नै चराउने गरेका छन् । यहाँ ३२७ सामुदायिक, १६९ कबुलियत चार धार्मिक र ११ वटा निजी वन रहेको डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी सुभाष ऐडीले बताए । ‘यहाँ ९८ हजार ६५३.४८ हेक्टर जमिन वनले ओगटेको छ,’ उनले भने । त्यसमा ७४ हजार ८३५.४४ राष्ट्रिय २१ हजार ६७२.९२ सामुदायिक दुई हजार ११२.७३ कबुलियत र ३२.३९ धार्मिक वनको क्षेत्रफल रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी ऐडीले बताए ।









प्रतिक्रिया दिनुहोस्