१२ वर्षमा हात्तीले लियो १७ जनाको ज्यान



कञ्चनपुर ।

कञ्चनपुरमा पछिल्ला वर्षमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । मानव बस्ती विस्तारसँगै वन्यजन्तुका वासस्थान र हिँड्डुल गर्ने (करिडोर) नासिँदै गएपछि मानिसमाथि आक्रमण गर्नेदेखि अन्नबाली भौतिक संरचनामा समेत क्षति पुगेको छ । एक दशकअघि छिटफुट मात्रै हुने गरेका यस्ता घटना अहिले हरेक वर्ष बढेका छन् ।
कञ्चनपुरमा जंगली हात्तीले मानिसमाथि आक्रमणका साथै बस्ती, अन्नबाली, भौतिक संरचनामाथि समेत क्षति पु¥याउँदै आएको छ । २०७१ असोजदेखि २०८३ कात्तिकसम्म कञ्चनपुरमा हात्तीको आक्रमणमा परी १७ जनाले ज्यान गुमाएका छन् । २३ जना घाइते भएका छन् । भौतिक संरचना र अन्नबाली क्षतिको वास्तविक विवरण प्राप्त हुन सकेको छैन् ।

भारतीय दुधुवा नेसनल पार्कबाट अन्नबाली सिजनका वेला (कञ्चनपुर) प्रवेश गर्ने हात्तीको बथानले ताण्डव मच्चाउँदै आएका छन् । हात्तीको समूहले पुनर्वासका गाउँबस्ती, लालझाडी, बेलौरी, बेलडाँडी, कृष्णपुर, शुक्लाफाँटा, वेदकोट, भीमदत्त र दोधारा–चाँदनीसम्मै वितण्डा मच्चाउँदै आएको छ । ११ असोज २०७१ मा भारतको दुधुवा नेसनल पार्कबाट आएको हात्तीको बथान पुनर्वासको विकास बस्तीमा पसेको थियो । हात्तीको बथान धपाउने क्रममा पुनर्वास नगरपालिका– १० का अन्दाजी ४९ वर्षीय गर्भुराम चौधरीले ज्यान गुमाए ।

२९ असोज २०७३ मा लालझाडी गाउँपालिका– ६, चाँदेवबाट श्रीमान्सँग साइकलमा जाने क्रममा हात्तीको आक्रमण परेर बेलौरी नगरपालिका– ५, रामघाटकी ३५ वर्षीया सुन्दरी चौधरीले ज्यान गुमाइन् । आशाराम चौधरीले भागेर ज्यान जोगाए । २१ माघ २०७३ मा पुनर्वास नगरपालिका– ९, बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको हात्तीको आक्रमणबाट मृत्यु भयो । २९ असोज २०७६ मा शुक्लाफाँटा नगरपालिका– १, बन्साहका ६५ वर्षीय बलदेव बोहराको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो । घरायसी कामले साइकल चढेर अर्को गाउँ जाने क्रममा उनी हात्तीको सिकार बन्न पुगे । २५ मंसिर २०७६ मा दोधारा–चाँदनी नगरपालिका– २ का ६ जना महिलामाथि हात्तीले आक्रमण ग¥यो ।

दोधारा–चाँदनी– २, चाँदनीका ४२ वर्षीया बिस्ना भट्ट (वसन्ती) र ५० वर्षीया भुरी बोहराले ज्यान गुमाए । चाँदनीकै २४ वर्षीया सुनिला विष्ट, २३ वर्षीया सरस्वती ओझा, ३३ वर्षीया कुमादेवी साउद र ३५ वर्षीया ललिता बोहरा घाइते भए । १३ फागुन २०७७ मा पुनर्वास नगरपालिका– ९ की ६२ वर्षीया धनादेवी थापाको भारतीय दुधुवा नेसनल पार्कमा हात्तीको आक्रमणबाट ज्यान गयो । ३ कात्तिक २०७८ मा शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी दुबाहखल्लाका ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५५ वर्षीया मथुरा कार्कीको हात्तीको आक्रमणमा परी ज्यान गयो । यस्तै, २५ मंसिर २०७८ मा लालझाडी गाउँपालिका– ६, चाँदेवका ४८ वर्षीय खगराज रानाको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो ।

रानाले ज्यान गुमाएको एक वर्ष नपुग्दै शुक्लाफाँटा नगरपालिका– ७, सिमलफाँटाकी २२ वर्षीया मिरा जोशीको हात्तीको आक्रमणमा परी मृत्यु भयो । जोशीले ज्यान गुमाएको तीन महिनामै २० मंसिर ०७९ मा वेदकोट नगरपालिका– १, हात्तीथलाकी ७१ वर्षीया हिरादेवी धानुक पनि हात्तीको आक्रमणको सिकार बनिन् । २१ असोज २०८१ मा बेलौरी नगरपालिका– ६, ढक्का चाँदरका २२ वर्षीय उमेश चौधरीले ज्यान गुमाए । २ कात्तिक २०८२ मा ढक्का शिविर जान लागेको अवस्थामा बेलौरी नगरपालिका– ३, बुटाबारीका ६५ वर्षीय श्रीप्रसाद आचार्यको हात्तीको आक्रमणमा परी मृत्यु भयो । आचार्यले ज्यान गुमाएको साता दुई साता नबित्दै ९ कात्तिक २०८२ मा भीमदत्त नगरपालिका– १४, वनकट्टीकी ५४ वर्षीया धना विष्टले समेत हात्तीको आक्रमणमा परेर घरमै ज्यान गुमाइन् ।

२५ माघ २०८२ मा आरक्षपीडित लालझाडी गाउँपालिका– ६, ढक्का चाँदेवकी रोजिना साउदले हात्तीको आक्रमणमा परेर ज्यान गुमाइन् । २५ कात्तिक २०८३ मा शुक्लाफाँटा नगरपालिका– १, तारापुरकी ६० वर्षीया आरक्षपीडित लक्ष्मी डगौराले पनि हात्तीको आक्रमणमा परेर ज्यान गुमाएकी छिन् । हात्तीको आक्रमणबाट महावीर क्षेत्री, सुनिता विष्ट, सरस्वती ओझा, कुमादेवी सायद, ललिता बोहरा, जानकी धामी, दुर्गा महरा, सीताराम डगौरा, डम्बरसिंह लुहार, प्रकाशसिंह महता, मानबहादुर कुँवर, राधादेवी बोगटी, ललु सार्की, भागरथीदेवी भट्ट, ज्ञानेन्द्र धानुक, कलावती भाट, जितबहादुर भाट, रत्ना सार्की, लक्ष्मीदेवी जोशी, बाजी राना, जयन्ती भट्ट जोशी, छक्कु डगौरा, पार्वती साउद घाइते भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ३ गते बुधबार