बडिकेदार धाम यात्रामा उपमहानगरको विभेद



शेरबहादुर ऐर । कैलाली ।

धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्र्तगत सहभागीहरूलाई उपलब्ध बजेटको सीमाभित्र रही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, यही मंसिर ५ गतेदेखि सुरु हुन लागेको बडिकेदार धाम जान इच्छुक सहभागीहरू सो व्यवस्थाबाट वञ्चित हुनुपर्ने देखिएको छ । धनगढी उपमहानगरपालिकाले मंगलबार आफ्नो बेवसाइटमा एक सूचना जारी गर्दै बडिकेदार धाम जान इच्छुक तिर्थालुलाई आवेदन दिन भनेको छ ।

सोही सूचनामा भनिएको छ– ‘तिर्थालुका लागि आउनेजाने यातायातको व्यवस्था उपमहानगरपालिकाले गर्ने छ भने अन्य सम्पूर्ण जिम्मेवारी सम्बन्धित तिर्थालुको हुने छ ।’ उक्त सूचना र आफैँले जारी गरेको कार्यविधिमा गरिएको व्यवस्थाविपरीत देखिन्छ । धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षदेखि ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सञ्चालन गरेको हो । सोहीबमोजिम असार ७ मा बसेको नगरसभाबाट कार्यविधि पारित गरेको थियो ।

उक्त कार्यविधिमा सहभागिलाई उपलब्ध गराइने सुविधासम्बन्धी व्यवस्था रहेको छ । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानका सहभागीहरूलाई उपलब्ध बजेटको सीमाभित्र रही सुविधा उपलब्ध गराइने उल्लेख छ । सो कार्यविधिअनुसार यातायातको सुविधा, भ्रमणस्थलमा खाना तथा खाजा, आवासका लागि कार्यालयमा उपलब्ध टेन्ट र स्लीपिङ ब्यागको व्यवस्था गर्ने, भ्रमण क्षेत्रमा आवासको सुविधा उपलब्ध भएका आवास कार्यालयले कार्यक्रममा स्वीकृत भएबमोजिम आवास खर्च गरेर सहभागीहरूलाई आवास सुविधा उपलब्ध गराउने उल्लेख छ ।

तर, अभियान नाम दिइएको बडिकेदार जान इच्छुकहरूलाई उक्त सुुविधा नदिने सूचनामै उल्लेख रहेको छ । यही वैशाख २० गते धनगढी नगरप्रमुख गोपाल हमाल नेतृत्वको टोलीले दार्चुलाको अपि बेस क्याम्प पुुगेर अभियानको प्रारम्भ गरेका थिए । सोही अभियानअन्र्तगत उनको नेतृत्वको टोली बाजुुरा, अछाम लगायतका धार्मिक तथा पर्यटकिय स्थलमा भ्रमण गरेको थियो । सोहीबमोजिम कार्यविधिले व्यवस्था गरेका सुविधाहरू टोलीमा रहेका व्यक्तिहरूलाई उपलब्ध गराइएको थियो ।

उक्त टोलीमा धनगढी उपमहानगरपालिका जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायी, उद्योगी, सञ्चारकर्मीलगायत रहेका थिए । उपमहानगरपालिकाले उक्त भ्रमणमा के कति खर्च भयो र टोलीमा रहेका व्यक्तिहरूलाई अन्य सुविधा उपलब्ध गराएको बारे सार्वजनिक गरिएको छैन । उक्त कार्यविधिमा भनिएको छ –‘कार्यालयको बहालवाला जनप्रतिनिधि र कर्मचारीहरूलाई भ्रमणमा भएवापत उपलब्ध गराइने अन्य सुविधा प्रचलित कानुनबमोजिम हुनेछ ।’

बडिकेदार धाम डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ नाम दिएको यस कार्यक्रममा आफ्नै कार्यविधिलाई लत्याएको देखिन्छ । उक्त कार्यविधिले सहभागी छनौटसम्बन्धी व्यवस्था र छनौट समिति गठन गरेको छ । उक्त कार्यविधिमा सहभागी छनौट गर्दा उपमहानगरपालिकाका बहालवाला जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायी, स्थानीय नागरिक, पत्रकार तथा सञ्चारकर्मी, स्वतन्त्र सामाजिक अभियन्ता, सामाजिक सञ्जालमा सामाग्री निर्माण गर्ने सामाग्री निर्माता, विद्यालय तथा क्याम्पसका शिक्षा एवं विद्यार्थी, कार्यालयले छनौट गरेका अन्य व्यक्तिलाई प्राथमिकता दिइने उल्लेख छ ।

उक्त कार्यविधिले धनगढी नगरप्रमुख गोपाल हमालको संयोजकत्वमा अभियान सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । तर, बडिकेदार धाम जान इच्छुक व्यक्ति धनगढी उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने सूचनामा उल्लेख छ । उपमहानगरपालिकाले दुुई सय तिर्थालुलाई लग्न पाँच वटा बसको व्यवस्था गरेको जनाइएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष अभियानअन्र्तगत २५ लाख बजेट विनियोजन गरेको छ भने अन्य भ्रमण शीर्षकअन्र्तगत पनि बजेट विनियोजन गरेको छ ।

तर, बडिकेदार धाममा जान इच्छुक तिर्थालुलाई यातायातको व्यवस्थामै सीमित गराएर नगरप्रमुख हमालले सस्तो लोकप्रियता देखाउन प्रयास गरेका छन् ।  धनगढी उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरूको सहभागिता हुने भ्रमणमा उपमहानगरपालिकाले उक्त कार्यविधि अनुसारका सुविधा उपलब्ध गराउने तर, आम सर्वसाधारण जाने भ्रमणमा उल्लेख भएको सुविधा उपलब्ध नगराउनुले यसलाई स्पष्ट पारेको छ । भ्रमणका नाममा उपमहानगरपालिकाले मुक्तिनाथबाट सस्तो लोकप्रियताको सुरुवात गरेको थियो ।

नगरप्रमुखमा निर्वाचित भएको पहिलो वर्षमा गोपाल हमालले ज्येष्ठ नागरिकलाई निःशुल्क मुक्तिनाथ भ्रमण सुरु गरेका थिए । सोपश्चात् एकल महिला, भागतजी लगायतलाई मुक्तिनाथ भ्रमण गराउने कार्य गरेको थियो । यही वर्षदेखि हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अभियानअन्र्तगत पर्यटन व्यवसायीहरूको सहभागितामा विभिन्न स्थानमा भ्रमण गराई कार्यविधिले व्यवस्था गरेको सुविधा उपलब्ध गराए पनि तर, बडिकेदार जान इच्छुक तिर्थालुुलाई निःशुल्क यातायात उपलब्ध गराइन लागेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ३ गते बुधबार