वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचारका क्रममा बर्दियाको बढैयाताल गाउँपालिका–७ कि १९ वर्षीया सुत्केरी पवित्रा केसीको मृत्यु भएपछि उत्पन्न विवाद समाधानमा ढिलाइ भएको छ । सात महिनाको गर्भवती अवस्थामा अस्पतालमा ल्याइएकी केसीको तीन दिनपछि अस्पतालमा उपचारकै क्रममा ज्यान गएको थियो ।तत्पश्चात् मृतकका आफन्तहरूले डाक्टरको लापरबाहीले पवित्राको मृत्यु भएको भन्दै विरोध जनाएका थिए ।
उनीहरूले आफूहरूले न्याय नपाएसम्म शव नउठाउने र पवित्राको अपरेशन प्रक्रियाबाट जन्मिएका दुई शिशुलाई पनि नबुझ्ने अडान लिँदै आएका छन् । उक्त अडानपछि पवित्राको शव अस्पतालमै रहेको छ भने शिशुहरूलाई पनि आफन्तहरूले बुझेका छैनन् । यता अस्पताल प्रशासनले पवित्राको मृत्यु लापरबाहीले नभई स्वास्थ्य जटिलताका कारण भएको दाबी गर्दै आएको छ । अस्पतालले बिरामीको उपचारमा अपनाइएको सबै प्रक्रियाबारे विवरण सार्वजनिक गर्दै हरसम्भव प्रयास गरिए पनि बचाउन नसकिएको बताएको छ ।
बिरामीका आफन्तहरूले पवित्रालाई पेटमा दुःखाइ भएपछि अस्पताल ल्याइएको र स्वास्थ्य अवस्था ज्यानै जानेगरी जटिल नरहेको दाबी गर्दै आएका छन् । तर, चिकित्सकहरूले सही उपचार गर्न नसक्दा उनको ज्यान गएको आरोप मृतकका आफन्तहरूको छ । यता अस्पताल प्रशासनले भने अस्पताल ल्याइएपश्चात् गरिएको स्वास्थ्य परीक्षण तथा प्रयोगशाला जाँच रिपोर्टमा पवित्राको स्वास्थ्यमा गम्भीर समस्या देखिएको जनाएको छ ।
अस्पतालका अनुसार अस्पतालमा गरिएको पहिलो रगत परीक्षणमा बिलिरुबिनको मात्रा ८.०० र हेमोग्लोबिन ९.९ देखिएको अस्पतालले जनाएको छ । बिलिरुबिनको कम मात्राले कलेजो राम्ररी काम गर्न नसकेको र हेमोग्लोबिन कम हुनुले रगत पनि सही अवस्थामा नरहेको संकेत गर्छन् । तत्पश्चात् भर्ना गरेर उपचारमा राखिएकी उनमा एकपछि अर्काे स्वास्थ्य जटिलताहरू आएको, अपरेशन गरेर गर्भमा रहेका जुम्ल्याहा बच्चा निकाल्नुपरेको र रक्तश्राव नरोकिएपछि अन्तिम विकल्पको रूपमा पाठेघर नै निकालेर फाल्नुपरेको अस्पतालले जनाएको छ ।
पाठेघर निकालिसक्दा पनि रक्तश्राव नरोकिएको र मुटुका धेरै अंगहरूले काम गर्न छोडेपछि उनको ज्यान गएको अस्पतालको दाबी छ । यद्यपि अस्पतालको दाबीबारे स्वतन्त्ररूपमा छानबिन तथा परीक्षण भने भएको छैन । मृतकका आफन्तहरूले पनि उक्त घटनाबारे छानबिनका लागि हालसम्म कुनै पनि निकायमा जाहेरी दिएका छैनन् । उनीहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेका छन् भने अस्पताल परिसरमा नाराबाजी तथा विरोध प्रदर्शन गर्दै आएका छन् ।
अस्पताल प्रशासनले उनीहरूको विरोधपछि विवादलाई निष्कर्ष दिने भन्दै पटक–पटक छलफल भने गरेको छ । तर, ती कुनै छलफलबाट पनि निष्कर्ष निस्केको छैन ।बिरामीका आफन्तहरूले अस्पताल प्रशासनले उपचारका क्रममा भएको खर्च मिनाहा गर्ने र शिशुहरूको उपचारमा १० प्रतिशत छुट दिने भनेर गल्ती ढाकछोप गर्न खोजेको आरोप लगाइरहेका छन् । यता अस्पताल प्रशासनले बिरामीका आफन्तहरूले चिकित्सकको लापरबाहीको विषयमा छानबिन र कानुनी कारबाहीभन्दा आर्थिक क्षतिपूर्तिको मागलाई प्राथमिकता दिइरहेकोले त्यो अस्पतालले स्वीकार्न नसक्ने बताइरहेको छ ।
अस्पतालका तर्फबाट पीडितसँग वार्ताको नेतृत्व गरिरहेका अस्पतालका प्रबन्धक कुमार अधिकारीले मृतकका आफन्तहरूले प्रहरीको समेत रोहबरमा भएको छलफलमा २५ लाखको मुद्दति बचत, दुई शिशुका नाममा १०–१० लाखको बीमा र कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्था गरिदिनुपर्ने र १८ वर्षसम्म अस्पतालमा निःशुल्क उपचारको माग राखेका जानकारी दिए । तर, अस्पतालले कानुनी प्रक्रिया पालना गर्दै हुने छानबिनबाट आउने निष्कर्षबमोजिमको सबै सजाय भोग्न तयार रहेको तर आर्थिक लेनदेन स्वीकार्न नसक्ने अधिकारीले बताए ।
अस्पतालले गर्न सक्ने सहयोगका विषयमा पनि स्पष्ट कुरा राखे पनि पीडितहरूले त्यसलाई नस्वीकारेको उनले बताए । उनले भने, ‘हामीले कानुनी प्रक्रियामा जानका लागि आफूहरू तयार रहेको तर आर्थिक बार्गेनिङको कुरामा अब छलफल गर्दैनौँ भनेर छलफल टुंग्याएका छौँ । कुनै निष्कर्ष निस्किएको छैन ।’ मृतक पवित्राकी अमाजु सजिता आचार्य भने आमाको मृत्यु अस्पतालकै लापरबाहीले भएको र मृतकबाट जन्मिएका बच्चाहरूको लालनपालनको पनि व्यवस्था गर्नुपर्ने आफूहरूको माग रहेको बताउँछिन् ।
त्यसका लागि अस्पतालसँग आफूहरूले न्यायिक माग गरेको उनले बताइन् । तर, अस्पतालले भने उपचारका लागि लागेको एक लाख ३० हजार रूपैयाँँ मिनाह गर्ने र १८ वर्षसम्म अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट दिने प्रस्ताव गरेको उनको भनाइ छ । उनले आफूहरूको माग सम्बोधन नभएसम्म शव र शिशुहरू नबुझ्ने बरु आन्दोलन जारी राख्ने बताइन् । उनीहरूले आन्दोलनकै लागि काठमाडौँको माइतीघर पुग्ने चेतावनी पनि दिइन् ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ पनि बिरामीका आफन्तहरूलाई आफूले जाहेरी दिएर कानुनी प्रक्रियाबाट न्याय खोज्न आग्रह गरेको बताउँछन् । आफूले दुवै पक्षलाई बोलाएर कानुनी प्रक्रियाको पालना गर्न सुझाव दिएको बताए । ‘कानुनी प्रक्रियामा गएर नै न्याय खोज्नुस् भनेर उहाँहरूलाई सुझाव दिएको हो । तर उहाँहरूले कुनै किसिमको जाहेरी अहिलेसम्म दिनुभएको जानकारी आएको छैन्,’ तामाङले भने । उनले विवाद समाधानमा कानुनी प्रक्रिया नअपनाएर गिजोल्दा चिकित्सकप्रतिको विश्वास र उपचार सेवामै प्रश्न उत्पन्न हुने कुरामा सचेत गराएको पनि बताएका छन् ।
यो समाचार तयार पार्दासम्म प्रहरीले पनि आफन्तहरूले कुनै किसिमको जाहेरी नदिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौले मंगलबार बेलुकी मिसन टुडेसँग कुरा गर्दै आफूहरूले पनि पटक–पटक जाहेरी दिन आग्रह गरे पनि आफन्तहरू भने नाराबाजीमै अल्झिइरहेको बताए । नाराबाजी गरेर अशान्ति उत्पन्न गरेको भन्दै सोमबार केही आफन्तहरूलाई नियन्त्रणमा लिइएको र केहीबेरपछि छोडेको राठौरले बताए । मंगलबार पनि दिनभर भएको विवाद समाधानको प्रयास र जाहेरी दिन लगाउने प्रयास सफल नभएको उनको भनाइ छ । अस्पतालका प्रबन्धक अधिकारी पनि आफूहरूले अब कानुनी प्रक्रियामा हुने छानबिन बाहेक अरु छलफल नगर्ने अडान स्पष्टसँग राखेको बताउँछन् ।
उपचारमा के–के भएको थियो ?
अस्पतालले पवित्राको भर्ना गर्दादेखि मृत्यु घोषणा गर्दासम्म गरिएको उपचार प्रक्रियाको विस्तृत विवरण सार्वजनिक गरेको छ । अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार ३३ हप्ताको गर्भवती पवित्राको उमेर १९ वर्ष मात्रै थियो । उनलाई कात्तिक २६ गते बिहान करिब ११ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । त्यसबेला उनमा ज्वरो, वान्ता, पिसाब गर्दा पोल्ने र चार दिनदेखि तल्लो पेट दुख्ने समस्या थियो ।
त्यसपछि गरिएको प्रयोगशाला जाँचका क्रममा उनको रगतमा बिलिरुबिनको मात्रा ८.०० र हेमोग्लोबिन ९.९ देखिएको थियो । जसले पवित्रामा गर्भावस्थासँग सम्बन्धित कोलेस्टेसिस, एक्युट हेपाटाइटिस, सेप्सिस तथा कलेजोसम्बन्धी परीक्षणका सूचक असामान्य रहेको देखाएको विज्ञप्तिमा उल्लेख छ । त्यसपछि उनलाई मेडिसिन विभागअन्तर्गत राखेर उपचार सुरु गरिएको थियो । तर, कात्तिक २७ गते अपरान्ह करिब ४ बजे तल्लो पेट दुख्ने र पानीको थैली फुटेको जस्तो लक्षण देखिएपछि उनलाई प्रसूति कक्षमा सारियो र परीक्षणपछि बच्चाले पेटमै दिशा गरिसकेको थाहा भयो ।
जसले बच्चालाई अक्सीजनको कमीलगायत अन्य असहजता भइसकेको संकेत गर्छ । त्यसपछि, बिरामीको गम्भीरता र सम्भावित जोखिमबारे परिवारलाई जानकारी गराई सहमति लिएर साँझ ५ः४० बजे सिजेरियन शल्यक्रिया गरिएको विज्ञप्तिमा उल्लेख छ । शल्यक्रियाबाट जुम्ल्याहा शिशुको जन्म भयो । शल्यक्रियापछि निगरानीका लागि पोस्ट अपरेटिभ कक्षमा राखिएकी पवित्राको केही मिनेटपछि साँझ करिब ६ बजे गरिएको परीक्षणमा उनको रक्तचाप ६०÷६० एमएमएचजी रहेको र योनिमार्गबाट करिब ४०० मिलिलिटर रक्तस्राव भएको पाइयो ।
अवस्था खराब भएपछि उनलाई सर्जिकल आईसीयूमा सारिएको र त्यहाँ आवश्यक तरल पदार्थ, रगत तथा रक्तजन्य पदार्थ चढाइएको अस्पतालको भनाइ छ । कात्तिक २७ गते राति तीनपटक रगत चढाइएपनि रक्तश्राव नरोकिएपछि ज्यान जोगाउन पाठेघर निकाल्नुपर्ने चिकित्सकीय अवस्था सिर्जना भएको अस्पतालको भनाइ छ । त्यसबारेमा पनि परिवारलाई विस्तृत परामर्श दिएर सूचित सहमति लिएपछि कात्तिक २८ गते बिहान करिब ६ देखि ७ बजेको बीचमा पाठेघर निकाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) गरिएको विज्ञप्तिमा उल्लेख छ ।
शल्यक्रियापछि पनि बिरामीको रक्तचापमा अपेक्षित सुधार नआएको, रक्तचाप बढाउन विभिन्न औषधि प्रयोग गरिएको, मुटुरोग विशेषज्ञको परामर्शमा इकोकार्डियोग्राफी परीक्षणसमेत गरिएको र परीक्षणका क्रममा मुटुको धड्कन अत्यधिक तीव्र रहेको अस्पतालले उल्लेख गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले निरन्तर उपचार प्रयास गर्दा पनि राति ११ः५० बजेसम्म रक्तचापमा सुधार हुन नसकेको र त्यसपछि मुटुको धड्कन क्रमशः घट्दै गएपछि करिब ३० मिनेटसम्म सीपीआरलगायतका प्रयास गरिएको अस्पतालले जनाएको छ ।
यी सबै प्रयासपछि पनि मुटुको धड्कन पुनः सञ्चालनमा आउन नसकेर कात्तिक २९ गते राति १२ः४५ बजे उनलाई मृत घोषणा गरिएको थियो । यता आफन्तहरूले भने अस्पतालले सबै कुरा आफन्तहरूलाई बुझाएको दाबी गरे पनि शल्यक्रियापछि आफन्तहरूलाई भेट्न नदिइएको र गल्ती लुकाउने प्रयास गरिएको आरोप लगाइरहेका छन् ।
अस्पतालले दिएको विवरणका बारेका मिसन टुडेले केही चिकित्सकहरूसँग प्रतिक्रिया मागेको उनीहरूले विवरणअनुसार उपचार प्रक्रिया ठिकै देखिएको बताए । तर, अस्तालले रगत जमाउने तत्व र प्लेटलेट्सको अवस्थाबारे जानकारी नुखलाएको र उपचारमा अपनाइएका सबै प्रक्रियाको विस्तृत अध्ययन नगरी यकिन भन्न नसकिने बताए । प्रश्न उठिसकेपछि जिम्मेवारी प्राप्त निकायबाट स्वतन्त्र छानबिन हुनु नै सबैका लागि हितकर हुने उनीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्