नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब अन्तिम तयारीको चरणमा छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने निश्चित भएको हो । तर उद्घाटन समारोह हुनुअघि नै मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुनेछन् । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि संघीय, प्रदेश र स्थानीय सरकार आ–आफ्नो जिम्मेवारीअनुसार तयारीमा जुटेका हुुन् ।
राष्ट्रिय खेलकुदको महाकुम्भ पहिलोपटक कर्णालीमा पुग्नु आफैँमा प्रदेशका लागि ठूलो अवसर हो । यसले खेलकुदमार्फत कर्णालीको पहिचान स्थापित गर्ने र राष्ट्रियस्तरमा प्रदेशको क्षमता प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । तर प्रतियोगिताका लागि आवश्यक खेल पूर्वाधार तयार भएको दाबी गरिए पनि बजेट अपुग, खेल सामग्री खरिद, आवास व्यवस्थापन, प्रचारप्रसार र अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउने चुनौती कायमै छन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि आठ दिनअघि नै केही खेल सुरु गर्ने तयारी गरिएको छ । यसले खेल तालिका व्यवस्थापन र उपलब्ध पूर्वाधारको उपयोगमा सहजता ल्याउने आयोजकको अपेक्षा छ । प्रतियोगितामा कूल ३२ खेल समावेश गरिएका छन् । तीमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् भने बाँकी खेल कर्णालीका अन्य जिल्ला र छिमेकी लुम्बिनी प्रदेशमा आयोजना गरिनेछन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।
चाडपर्वका कारण प्रचारप्रसार र केही गतिविधि सुस्त देखिए पनि छठ पर्वलगत्तै तयारीका बाँकी कामलाई गति दिइने उनले बताए । प्रतियोगिताको तयारीमा सबैभन्दा पेचिलो विषयमध्ये एक बजेट व्यवस्थापन बनेको उनको भनाइ छ । प्रदेश सरकारले प्रतियोगिताका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । तर थप रकम आवश्यक रहेको परिषद्ले जनाएको छ ।
हालसम्मको विवरणअनुसार बन्द प्रशिक्षणका लागि एक करोड, प्रतियोगिता आयोजनाका लागि पाँच करोड र पूर्वतयारीका लागि ५० लाख रूपैयाँँ गरी करिब ६ करोड ५० लाख रूपैयाँँको व्यवस्थापन भएको छ । तर प्रदेशस्तरीय छनोट प्रतियोगिताको तयारीमै छुट्याइएको अधिकांश रकम खर्च भइसकेको परिषद्को भनाइ छ । अब खेलाडीको बन्द प्रशिक्षण सञ्चालन गर्न, थप खेल सामग्री तथा उपकरण खरिद गर्न, प्रशिक्षक र प्राविधिक व्यवस्थापन गर्न तथा प्रतियोगिताका अन्य आवश्यक काम सम्पन्न गर्न थप तीनदेखि साढे तीन करोड रूपैयाँँ अपुग हुने अनुमान गरिएको छ ।
यता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रतियोगिताका लागि बजेट अभाव हुन नदिने बताएका छन् । प्रदेश सरकारले पूर्वतयारीका लागि करिब ६ करोड रूपैयाँँ छुट्याएको उनको भनाइ छ । तर परिषद्ले प्रस्तुत गरेको खर्चको विवरण र थप बजेट आवश्यक पर्ने अवस्थाले सरकारी प्रतिबद्धतासँगै बजेट निकासाको गति पनि महत्वपूर्ण हुने देखिन्छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । तर विभिन्न कारणले प्रतियोगिताको मिति पटकपटक सर्दै आएको छ ।
पाँचौँ पटक मिति निर्धारण भएपछि मात्रै प्रतियोगिता सञ्चालनको तयारीले निश्चित रूप लिएको हो । लामो समयसम्म मिति अनिश्चित हुँदा खेलाडी छनोट, प्रशिक्षण, पूर्वाधार निर्माण र व्यवस्थापकीय तयारीमा समेत प्रभाव परेको थियो । अब प्रतियोगिताको मिति निश्चित भइसकेपछि आयोजकसँग समयमै तयारी पूरा गर्नुपर्ने दबाब बढेको छ । संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताका लागि आवश्यक औपचारिक तयारी पूरा भएको बताएका छन् ।
प्रतियोगितालाई खेलकुद महोत्सवका रूपमा भव्य बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको उनको भनाइ छ । मन्त्री पोखरेलका अनुसार खरिद प्रक्रियादेखि खेलमैदान व्यवस्थापनसम्मका आवश्यक काम अघि बढिसकेका छन् । तर प्रचारप्रसारमा अपेक्षित उत्साह नदेखिएपछि संघीय सरकारले ३० दिने काउन्टडाउनसमेत सुरु गरेको छ ।
‘संघीय सरकारले प्रतियोगिताको मूल आयोजना, खेल सङ्ख्या निर्धारण, खेल सञ्चालन प्रक्रिया र पुरस्कार वितरणलगायतका विषय हेर्ने तथा प्रदेश सरकारले आवास, यातायात र खेलमैदान व्यवस्थापनको जिम्मेवारी लिएको छ,’ उनले भने, ‘स्थानीय सरकारले पर्यटन प्रवद्र्धन र आतिथ्यतासम्बन्धी काममा सहयोग गरिरहेको छ । निर्धारित समयभित्र सबै काम सम्पन्न गर्न प्रभावकारी कार्यान्वयन र निरन्तर अनुगमन जारी छन् ।’
आवास व्यवस्थापनमा समस्या नहुने दाबी
राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडी र प्रशिक्षकको व्यवस्थापनसँगै दर्शक, अफिसियल, निर्णायक, प्राविधिक तथा अन्य पाहुनाको आवास व्यवस्थापनलाई महत्वपूर्ण मानिएको छ । प्रतियोगिताको मुख्य केन्द्र सुर्खेत हुने भएकाले होटल तथा आवास व्यवस्थापनलाई आयोजकले प्राथमिकतामा राखेको छ । होटल व्यवसायी तप्तबहादुर शाहीका अनुसार सुर्खेतमा दैनिक करिब पाँच हजार होटल बेड उपलब्ध छन् ।
होटल व्यवसायी र उद्योग वाणिज्य संघसँगको छलफलपछि आवास व्यवस्थापनका लागि आवश्यक तथ्यांक संकलन गरिएको हो । आयोजकका अनुसार सुर्खेतमा एकैपटक तीन हजारदेखि तीन हजार पाँच सय जनासम्मलाई सहज रूपमा राख्न सकिने व्यवस्था छ । होटल व्यवसायीहरूले भने कूल आवास क्षमता पाँच हजार पाँच सयदेखि ६ हजारसम्म रहेको बताएका छन् ।
प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म १२ दिन सञ्चालन हुनेछ । केही खेल भने उद्घाटनअघि नै सुरु हुनेछन् । खेल तालिका मिलाएर खेलाडी, प्रशिक्षक र अफिसियलको आवागमन व्यवस्थापन गर्ने तयारी गरिएको छ । आयोजकका अनुसार सबै खेलाडी र अफिसियल एकैपटक सुर्खेतमा नबस्ने भएकाले खेल तालिकाअनुसार आवासको चाप व्यवस्थापन गर्न सकिनेछ ।
यो कार्य प्रदेशको आर्थिक तथा सामाजिक पहिचान विस्तार गर्ने अवसर पनि हो । देशभरका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, दर्शक र सञ्चारकर्मी कर्णालीमा भेला हुँदा पर्यटन, होटल, यातायात, व्यापार तथा स्थानीय सेवाक्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगरसहित दैलेख, कालीकोट, सल्यान र पश्चिम रूकुममा खेल सञ्चालन हुँदा ती जिल्लाले पनि राष्ट्रियस्तरमा आफ्नो परिचय विस्तार गर्ने अवसर पाउनेछन् ।
तर यसका लागि खेल सञ्चालन हुने जिल्लाहरूमा आवश्यक पूर्वाधार, यातायात, आवास र स्वास्थ्य सेवाको व्यवस्था पनि सुनिश्चित गरिएको छ । प्रतियोगितालाई सुर्खेत केन्द्रित मात्रै नभई समग्र कर्णालीको उत्सवका रूपमा स्थापित गर्न सकिएमा यसको प्रभाव दीर्घकालीन हुने अपेक्षा छ । साथै प्रतियोगितामा खेल अवधिभर प्रहरीले पोषाक र सादा पोषाकमा ठूलो सङ्ख्यामा सुुरक्षाकर्मी परिचालन गर्ने रणनीति अपनाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खेलाडी छनोटमा सुदूरपश्चिमको ढिलाइ
दसौँ राष्ट्रिय खेलकुदका लागि अन्य प्रदेशहरूले खेलाडी छनोट र बन्द प्रशिक्षणका गतिविधि अघि बढाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा भने प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता केही ढिलो गरी सुरु भएको छ । प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ । कर्णालीको सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमले ३० खेलका खेलाडी छनोट गर्ने जनाएको छ ।
कैलाली, कञ्चनपुर र डडेल्धुरामा छनोट प्रतियोगिता सञ्चालन भइरहेको छ । धनगढी रंगशालामा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरेका थिए । सुदूरपश्चिमका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । खेलाडी, प्रशिक्षक र अफिसियल गरी कुल ७४४ जनाको सहभागिता रहने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
कैलालीमा फुटबल, एथ्लेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खो–खो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका खेल सञ्चालन हुनेछन् । कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराते, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडो तथा डडेल्धुरामा महिला र पुरुष भलिबलका खेल सञ्चालन हुनेछन् ।
प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भएपछि राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीको अन्तिम टुंगो लाग्नेछ । यसले प्रतियोगितामा सहभागी प्रदेशहरूबीचको तयारीलाई पनि अन्तिम चरणमा पु¥याउनेछ । दसौँ राष्ट्रिय खेलकुदको तयारीलाई लिएर संघीय सरकार र प्रदेश सरकारले आवश्यक काम सम्पन्न भएको दाबी गरिरहेका छन् ।
३२ खेलको प्रतियोगिता लुम्बिनीसम्म फैलिँदै
दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुर्खेतलाई मुख्य आयोजनास्थल बनाइएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालासहित विभिन्न खेलस्थलमा प्रतियोगिताका अधिकांश खेल सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङ, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु, बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, इस्पोट्र्स र सेपाकताक्रोका खेल सञ्चालन गर्ने तयारी छ ।
त्यस्तै, दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो तथा कुस्ती र पश्चिम रूकुममा शारीरिक सुगठनका प्रतियोगिता सञ्चालन हुनेछन् । कर्णालीमा आवश्यक भौतिक संरचना उपलब्ध नभएका कारण केही खेल भने लुम्बिनी प्रदेशमा लैजानुपर्ने अवस्था छ । पौडी र सुटिङका खेल नेपालगन्ज तथा लनटेनिस र खो–खोका खेल बर्दियामा सञ्चालन गरिने परिषद्का सदस्यसचिव चन्दले बताए ।
‘कर्णालीमा राष्ट्रियस्तरका सबै खेल सञ्चालन गर्न आवश्यक पूर्वाधार नहुनु प्रतियोगिता आयोजनाका क्रममा देखिएको प्रमुख संरचनागत सीमितता हो,’ उनले भने, ‘विशेषगरी सुटिङका लागि आवश्यक पूर्वाधार र उपकरण प्रदेशमा उपलब्ध छैनन् । लनटेनिसका लागि पनि उपयुक्त संरचना निर्माण हुन सकेको छैन । छोटो समयभित्र नयाँ संरचना निर्माण गर्न सम्भव नभएपछि छिमेकी प्रदेशको पूर्वाधार उपयोग गर्नुपर्ने अवस्था आएको हो ।’
पौडीका हकमा पनि प्रदेश रंगशालाभित्र २५ मिटरको मात्रै स्विमिङ पुल भएकाले नेपालगन्जमा उपलब्ध ५० मिटरको पुल छनोट गरिएको छ । राष्ट्रियस्तरको प्रतियोगितामा खेलको मापदण्डअनुसार पूर्वाधार आवश्यक पर्ने भएकाले उपलब्ध संरचना र खेलको प्राविधिक आवश्यकताबीच तालमेल मिलाउनुपरेको हो ।
परिषद्का सदस्यसचिव चन्दका अनुसार दुईदेखि तीनवटा खेलबाहेक अधिकांश खेल कर्णालीमै सञ्चालन गर्ने लक्ष्य छ । यसले प्रतियोगितालाई प्रदेशका विभिन्न जिल्लासम्म विस्तार गरे पनि खेलाडी, प्रशिक्षक, प्राविधिक तथा व्यवस्थापकको आवागमन र व्यवस्थापनमा थप चुनौती सामना गरिएको छ ।
रंगशाला तयार भयो, हस्तान्तरण भएन
दसौँ राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेरिएको प्रदेश रंगशालाको भौतिक निर्माण सम्पन्न भएको दाबी गरिएको छ । निर्माण कम्पनीले कार्य सम्पन्न भएको अन्तिम प्रतिवेदन र अन्तिम बिलसमेत पेस गरिसकेको छ । तर केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले औपचारिक हस्तान्तरण हुन सकेको छैन ।परिषद्का सदस्यसचिव चन्दका अनुसार रंगशालाको भौतिक निर्माण शतप्रतिशत सम्पन्न भएको छ भने प्रतियोगिता सञ्चालन गर्न कुनै अवरोध छैन ।
असोज मसान्तभित्रै हस्तान्तरण लिने योजना भए पनि प्रदेशस्तरीय छनोट प्रतियोगिताको तालिका जुधेका कारण हस्तान्तरण प्रक्रिया केही पछाडि सरेको उनले बताए ।
रंगशाला हस्तान्तरणपछि पनि निर्माण कम्पनीको दुई वर्षे त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड) रहने व्यवस्था छ । उक्त अवधिमा निर्माणमा देखिने त्रुटि तथा प्राविधिक समस्याको मर्मतसम्भार गर्ने जिम्मेवारी निर्माण कम्पनीकै हुने सम्झौता छ । मुख्य रंगशाला परिसरमै १६ देखि १७ वटा खेल सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि मैदान, खेलस्थल, विद्युत्, रंगरोगन र सामान्य मर्मतसम्भारका कामलाई अन्तिम रूप दिइँदैछ ।









प्रतिक्रिया दिनुहोस्