काठमाडौँ ।
सूर्य उपासनाको महापर्व छठअन्तर्गत आज मुख्य दिन कात्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ । चार दिनसम्म विभिन्न धार्मिक विधि, कठोर व्रत, आत्मसंयम र शुद्धताको अभ्याससहित मनाइने छठ पर्वको आजको दिन विशेष महत्वपूर्ण मानिन्छ । यस दिन व्रतालुहरू नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु र मनोकामना पूर्तिको कामना गर्छन् ।
विश्वका अधिकांश धार्मिक तथा सांस्कृतिक परम्परामा उदाउँदो सूर्यलाई नयाँ सुरुवात, ऊर्जा र आशाको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ । तर छठ पर्वको विशेषता भने अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य अर्पण गर्नु रहेको छ । अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिनुले जीवनको प्रत्येक अवस्थाप्रति सम्मान व्यक्त गर्ने सांकेतिक अर्थसमेत बोकेको छ भने उदाउँदो सूर्यले नयाँ सम्भावना र ऊर्जाको प्रतिनिधित्व गर्छ भने अस्ताउँदो सूर्यले समय, परिवर्तन र जीवनचक्रको निरन्तरताको बोध गराउँछ ।
यस दृष्टिले छठले सफलता र शक्तिको समयमा मात्र नभई परिवर्तनको क्षणमा पनि सम्मान गर्नुपर्ने मानवीय मूल्य स्थापित गरेको छ । समाजमा प्रचलित व्याख्याअनुसार यस पर्वले प्रकृतिको कुनै पनि अवस्थालाई उपेक्षा नगरी त्यसप्रति कृतज्ञ हुन सिकाउँछ । छठको अर्को महत्वपूर्ण पक्ष यसको सामूहिकता हो । जातीय, वर्गीय, भाषिक र आर्थिक विभेदभन्दा माथि उठेर मानिसहरू एउटै घाटमा भेला हुन्छन् । पूजा सामग्री, प्रसाद र धार्मिक विधिमा सबैको सहभागिताले सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गरेको छ ।
छठ पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक ग्रन्थ, पुराण र लोकपरम्परामा अनेक प्रसंग उल्लेख गरिएको पाइन्छ । महाभारतसँग जोडिएको जनश्रुतिअनुसार पाँच पाण्डव अज्ञातवासमा रहँदा द्रौपदीले सूर्यदेवको आराधना गरेकी थिइन् । पाण्डवहरूको संकट निवारण र अज्ञातवास सफल होस् भन्ने कामनासहित गरिएको उक्त आराधनालाई छठ परम्परासँग जोडेर व्याख्या गरिएको उल्लेख छ । त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको प्रसंग उल्लेख भएको धार्मिक मान्यता छ ।
व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको कथन पाइन्छ । साम्ब पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट पीडित भएपछि सूर्यदेवको आराधना गरेर रोगमुक्त भएको प्रसंग पनि उल्लेख गरिएको छ । यी धार्मिक आख्यानहरूले सूर्यलाई आरोग्य, ऊर्जा, समृद्धि र जीवनरक्षाका प्रतीकका रूपमा स्थापित गरेका छन् । तर छठको ऐतिहासिक सुरुवात कुन समय र स्थानबाट भयो भन्ने विषयमा एकमत ऐतिहासिक प्रमाण उपलब्ध छैन ।
यसको वर्तमान स्वरूप भने पुस्तौँदेखि विकसित हुँदै आएको लोकविश्वास, धार्मिक आस्था र सांस्कृतिक अभ्यासको परिणाम हो । छठ पर्वको धार्मिक महत्वसँगै यसको व्रतविधि पनि उत्तिकै कठोर मानिन्छ । विशेषगरी व्रतालुले अपनाउने शारीरिक शुद्धता, मानसिक अनुशासन, खानपानको नियन्त्रण र निरन्तर उपासनाले यस पर्वलाई अन्य धार्मिक उत्सवभन्दा विशिष्ट बनाएको छ । चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन व्रतालुले पवित्र स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्छन् ।
यस दिनदेखि माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायतका खाद्य पदार्थ त्याग्ने परम्परा छ । घर, भान्सा र पूजा सामग्रीलाई विशेष रूपमा सफा राखिन्छ । दोस्रो दिन व्रतालु दिनभरि निर्जला उपवास बसेर साँझ चन्द्रदर्शनपछि भगवानलाई खीर तथा अन्य प्रसाद अर्पण गर्छन् । तेस्रो दिन छठको सबैभन्दा महत्वपूर्ण अनुष्ठान गरिन्छ । व्रतालुहरूले गहुँ र चामलबाट तयार पारिएका ठकुवा, भुसुवा, खजुरी, पेरुकियालगायतका परिकार, विभिन्न फलफूल, नरिवल, केरा, उखु, मूला, गाजर, बेसारको गाँठो र अन्य पूजासामग्री बाँसका ढक्की तथा नाङ्लोमा सजाउँछन् ।
चौथो सप्तमीका दिन बिहानै व्रतालुहरू पुनः जलाशयमा पुग्छन् । उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठको मुख्य धार्मिक अनुष्ठान सम्पन्न हुन्छ । त्यसपछि छठ व्रतको कथा श्रवण गर्ने, प्रसाद वितरण गर्ने र परिवारका सदस्य तथा आफन्तसँग आशीर्वाद साटासाट गर्ने परम्परा छ । यसरी चार दिनसम्मको कठोर उपवास र आराधना सम्पन्न हुन्छ । छठ पर्वको सबैभन्दा गहिरो पक्ष सूर्य, जल, पृथ्वी र वनस्पतिप्रतिको सम्मान हो । मानव जीवनका लागि सूर्यको ऊर्जा अपरिहार्य छ । त्यसैले सूर्यको उपासनालाई धार्मिक कर्मकाण्डका रूपमा मात्र नभई प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराका रूपमा पनि बुझ्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्