वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको सिमानामा पर्ने जानकी गाउँपालिका ३ की देउकली रोकामगरलाई तिहारका परिकारहरू बनाउन खुब रहर लाग्थ्यो । तिहारमा विभिन्न परिकारहरू बनाएर रमाउने उनलाई करिब तीन वर्षपहिले छोराले परिकारहरू बनाएर बेच्न सुझाए । सुरुमा उनले आफ्नो घर आसपासका छिमेकीहरूलाई बेचिन् ।
छिमेकीहरूले परिकारहरू मन पराएपछि उनका छोराले ती परिकारहरूबारे सामाजिक सञ्जालबाट पनि प्रचार गर्न थाले । त्यसपछि उनलाई फोनबाटै अर्डर आउन थाल्यो । अर्डर आउन थालेसँगै उनी हौसिइन् र थप परिकारहरू बनाउन थालिन् । उनले विशेषगरी अनरसा, फिनी र झिनियाँ बनाएर बेचिरहेकी छन् । सामाजिक सञ्जालबाट प्रचार भएपछि नेपालगन्ज बाहिरबाट पनि अर्डर आउन थालेको छ । यस वर्ष बर्दिया, सुर्खेत लगायतका ठाउँबाट पनि अर्डर आएको उनले बताइन् ।
सामान बिक्दै जान थालेपछि अब दर्ता गरेर व्यवसायिक रूपले नै गर्नुपर्छ भन्ने लागेपछि उनीहरूले अहिले घरेलु उद्योगमा ‘देवी फुड प्रोडक्ट्स उद्योग’ नै दर्ता गरिसकेका छन् । अब खाद्य प्रविधिबाट पनि अनुमति लिएर व्याापारलाई फैलाउने योजना बनाएको देउकलीले बताइन् । देउकलीका अनुसार यस वर्षको तिहारमा मात्रै उनले करिब तीन सय केजीभन्दा बढी परिमाणको परिकारहरू बेचिसकेकी छन् । यस वर्ष अघिल्लो वर्षभन्दा कम बनाउन सकिएको उनी बताउँछिन् ।
‘अर्डर त आएको आयै छ । तर आएजति पु¥याउन सकिएको छैन । अब, अर्काे वर्षबाट प्याकेजिङ नै गरेर बेच्ने योजना छ,’ देउकलीले भनिन् । नेपालगन्जकी देउकलीजस्तै तिहारका परिकारहरूलाई व्यवसायिक रूपले उत्पादन र बिक्रीवितरण गर्ने महिला तथा अरु उद्यमीहरू अहिले यी परिकारहरूको व्यापार राम्रो भइरहेको बताउँछन् । उनीहरूका अनुसार तिहारका परिकारहरूको माग तिहारको समयमा मात्रै नभई वर्षैभरी हुने गरेको छ । तिहारको समयमा यो झनै बढ्ने गर्छ ।
नेपालगन्जमै करिब एक दर्जन महिलाहरूले यी परिकारको व्यापार गरिरहेका छन् । विशेषगरी तिहारको समयमा सेलरोटी, फिनी, अर्शा, अनरशा, फुरनदाना, निम्की, गुजिया, लड्डु लगायतका परिकारहरू उनीहरूले बिक्री गरिरहेका छन् । काठमाडौँ, पोखरा लगायतका सहरमा त दर्जनौँ महिलाहरूले तिहारका परिकारहरू बनाएर व्यापार गर्दै आएका छन् । तिनैमध्येकी एक हुन् पोखराकी सुस्मिता पौडेल र उनको परिवार ।
सुस्मिताले करिब पाँच वर्षअघि लेडिज शप सञ्चालन गरिरहेकी थिइन् । कोरोना महामारीका बेला उक्त व्यापार बन्द भएपछि उनलाई तिहारका परिकारहरू बनाएर बेच्ने सोच पलायो । उनी र परिवारका सदस्यहरूले घरमै परिकारहरू तयार गरे र अनलाइनमार्फत बिक्री गर्न थाले । उनीहरूले सुस्मिताज् किचन एण्ड सेलरोटीको नाममा सामाजिक सञ्जालमार्फत ती परिकारहरूको प्रचार गर्न थाले । अहिले उनलाई अर्डरअनुसार परिकारहरू उत्पादन गर्न भ्याइनभ्याइ छ ।
पोखरामा मात्रै नभई उनका परिकारहरूका लागि पूर्वको झापादेखि बुटवलसम्म अर्डर आइरहेको छ । ‘यी परिकारहरू बनाएर बेच्न थालेपछि मलाई पुरानो व्यापार फेरि सुरु गर्ने आवश्यकता नै भएन । अहिले तिहारको बेला त झन् अर्डर पु¥याउन नै सकिन्न । फेरि अरु सिजनमा पनि यी परिकारहरूको माग भइरहेकै हुन्छ,’ सुस्मिताले भनिन् । उता, काठमाडौँका पुष्पा आचार्य र राम आचार्यको दम्पतीले पनि तिहारमा खाइने परिकारहरूको घरमै उत्पादन गरेर व्यापार गरिरहेका छन् ।
उनीहरूले करिब १० वर्ष पहिलेदेखि नै यी परिकारहरूको व्यापार गर्दै आएका हुन् । १० वर्षपहिले भन्दा अहिले यस्ता परिकारहरूको माग बढिरहेको उनीहरूको भनाइ छ । ‘अहिले मानिसहरू व्यस्त छन् । सबै परिकारहरू बनाउन समय पनि लाग्छ । त्यसैले तयारी परिकारहरू भयो भने मानिसहरूले किन्न खोज्ने रहेछन् । अहिले झनै माग बढिरहेको छ,’ आचार्यले भने ।
उनले पनि तिहारको सिजनमा मात्रै नभई अरु सिजनमा पनि यी परिकारहरूको माग हुने गरेकोले वर्षैभरी पनि व्यापार भइरहने बताए । काठमाडौँ धुम्बाराहीका सुशान्त कार्कीले पनि निर्मलाज् किचेन नाममा तिहारका परिकारहरूको बिक्री गरिरहेका छन् । कार्कीले अहिले तिहारको समयमा अर्डरका लागि फोन उठाउन नै हम्मेहम्मे भइरहेको बताए । उनले काठमाडौँ उपत्यकाभित्रैको अर्डरलाई पूरा गर्न नसक्ने अवस्था रहेको बताए ।
उनीहरूले १५ प्रकारका परिकारहरू घरमै बनाएर अनलाइनबाट आएका अर्डरका आधारमा बिक्री गरिरहेका छन् । नेपाली चाडपर्वहरू अनेक सांस्कृतिक गतिविधिले समृद्ध छन् । तीमध्ये खानाका परिकारहरू पनि हरेक चाडपर्वमा मौलिक र फरक स्वादका हुने गर्दछन् । पहिले पहिले घरमै बनाइने यस्ता परिकारहरू बनाउन समय बढी लाग्ने भएकोले अहिले तयार भएका परिकारहरू खरिद गर्न खोज्ने मानिसहरू बढिरहेका छन् । यसैगरी विदेशमा रहेकाहरूले पनि परिवारका लागि उतैबाट अर्डर गर्ने गरेको पनि व्यवसायीहरू बताउँछन् । यसले नेपाली मौलिक परिकारको व्यावसायिक सम्भावनालाई थप बढाएको छ ।









प्रतिक्रिया दिनुहोस्