नन्दराम जैशी । सुर्खेत ।
तालिमप्राप्त प्रहरी कुकुरको अनुसन्धान क्षमताको एउटा उदाहरण हो, रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भएको महिलाको हत्या घटना । २०८३ कात्तिक १२ गते रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ स्थित धान खेतमा एक महिलाको शव मृत अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धानका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा (केनाइनतर्फ)बाट अपराध अनुसन्धान अर्थात् ट्रयाकर विषयमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका क्रममा शव भेटिएको स्थानबाट करिब दुई किलोमिटर टाढा एउटा हँसिया फेला परेको थियो । उक्त हँसियालाई प्रहरी कुकुरलाई सुँघाएर खोजीमा छोडिएको थियो । गन्धका आधारमा परिचालित कुकुरले अनुसन्धानमा सहयोग पु¥यायो । मानिसको शव भेटिएको स्थान र त्यसबाट टाढा फेला परेको सम्भावित प्रमाणबीच सम्बन्ध पहिल्याउन कुकुरको प्रयोगले अनुसन्धानलाई नयाँ आधार प्रदान गरेको यो घटना उदाहरणीय बनेको छ ।
त्यस्तै, बालिका हत्या घटनाको अनुसन्धानमा पनि प्रहरी कुकुरको भूमिका प्रभावकारी देखिएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ मा बालिकाको हत्या भएपछि घटनाको अनुसन्धानका लागि २०८३ भदौ २ गते जिल्ला प्रहरी कार्यालय पर्सा (केनाइनतर्फ)बाट अपराध अनुसन्धान अर्थात् ट्र्याकर विषयमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो । घटनास्थलमा मृतक बालिकाले लगाएको कपडा कुकुरलाई सुँघाएर खोजीमा छोडिएको थियो ।
त्यसपछि कुकुरले गन्ध पछ्याउँदै अभियुक्तको घरसम्म पुग्न सफल भएको थियो । कुकुरले देखाएको संकेतका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै अभियुक्तलाई पक्राउ गर्न सफलता प्राप्त गरेको हो । घटनास्थलबाट प्राप्त वस्तुको गन्ध पछ्याएर सम्भावित अभियुक्तसम्म पुग्न सक्ने क्षमताले प्रहरी कुकुरको उपयोगिता झन महत्वपूर्ण रहेको पृष्टि हुुन्छ । अपराध अनुसन्धानसँगै लागूऔषध ओसारपसार नियन्त्रणमा पनि तालिमप्राप्त प्रहरी कुकुरको प्रयोग हुँदै आएको छ ।
२०८३ असोज २६ गते तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मुग्लिन पुलजीप क्षेत्रमा चल्ने शंकास्पद साना तथा ठूला सवारीसाधन, पैदलयात्री र लगेज जाँच गर्ने क्रममा लागूऔषध पहिचानमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो । जाँचका क्रममा एउटा झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा नियन्त्रित लागूऔषधका ५७० वटा ट्याब्लेट फेला पारिएको थियो । कुकुरको सुँघ्ने क्षमताको प्रयोगबाट सामान्य जाँचका क्रममा सहजै पत्ता नलाग्न सक्ने गरी लुकाइएका वस्तु पहिचान गर्न प्रहरीलाई सहयोग पुगेको थियो ।
यसअघि २०८२ चैत २८ गते सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भीमान चेकपोस्टमा पनि तालिमप्राप्त लागूऔषध पहिचान गर्ने कुकुरसहितको टोलीले बीपी राजमार्गमा चल्ने सवारीसाधन जाँच गरेको थियो । जाँचका क्रममा धरानबाट काठमाडौँ जाँदै गरेको हायसमा सवार यात्रुको साथबाट ३३.८७० ग्राम र लहानबाट काठमाडौँ जाँदै गरेको हायसमा सवार यात्रुको साथबाट ५३० मिलिग्राम लागूऔषध फेला प¥यो ।
यस्तै, इटहरीबाट काठमाडौँ जाँदै गरेको ट्याक्सीमा सवार यात्रुको साथबाट तीनवटा पोकामा राखिएको १२.६०० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो । यसरी तीनवटा सवारीसाधनमा सवार यात्रुबाट ठूलो परिमाणमा शंकास्पद लागूऔषधजन्य पदार्थ फेला पार्न प्रहरी सफल भएको थियो । त्यस्तै, २०८२ माघ २६ गते सिरहामा प्रहरी कुकुरले दिएको संकेतका आधारमा एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसमेत फेला पार्न प्रहरी सफल भएको थियो । यी घटनाले लागूऔषध तथा अवैध हातहतियार नियन्त्रणमा प्रहरी कुकुरको प्रयोग अनुसन्धान र सुरक्षा जाँचको प्रभावकारी माध्यम बनिरहेको देखाउँछन् ।
१३ कार्यालयमा १०७ प्रहरी कुकुर
अपराध अनुसन्धानमा प्रमाण जुटाउनु, अपराधीको पहिचान गर्नु र घटनाको वास्तविकता पत्ता लगाउनु प्रहरीका लागि सधैँ चुनौतीपूर्ण काम हो । अझ घटनास्थलमा पर्याप्त प्रमाण नभएको, अपराधीले प्रमाण नष्ट गरेको वा विपद्का कारण मानिसहरू बेपत्ता भएको अवस्थामा अनुसन्धान र खोजी कार्य थप जटिल बन्छ । तर यस्ता कठिन परिस्थितिमा प्रहरीको अनुसन्धानलाई गति दिन र सम्भावित प्रमाण पहिल्याउन अहिले तालिमप्राप्त कुकुरहरू महत्वपूर्ण सहयात्री बनिरहेका छन् ।
मानिसले सामान्य आँखाले देख्न नसक्ने गन्धका सूक्ष्म संकेत पहिचान गर्ने क्षमता भएका प्रहरी कुकुरहरू अहिले हत्या, अपहरण, लागूऔषध ओसारपसार, हातहतियार लुकाइएको स्थानको पहिचानदेखि बाढीपहिरो तथा अन्य विपदमा बेपत्ताको खोजी र उद्धारसम्म परिचालित भइरहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँका अनुसार देशभरका विभिन्न प्रहरी कार्यालय तथा मातहतका केनाइन शाखामा गरी जम्मा १०७ वटा तालिमप्राप्त प्रहरी कुकुर परिचालित छन् ।
तीमध्ये ६१ वटा भाले र ४६ वटा पोथी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए । ‘उनीहरूलाई आवश्यकताअनुसार अपराध अनुसन्धान, लागूऔषध पहिचान, सुरक्षा जाँच तथा खोजी एवं उद्धारजस्ता फरक–फरक काममा परिचालन गरिन्छ,’ उनले भने, ‘अपराध अनुसन्धान र सुरक्षा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आएका यी कुकुरहरू प्रहरीका लागि सहयोगी जनावर मात्र होइनन्, अनुसन्धानका महत्वपूर्ण साझेदारसमेत बनेका छन् ।’
उनका अनुसार नेपाल प्रहरीको केनाइन व्यवस्थापनअन्तर्गत देशका विभिन्न १३ वटा कार्यालयमा कुकुरहरू परिचालन गरिएको हो । सबैभन्दा धेरै कुकुर नेपाल प्रहरी केनाइन कार्यालय, महाराजगञ्ज काठमाडौँमा रहेको उनले बताए । त्यहाँ २८ वटा भाले र १७ वटा पोथी गरी ४५ वटा कुकुर छन् । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौँमा पाँचवटा कुकुर छन् । लागूऔषध नियन्त्रण ब्युरोअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखा, गौचरमा पाँचवटा कुकुर परिचालित छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय, केनाइन शाखा, धरान सुनसरीमा ८ वटा, क्षेत्रीय विमानस्थल केनाइन शाखा, विराटनगरमा ३ वटा, मधेश प्रदेश प्रहरी कार्यालय, केनाइन शाखा, लालगढ धनुषामा ३ वटा र क्षेत्रीय विमानस्थल केनाइन शाखा, जनकपुरमा ३ वटा कुुकुुर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्जमा ३ वटा, बागमती प्रदेश प्रहरी कार्यालय, केनाइन शाखा, हेटौँडा मकवानपुरमा ८ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय, केनाइन शाखा, पोखरा कास्कीमा ७ वटा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केनाइन शाखा, भैरहवामा ५ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय, केनाइन शाखा, कोहलपुर बाँकेमा ६ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केनाइन शाखा, धनगढी कैलालीमा ६ वटा रहेका छन् ।
भोटेकोशीको बाढीमा प्रहरी कुकुरको विशेष भूमिका
प्रहरी कुकुरको भूमिका अपराध अनुसन्धानमा मात्रै सीमित छैन । प्राकृतिक विपद्का बेला बेपत्ता भएका मानिसको खोजी तथा उद्धारमा समेत उनीहरूको प्रयोग हुँदै आएको छ । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धार कार्यमा तालिमप्राप्त प्रहरी केनाइन परिचालन गरिएको थियो ।
बाढीले बगाएका तथा बेपत्ता भएका मानिसहरूको खोजीका क्रममा कुकुरको सहयोगबाट विभिन्न स्थानमा शव र मानव शरीरका अवशेष फेला पार्न प्रहरी सफल भएको थियो । प्रहरीका अनुसार भदौ १७ गते टिमुरे क्षेत्रमा दुईवटा शव र शरीरको एउटा अवशेष फेला पार्न सफलता मिलेको थियो । भदौ १७ गते नै मैलुङ हाइड्रोपावरको कर्मचारी आवासमा सानो आकारको शरीरको अवशेष फेला परेको थियो भने भदौ १८ गते दमौली गोलाघाट क्षेत्रमा दुईवटा शव फेला परेका थिए ।
यस्तै, तालिमप्राप्त कुुकुुरले भदौ २० गते बट्टार क्षेत्रमा शरीरको हत्केलाको भाग फेला पारेका थिए । भदौ २१ गते वेत्रावतीमा बच्चाको हड्डी फेला परेको थियो । भदौ २१ गते सिलिङटारमा सानो आकारको शरीरको अवशेष, भदौ २३ गते तुप्चे अक्करेमा काँधसहितको हात फेला र भदौ २५ गते देवीघाटमा सानो आकारको शरीरको अवशेष फेला परेको थियो ।
भदौ २६ गते विदुर नगरपालिका–३ शिरखाली बगरमा मानव शरीरको कंगाल र सानो आकारको शरीरको अवशेष फेला परेको थियो भने भदौ २८ गते दुईवटा शव फेला पार्न सफलता प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीले बगाएर विभिन्न स्थानमा पु¥याएका शव तथा मानव शरीरका अवशेष खोज्न निकै कठिन हुने अवस्थामा तालिमप्राप्त कुकुरको प्रयोगले खोजी कार्यलाई सहयोग पु¥याएको थियो । यसले प्रहरी केनाइनको भूमिका अपराध अनुसन्धानभन्दा बाहिर मानवीय उद्धार र विपद् व्यवस्थापनमा समेत उत्तिकै महत्वपूर्ण रहेको देखाउँछ ।
कुकुर र ह्यान्डलरबीचको समन्वयमा जोड
प्रहरी कुकुरको सफलता उनीहरूको प्राकृतिक सुँघ्ने क्षमतामा मात्रै निर्भर हुँुदैन । त्यसका लागि विशेष तालिम, अनुशासन, नियमित अभ्यास र कुकुर तथा ह्यान्डलरबीचको समन्वय आवश्यक हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपराध अनुसन्धानका लागि तालिमप्राप्त ट्र्याकर कुकुरलाई घटनास्थलमा प्राप्त गन्धको आधारमा सम्भावित व्यक्तिको बाटो पछ्याउन सक्ने बनाइन्छ भने लागूऔषध पहिचान गर्ने कुकुरलाई विभिन्न लागूऔषधका गन्ध छुट्याउन सिकाइन्छ ।
त्यसैगरी, खोजी तथा उद्धारमा परिचालित हुने कुकुरलाई भग्नावशेष, नदीकिनार, बगर तथा अन्य कठिन स्थानमा मानिसको उपस्थिति वा शरीरका अवशेष पहिचान गर्न विशेष तालिम दिइन्छ । यस्ता कुकुरसँगै खटिने प्रहरी ह्यान्डलरको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने गरेको छ । कुकुरले दिएको संकेत बुझ्ने, त्यसको व्यवहारको विश्लेषण गर्ने र प्राप्त संकेतलाई अनुसन्धानसँग जोड्ने काम ह्यान्डलरले गर्छन् ।
देशभरका १३ वटा कार्यालयमा परिचालित १०७ वटा तालिमप्राप्त प्रहरी कुकुरले नेपालको सुरक्षा र अपराध अनुसन्धान प्रणालीमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । हत्या अनुसन्धानमा गन्ध पछ्याउनेदेखि लागूऔषध र हातहतियार पत्ता लगाउने तथा बाढीपहिरोमा बेपत्ताको खोजी गर्ने कामसम्म उनीहरूको उपयोगिता विस्तार हुँदै गएको छ । केनाइन कार्यालयका अनुसार नेपाल प्रहरीसँग जर्मन शेफर्ड, ल्याब्राडोर रिट्रिभर, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियन मेलिनोईज र ककर स्पानीयल गरेर ६ प्रकारका कुकुरहरू छन् ।
अवकाशप्राप्त कुकुरहरूको व्यवस्थापनसम्बन्धी प्रबन्ध प्रहरीका कुकुरहरूको विषयगत सङ्ख्या निर्धारण सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्य निर्देशन–२०८० बमोजिम हुँदै आएको छ । प्रहरीका कुकुरहरूको व्यवस्थापनसम्बन्धी कार्यनिर्देशनका अनुसार निष्क्रिय प्रमाणीकरण गरिएका कुकुरहरूको वितरणका लागि ६ वटा प्राथमिकताक्रम निर्धारण गरिएको छ । त्यसमा कुनै दातामार्फत् प्राप्त भएको प्रहरीको कुकुरका हकमा निष्क्रियतापश्चात् सोही दातालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क वितरण गर्ने प्रावधान राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्