कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ



वीरेन्द्रनगर ।

कात्तिक १३ गते शुक्रबार राति डोल्पा जिल्ला कारागारमा सेफ्टीट्यांकी फोडेर भागेका ८ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी सन्तोषसिंह राठौरका अनुसार जबर्जस्ती करणी मुद्दाका कैदी रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना फेरी पक्राउ परेका हुुन् ।

दुई जनालाई मंगलबार बिहान साढे १० बजेतिर पक्राउ गरिएको हो । आठबिसकोट नगरपालिका–६ दामाचौरस्थितको खोली बगरदेखि वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको क.प्र. ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिपबाट उनीहरू पक्राउ परेका हुुन् । ‘जिप चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू भाग्न खोजेका रहेछन् । प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा फरार कैदी रहेछन्,’ राठौरले भने, ‘पहिचान भएपश्चात् उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।’

उनका अनुसार चौरजहारी बेस क्याम्प रूकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ जनाको प्रहरी टोली कैदीबन्दीहरूको खोजतलासका लागि खटिएको थियो । अन्य कैदीबन्दीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । कैदीबन्दी भागेको घटनाको अवस्था बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटा पनि डोल्पातर्फ लागेका छन् ।

उनी मंगलबार बिहानै वीरेन्द्रनगरबाट भेरी कोरिडोर हुँदै डोल्पातर्फ लागेका हुन् । १५ जनाको सुरक्षा ड्युटी हुँदा पनि ८ जना कैदीबन्दीले सुरुङ खनेर भाग्दा समेत चाल नपाइएपछि सुरक्षा प्रणालीमाथि आलोचना भइरहेको छ । अहिले जिल्ला तहबाट एक अध्ययन टोली खटिएको छ भने हेडक्वार्टरबाट पनि मंगलबार नै एक टोली अनुसन्धानका लागि डोल्पा पुगेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् । कारागारको सुरक्षा व्यवस्थाबीच कैदीबन्दी कसरी सेफ्टीट्यांकी फोडेर फरार भए र ड्युटीमा खटिएका प्रहरीले किन जानकारी पाएनन् भन्ने विषयमा समितिले छानबिन गर्नेछ । घटना कात्तिक १३ गते राति भए पनि आफूलाई कात्तिक १४ गते बिहान मात्रै घटनाबारे जानकारी प्राप्त भएको डीएसपी गिरीले बताए ।

समितिले प्रतिवेदन बुझाएपछि कैदीबन्दी फरार भएको घटनाको विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ । फरार हुने आठ जनामध्ये पाँच जना जबर्जस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी रहेका छन् । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार फरार भएकामध्ये ६ जना कैद सजाय भुक्तान गरिरहेका थिए भने दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए ।

जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन् । त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन् । चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार