तेस्रो राष्ट्रिय एआई सम्मेलन कात्तिक २१ गते हुँदै



काठमाडौँ ।

एआईको विकास र प्रयोगबाट नेपालले लिन सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिकताबारे छलफल गर्न आगामी कात्तिक २१ गते काठमाडौँमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ । डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘नेसनल एआई समिट २०२६’ यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेस ः अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ भन्ने मूल नारामा केन्द्रित हुनेछ ।

सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ । अन्तर्राष्ट्रिय मुख्य वक्ताका रूपमा संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा एआई र साइबर सुरक्षा नीतिविज्ञ निक एस्टन–हार्टले सम्बोधन गर्ने कार्यक्रम छ । उनले विश्वव्यापी एआई प्रतिस्पर्धा, प्रविधिमा बढ्दो शक्ति केन्द्रीकरण र नेपालजस्ता विकासशील मुलुकका रणनीतिक विकल्पबारे धारणा राख्नेछन् ।

अन्तर्राष्ट्रिय सत्र ‘द न्यु एआई ल्यान्डस्केप स् ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’मा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइजयाकका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धर र सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बल सहभागी हुने कार्यक्रम छ ।उक्त सत्रमा विश्वव्यापी एआई विकासका नयाँ प्रवृत्ति, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको स्थान, प्रविधिमा परनिर्भरता घटाउने उपाय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे छलफल हुनेछ ।

समिटमा नेपालको जलविद्युत् क्षमतालाई एआई पूर्वाधार विकाससँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ । ‘पावरिङ नेपाल्स एआई एम्बिसन स् फ्रम हाइड्रोपावर टु हाई–पर्फर्मेन्स कम्प्युटिङ’ शीर्षकको सत्रमा अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइना ग्रिन्सबोरोका प्रा. डा. निर क्षेत्री, पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)की कार्यकारी निर्देशक सन्ध्या सिटौला लगायतका विज्ञले छलफल गर्नेछन् ।

यस सत्रमा उच्च क्षमताका कम्प्युटिङ प्रणाली, डेटा सेन्टर, जलविद्युत् उपयोग, क्लाउड सेवा, डिजिटल पूर्वाधारमा लगानी तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनाबारे विमर्श हुनेछ । त्यसैगरी ‘फ्रम लर्निङ टु अर्निङ स् एआई एजुकेसन, स्किल्स, इनोभेसन एन्ड फाइनान्सियल ट्रान्सफर्मेसन’ शीर्षकको सत्रमा एआई शिक्षा, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र वित्तीय क्षेत्रको रूपान्तरणबारे छलफल हुनेछ ।

यसमा जापानको वासेदा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विकास लम्साल र एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्य लगायतका विज्ञ सहभागी हुनेछन् ।
सम्मेलनअन्तर्गत ‘मेड इन नेपाल ः सोकेसिङ होमग्रोन एआई इनोभेसन्स’ शीर्षकमा नेपालमै विकसित एआई परियोजना तथा नवप्रवर्तनको विशेष प्रस्तुति पनि हुनेछ ।यसमा नेपाली अनुसन्धानकर्ता तथा प्रविधि विकासकर्ताले आफ्ना परियोजना, तिनको व्यावहारिक प्रयोग र विस्तारका सम्भावनाबारे जानकारी गराउनेछन् ।

डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीका अनुसार नेपालमा एआईको सम्भावनाबारे चर्चा बढ्दै गए पनि त्यसलाई आर्थिक तथा सामाजिक उपलब्धिमा रूपान्तरण गर्न आवश्यक पूर्वाधार, जनशक्ति र संस्थागत क्षमतामा पर्याप्त लगानी हुन सकेको छैन ।यस वर्षको सम्मेलनले एआईसम्बन्धी नीतिगत छलफललाई व्यावहारिक कार्यान्वयनसँग जोड्दै नेपालको आफ्नै क्षमता विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना पहिचान गर्ने लक्ष्य राखेको सुवेदीले जानकारी दिए ।

डिजिटल मिडिया फाउन्डेसनले सन् २०२४ देखि सम्मेलनको आयोजना गर्दै आएको छ । पहिलो समिटमा सञ्चारमाध्यम, सार्वजनिक सेवा र सुशासनमा एआईको प्रयोगबारे छलफल भएको थियो भने सन् २०२५ को दोस्रो समिटमा एआई र विकास, वित्तीय सेवा, स्वास्थ्य, मिथ्या सूचना तथा प्रविधि नीतिलगायतका विषय समेटिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते सोमबार