चक्रवात ‘अर्नब’ले नेपालका कुन भूभागमा पार्छ पानी ?



काठमाडौँ ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ अति शक्तिशाली चक्रवातमा विकसित हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै यो चक्रवात बुधबार भारतको आन्द्र प्रदेश र विशाखापट्टनमका भूभागमा पुग्ने सम्भावना रहेको जनाएको छ । नेपालमा यसको प्रभाव भने बिहीबारदेखि पर्ने महाशाखाले जनाएको छ ।

यसको प्रभावले नेपालका पाँच प्रदेशमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा यसको प्रभाव बढी पर्ने देखिएको छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्छ ।

लुम्बिनी प्रदेशका केही ठाउँमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । वर्षाको प्रभावसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पर्यटकलाई नजान र गइसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउन तथा जोखिमयुक्त सडक र पहिरो जान सक्ने क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । यस्तै चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम बढ्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ । वर्षाका कारण नदीमा जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

‘हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू’

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेको भन्दै अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको भन्दै अध्यागमनले पर्यटकलाई उक्त क्षेत्रमा नजान अनुरोध गरेको हो ।

अध्यागमन विभागले मंगलबार सूचना जारी गर्दै उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। पदयात्रामा गइसकेका पर्यटकलाई भने सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । विभागका अनुसार जोखिम न्यूनीकरणका लागि उक्त अवधिमा निषेधित क्षेत्रमा जाने पदयात्राको अनुमति जारी गरिने छैन ।

यो व्यवस्था आजैदेखि लागू हुने सूचनामा उल्लेख छ । विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पालना गर्न र गराउन आग्रह गरेको छ । अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मंगलबार जारी गरेको सूचनामा सम्भावित प्राकृतिक जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार