सम्पादकीयः क्रिकेट विकासमा एनपीएलको औचित्य



नेपाली क्रिकेटको लोकप्रियता शिखर चुम्दै छ, तर लोकप्रियतालाई उपलब्धिमा बदल्ने चुनौती अझै बाँकी छ । मैदानमा दर्शकको घुइँचो, प्रायोजकको आकर्षण र व्यावसायिक कारोबारले मात्र क्रिकेटको भविष्य सुनिश्चित गर्दैन । प्रश्न सीधा छ—नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाली क्रिकेटलाई साँच्चिकै माथि उठाउँदै छ कि हामी एउटा भव्य खेल उत्सवमै रमाइरहेका छौँ ? यदि एनपीएलले नयाँ प्रतिभा उत्पादन गर्न, खेलाडीको व्यावसायिक जीवन सुरक्षित बनाउन र राष्ट्रिय टोलीको क्षमता बढाउन सकेन भने यसको चमक क्षणिक हुनेछ । त्यसैले एनपीएलको सफलता ट्रफी र कारोबारबाट मात्र होइन, नेपाली क्रिकेटमा यसले पार्ने दीर्घकालीन प्रभावबाट मापन गरिनुपर्छ । नेपाली क्रिकेटप्रतिको जनआकर्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले देखाएको प्रदर्शनले यस खेलको सम्भावना उजागर गरेको छ । यही सम्भावनालाई व्यावसायिक दिशामा अघि बढाउने प्रयासका रूपमा एनपीएल स्थापित हुँदै गएको छ । प्रतियोगिताले घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिन्छ । यसले राष्ट्रिय टोलीका लागि प्रतिभावान् खेलाडी पहिचान गर्नसमेत सहयोग पु¥याउन सक्छ । तर विदेशी खेलाडीको आकर्षणमा रमाइरहँदा नेपाली खेलाडीको विकासलाई ओझेलमा पार्नु हुँदैन ।

उनीहरूलाई पर्याप्त खेल समय, जिम्मेवारी र प्रतिभा प्रदर्शन गर्ने अवसर सुनिश्चित गरिनुपर्छ । एनपीएलको अर्को महत्त्वपूर्ण पक्ष आर्थिक गतिविधि हो । प्रतियोगिताले प्रायोजक, विज्ञापनदाता, सञ्चारमाध्यम, होटल, यातायात, खानपान र अन्य सेवासँग सम्बन्धित व्यवसायलाई चलायमान बनाउन सक्छ । समर्थकको आवागमनले स्थानीय व्यापारमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । यसबाट क्रिकेटलाई मनोरञ्जनसँगै आर्थिक सम्भावनाको क्षेत्रका रूपमा विकास गर्ने अवसर प्राप्त भएको छ । यद्यपि प्रतियोगिताको व्यावसायिक विस्तारसँगै यसको आर्थिक व्यवस्थापन पारदर्शी हुनु आवश्यक छ । आम्दानी बढ्नु मात्र सफलता होइन; त्यसको उपयोग कसरी हुन्छ, खेलाडीले कति लाभ पाउँछन् र क्रिकेटको आधारभूत विकासमा कति लगानी हुन्छ भन्ने विषय उत्तिकै महत्त्वपूर्ण छन् । नेपाल क्रिकेट सङ्घले एनपीएललाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने जिम्मेवारी पूरा गर्नुपर्छ । प्रायोजन, आम्दानी, खर्च र राजस्व बाँडफाँट स्पष्ट हुनुपर्छ । खेलाडीको पारिश्रमिक, बीमा, स्वास्थ्य सुरक्षा र व्यावसायिक अधिकार सुनिश्चित गरिनुपर्छ । व्यावसायिक प्रतियोगिताको नाममा आर्थिक अनियमितता, स्वार्थको द्वन्द्व वा व्यवस्थापकीय कमजोरीलाई प्रश्रय दिनु हुँदैन । दर्शकले टिकट किनेर, सञ्चारमाध्यमले प्रसारण गरेर र प्रायोजकले लगानी गरेर प्रतियोगितालाई सफल बनाउन योगदान गर्छन् ।

उनीहरूको विश्वास कायम राख्नु आयोजकको दायित्व हो । त्यस्तै, एनपीएलको प्रभाव काठमाडौँको कीर्तिपुरस्थित मैदानमा सीमित हुनु हुँदैन । देशका विभिन्न भागमा क्रिकेट मैदान निर्माण, विद्यालयस्तरमा प्रतियोगिता सञ्चालन, प्रशिक्षक उत्पादन र प्रतिभा पहिचानमा लगानी आवश्यक छ । ग्रामीण तथा दुर्गम क्षेत्रका खेलाडीले आर्थिक अभाव वा पूर्वाधारको कमीका कारण अवसर गुमाउनु हुँदैन । महिला क्रिकेट र उमेर समूहका प्रतियोगितालाई पनि प्राथमिकता दिनुपर्छ । व्यावसायिक लिगबाट प्राप्त लाभको निश्चित हिस्सा तल्लो तहको क्रिकेट विकासमा लगानी गर्न सके यसले प्रतिभा उत्पादनको दिगो आधार तयार गर्नेछ । एनपीएलको लोकप्रियता नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण पूँजी हो । तर लोकप्रियता आफैँमा अन्तिम उपलब्धि होइन । त्यसलाई खेलाडी उत्पादन, पूर्वाधार विस्तार, राष्ट्रिय टोलीको प्रतिस्पर्धात्मक क्षमता र संस्थागत सुशासनमा रूपान्तरण गर्न सक्नुपर्छ । प्रतियोगिता सकिएपछि समर्थकको उत्साहसँगै विकासको गति पनि सेलाउने अवस्था आउन दिनु हुँदैन । एनपीएललाई वार्षिक खेल महोत्सवमा सीमित नगरी नेपाली क्रिकेटको दीर्घकालीन विकास योजनासँग जोड्नुपर्छ । दर्शकको उत्साहलाई प्रतिभा विकासमा, व्यावसायिक आम्दानीलाई पूर्वाधार निर्माणमा र लोकप्रियतालाई अन्तर्राष्ट्रिय सफलतामा बदल्न सके मात्र एनपीएलको वास्तविक औचित्य पुष्टि हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार